आजको चिरफार ‘राजनीति सँगै राजकाज’

१६ आश्विन २०७८, शनिबार मा प्रकाशित

धेरै मुलुकमा जस्तै नेपालमा आज लोकतन्त्र सपनाको लोकतन्त्रमा परिणत हुँदैछ । लोकतन्त्र कल्पनाको लोकतन्त्रमा परिणत हुँदैछ । अनि लोकतन्त्र झुटको राजनीतिक खेतीमा परिणत हुँदैछ । आज नेपालमा पनि आम मानिसमा लोकतन्त्रप्रति नै अविश्वास पैदा हुँदैछ । आम मानिसहरु लोकतन्त्रलाई आश देखाएर नेताहरुले लुट्ने साधनको रुपमा बुझ्न थालेका छन् । अस्थिर राजनीति, बढ्दो भ्रष्टाचार, संस्थागत हुँदै गएको झुटतन्त्रले आम सर्वसाधारणमा भय पैदा गर्न थालेको छ । स–साना तर मानिसको ध्यान टपक्कै टिप्ने नेताहरुका ख्यालै नगरिने दैनिकीहरुको प्रभाव लोकतन्त्रको स्थायित्व माथि पनि पर्न जाँदो रहेछ । यस्ता जटिलताहरुको सूक्ष्म अध्ययन गरिरहेका रवीन्द्र मिश्रको कलम तिखारिएको छ यसै बिषयमा । अनि उनले लेख्न बाध्य भए ‘राजनीति सँगै राजकाज’ ।

खास गरेर साधारण लाग्ने तर त्यसले कुटनीतिक क्षेत्रमा निकै खराब सन्देश दिनेखाले अनेकौ प्रसङ्गहरुको बिस्तारीत बिश्लेषण र ब्याख्या हो उनको उक्त पुस्तक । ‘राजनीतिसँगै राजकाज–कल्याणकारी लोकतन्त्रको प्रस्तावना’ नामक पुस्तक फाइन प्रिन्टद्वारा प्रथम पटक फागुन २०७७ मा प्रकाशित भएको हो । सर्वाधिकारी लेखक रवीन्द्र मिश्र रहेको उक्त पुस्तक लेखहरुको सङ्गालो हो । अन्नपूर्ण मिडिया नेटवर्कका तत्कालीन समूह सम्पादक विजयकुमार पान्डेको अनुरोधमा अन्नपूर्ण पोष्टको लागि पाक्षिक रुपमा लेखिएका लेखहरुको सङ्गालो उक्त ‘पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व विवेकशील साझा पार्टीलाई प्रदान गरिने छ’ भनिएको छ । मेरो देश स्तम्भ लेखनभित्र नपरेको ‘युवाहरुको नाममा’ शीर्षकको लेख पनि पुस्तकमा समाबिष्ट छ ।

२९६ पृष्ठ रहेको उक्त पुस्तकमा १० पृष्ठको पूर्वालेख ‘मेरी आमाको कसम’ पनि छ । रू. ५०० मूल्य रहेको उक्त पुस्तक सबैले र राजनीतिक व्यक्तिहरुले त झन अध्ययन गर्नु अति नै आवश्यक देखिन्छ । बीबीसी नेपाली सेवामा लामो अनुभव सङ्गालेका र पत्रकारको रुपमा पनि एक खरो व्यक्तिको परिचय बनाइसकेका रवीन्द्र मिश्र एक राजनीतिज्ञ, एक कुशल लेखक र समाजसेवी हुन् । आफ्ना पुस्तकहरु ‘भू मध्यरेखा’, ‘खान पुगोस् दिन पुगोस्’ र ‘रवीन्द्र मिश्रका कविता’को लेखकस्व शुरुदेखि नै चितवनका विपन्न चेपाङ् समुदायमा कार्यरत मितेरी फाउन्डेशनलाई प्रदान गरिँदै आएको छ । पूर्व लेखमा आफूले सामना गर्नुपरेको टिप्पणी चाहिँ परोपकारी गतिविधिहरुको सिलसिलामा उनी आफंै संलग्न भएर ‘हेल्प नेपाल नेटवर्क’का लागि सङ्कलित कोषसँग सम्बन्धित छ भनेर उल्लेख गरेका छन् । सङ्कलन गरिएको रकम हिनामिना गरिएको छ भनेर लगाईको गैरजिम्मेवार कुरोप्रति मिश्रले चित्त दुखाएका छन् । उनले यश प्रसङ्गमा अनेकौं प्रति प्रश्न तेस्र्याएका छन् । उक्त लेख पढेपछि आरोप लगाउनेहरु चुप लाग्नुपर्ने हो । किनकि राम्रो र असल काम गर्नेहरुको मुक्त कन्ठले प्रशंसा गर्न पनि जान्नुपर्दछ । नेपालमा हाल धेरैलाई चित्त नबुझ्ने र आम मध्यमवर्गीय शिक्षित जमातले मन नपराउने पक्ष भनेको हरेक कुरामा नकारात्मक आँखाले हेर्नू पनि हो ।

