शुक्रबारदेखि भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा

0
972

झापा, शुक्रबारदेखि भद्रपुर गलगलिया सीमा नाका सञ्चालनमा आउने भएको छ । कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका शुक्रवारदेखि पुनः सञ्चालन गर्न लागेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र नगर्दा बन्द रहेका नाका सञ्चालनमा केही ढिलाइ भएको थियो ।

गृह मन्त्रालयबाट नाका खुलाउने सम्बन्धमा परिपत्र आइसकेको हुँदा काँकडभिट्टा र भद्रपुरसहित साबिकका सबै नाका खुलाउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार दिउँसो बसेको डिसीएमसीले भारतसँग जोडिने नाका कसरी सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो । बन्द रहेका साबिक नाकाहरूबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने निर्णय गरिएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए । नाकामा हेल्थ डेस्क, स्वास्थ्यकर्मी परिचालनका लागि सम्बन्धी स्थानीय निकायलाई आग्रह गरिने उनले बताए । यता बन्द रहेका नाका खोलिने भएपछि सीमा क्षेत्रका स्थानीय खुसी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here