नेपालमा पछिल्लो समयमा विचारहरुको राजनीतिले विभिन्न समयमा समाजलाई तरङ्ग पैदा गर्न थालेको छ । यो सुखद् पक्ष पनि हो । किनभने धेरै दलहरु आन्दोलन, कुनै न कुनै प्रकारको हिंसा, प्रतिहिंसा र रगत बगाएर नै नेपालमा स्थापित भएका छन् । रवीन्द्र विचारले स्थापित हुन खोजी रहेका छन् । नेपालका राजनीतिक दलहरु विगतको राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध लोकतन्त्रको आन्दोलनलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि जन्मिएका थिए । जब लोकतन्त्रको बहाली भयो तब तिनको उद्देश्य समेत पूरा भयो भन्ने पनि धेरै थिए । नभन्दै ती पुरातन दलहरु मुलुकको समृद्धि र बिकासको खाका लिएर जनतासम्म आउनै सकेनन् र यस सन्दर्भमा प्रष्ट समेत हुनै सकेनन् । त्यसको मनोवैज्ञानिक पक्ष, व्यवस्थापकीय असक्षमता, राजकाजमा वैज्ञानिक सोचको अभाव, बिदेश नीतिमा अविचलित अडानको अभाव, मितब्ययिता, पारदर्शीता, जवाफदेहीता, आदिको सूक्ष्म अध्ययन गरेका मिश्रले वैकल्पिक राजनीतिको शुरुआत गर्न पुगे । त्यसको आवश्यकता किन प¥यो त भन्ने प्रश्नको उत्तर उनको पुस्तकले ठम्याउन सकेको देखिन्छ ।

हुन त स्तम्भ लेखन शुरु गर्दा उनको राजनीतिक प्रष्टता आइसकेको थियो या थिएन त्यो बेग्लै कुरा होला । तर, पुराना दलहरुका सरकारहरुमा रहेको झिना मसिना तर दूरगामी प्रभाव छोड्ने कमजोरीले उनको मगजमा मज्जाले डस्न पुगेको पुस्तकबाट झन छर्लङ्ग हुन्छ । मिश्र मुलुकमा केही योगदान दिनकै लागि बेलायतबाट नेपाल फर्केका भन्ने कुरा मात्र होइन ‘नेपाल फर्कौ महाअभियान’ नामक लेखको माध्यमबाट धेरैलाई आह्वान गर्न पनि भ्याएका छन् । विदेशमा परिवारसहित बसोबास गरिरहेका तर समुद्रपारमा बसे पनि नेपालको माया हृदयभरी उकुसमुकुस हुनेगरी पालेका विभिन्न पेशामा जमेकाहरुलाई बिदेशबाट स्वदेशमा फर्कन केले दिँदैन ? कुन समय स्वदेश फर्कने उपयुक्त समय हो ? केटाकेटीहरुको स्थानान्तर र शिक्षा कसरी व्यवस्थापन गर्न सकिन्छ ? भन्ने अनेकौं कुराहरुको समाधानसहितको लेखले धेरै प्रवासी नेपालीहरुलाई सहयता पुग्ने पक्का छ ।

नेपालमा धेरै राजनीतिक दलहरुका नेतृत्व ठिक होलान् तर नेपाल देशको नेतृत्व सही हुन नसकेकै हो । यो अनुभव धेरै नेपालीले गरेकै हुन् । तर प्रष्ट रुपमा सफल नेतृत्वका पञ्च गुणहरु यी–यी हुन सक्छन् भन्ने लेखकले सप्रसङ्ग सुझाएका छन् । इमानदारी (इन्टीग्रेटी), क्षमता (कम्पिटेन्सी), सामान्य सुझबुझ (कमन सेन्स), बिचार (आइडियोलोजी)र दूरदृष्टि( भिजन) हुने हो भने नेतृत्व सफल हुन सक्छ । नेपालको शिक्षालाई बिग्रनबाट जोगाउनु भनेको शिक्षण पेशालाइ सम्मान गर्न नसक्नु नै हो भन्ने लेखकको ठम्याई रहेको छ ।

राम्रो शिक्षा प्रणाली भएका जापान, दक्षिण कोरिया, फिनल्यान्ड जस्ता कैयौं देशमा शिक्षणलाई डाक्टर, इन्जिनियर जस्तै या त्योभन्दा बढी सम्मानित पेशाका रुपमा हेरिन्छ । दक्षिण एसियाका भुटान, श्रीलंका र माल्दिभ्समा स्नातक तहसम्मकै सरकारी शिक्षा निःशुल्क हुनसक्छ भने नेपालमा किन सक्दैन ? लेखकले धेरै उपायहरु बताइ दिएका छन् ।
राजकीय भनिएका धेरै भ्रमणहरु अराजकीय बनेका, कतिपय अवस्थामा भ्रमणहरुमा ससाना कुराहरुको कारण लज्जाले शिर निहुरिनुपर्ने अवस्था आएका प्रशङ्गहरु पुस्तकमा मज्जाले पढ्न पाइन्छ र पढ्दै जाँदा कुतकुती लाग्छ । कैयौं कठिन, नीतिगत र रणनीतिक बिषयमा राजनीतिक अवरोधहरु हुन सक्छन् । तर, आफ्नै वशमा भएको काम सक्दो राम्ररी नगर्ने सचिव र हाकिमहरु यो देशका दुर्दशाका कम जिम्मेवार होइनन् भन्न सक्ने लेखकले याराना पुँजीवादी अर्थात् क्रोनी क्यापिटालिष्टहरुसँग साँठगाँठ गरेर अर्बौंको नीतिगत भ्रष्टाचार गर्ने प्रबृत्ति प्रति आगो ओकलेका छन् । नेपालमा अभ्यास भइसकेको विकृत पुँजीवाद र समाजवादभन्दा कल्याणकारी लोकतन्त्र कसरी फरक हुन्छ भन्ने दृष्टान्त दिने कोशिस गरेका लेखक एउटा फरकधारको राजनीतिको वकालत गर्न आफ्नो पुस्तक मार्फत पनि चुकेका छैनन् । कल्याणकारी लोकतन्त्र पूर्णरूपमा राजनीतिक अवधारणा अर्थात् पोलिटिकल कन्स्ट्रक्ट तथा परोपकाररुपी सोसल कन्स्ट्रक्टको मिलनबाट कल्याणकारी सु–संस्कृत देश बनाउने लेखकको सपना पुस्तकमा प्रष्टरुपमा मुखरित भएको छ ।

बुढानिलकण्ठ शैलीका पाँच सय स्कूलको आवश्यकता देखेका लेखकले यसको बारेमा आफ्ना मन्तव्यहरुमा जस्तै पुस्तकमा समेत लेख्न भ्याएका छन् । निजी र सार्वजनिक विद्यालयहरुको तुलना मज्जाले गरिरहँदा सफल अभ्यास गरिरहेका सामुदायिक बिद्यालय र त्यहाँका योग्य शिक्षकलाई नसम्झनु राम्रो हँुदैन । नेपालमा निजी शिक्षासँग जोडिएर आउने अनेकौं विकृतितर्फ लेखकको ध्यान गएको चाहिँ देखिन्नँ । भाषामा जातीय कुराहरुको अनेकौं शब्दजाल मन नपराउने लेखक लेखकका बीच–बीचमा आफ्ना र कहीँकहीँ बिदेशी स्थापित कविहरुका कविताका हरफहरुले पाठकको मन तान्न समेत सफल देखिएका छन् । यो आलेख तयार गर्दै जाँदा लेखकको यही पुस्तक बिक्रीबाट प्राप्त रू. छ लाखभन्दा बढी लेखकस्व रकम आफ्नो बिवेकशील साझा पार्टीमा गएको समाचार समेत सार्वजनिक भएबाट उनको इमान्दारितामा प्रश्न उठाउनु न्यायसंगत देखिन्नँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here