यु–१३ फुटबल युथ एकेडेमी स्थापना

0
598

काठमाडौँ,

नेपाली सेनाको विभागीय टीम त्रिभुवन आर्मी क्लब मातहत १३ वर्षमुनिका खेलाडी संलग्न रहने (यु–१३) फुटबल युथ एकेडेमी स्थापना भएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा खेलाडीलाई फुटबल हस्तान्तरण गरी सेनाको पहिलो युथ एकेडेमी सञ्चालनमा आएको घोषणा गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा सो एकेडेमी सञ्चालनमा आएको हो ।

त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स लिएपछि तेह्र वर्षमुनि र १८ वर्षमुनिका खेलाडीको टिम क्लब मातहत रहनुपर्ने प्रावधानअनुसार एकेडेमी स्थापना गरिएको हो । एकेडेमी स्थापना हुनुअघि मुलुकभरबाट पहिलो चरणमा १६६, दोस्रो चरणमा ७२ र तेस्रो चरणमा ४२ जना युथ खेलाडी छनोट गरिएको थियो । छनोट भएका ती खेलाडीलाई सुरक्षा निकायका तीन विभागीय टोलीमा १४–१४ जनाका दरले गोलाप्रथाद्वारा विभाजन गरिएको थियो । सेनाले १४ मध्ये अतिविपन्न युथ खेलाडीलाई सैनिक महाविद्यालयमा अध्यानार्थ पूरा छात्रवृत्ति प्रदान गरेको छ ।

त्रिभुवन आर्मी क्लबले खेलाडी उत्पादन गर्ने मुख्य स्रोतको रूपमा रहेको एकेडेमीलाई पूर्णता दिन देशभरका सैनिक विद्यालयबाट उत्कृृष्ट १५० खेलाडी एकीकृत गराई त्यसमध्येबाट ११ जना खेलाडी छनोट गरेको थियो । सेनाले अघिल्लो छनोटमा परेका १४ र पछि छानिएका ११ समेत गरी २५ युथलाई भदौ २७ गतेबाट प्रशिक्षण दिँदै आएको छ ।

एकेडेमी स्थापनाका अवसरमा आयोजित (अण्डर–१३) मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाका उपसेनानी भरत खवासको कप्तानीमा सेतो–हरियो जर्सीमा रहेको टिमले सहसेनानी जर्ज प्रिन्स कार्कीको नेतृत्वमा सेतो–निलो जर्सीमा रहेको फुटबल टिमलाई शून्यका विरुद्ध एक गोलले पराजित ग¥यो ।

कप्तान खवास टिमका १५ नम्बर जर्सीमा रहेका दक्ष लामाले प्रहार गरेको बललाई निकेश श्रेष्ठले रोक्ने क्रममा आत्मघाती गोल भएको थियो । सो अवसरमा खेलाडीलाई एन्फाद्वारा उपलब्ध गराइएको खेल सामग्री हस्तान्तरण गरियो । एकेडेमी घोषणा कार्यक्रममा प्रधानसेनापति शर्माले विलक्षणयुक्त प्रतिभावान खेलाडीद्वारा भएको खेल प्रदर्शनीबाट आफू ज्यादै प्रभावित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदले मनोरञ्जनका साथै अनुशासन, दृढता, जुझारुपन, सामूहिक भावनालगायतका महत्वपूर्ण मानवीय गुण विकास गर्न योगदान पु¥याउँछ । नेपाली फुटबलको भविष्य उज्ज्वल छ ।” एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलकुदको विकास गर्ने क्रममा मुलुकका ६० स्थानमा खेल केन्द्र सञ्चालन गरेकामा सेनाले चार स्थानमा सहयोग पु¥याइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले जुम्लामा पनि सेनासँग सहकार्य गरेर खेल सेन्टर सञ्चालन गर्ने तयारीमा छौँ । नेपाली फुटबल खेलाडी उत्पादनमा सेनाले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ । आगामी शैक्षिक सत्रमा यु–१३ महिला खेलाडी तयार गर्न एन्फाले सहयोग गर्ने छ ।”

नेपाली सेना सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी शशिकिरण रायमाझीले मुलुकको खेलकुद क्षेत्रको विकास र विस्तार गर्ने हेतुले तहगतरुपमा क्षमतावान र उत्कृष्ट खेलाडी तयार गर्ने क्रममा एकेडेमीको स्थापना भएको जानकारी दिनुभयो । प्रधानसेनापति शर्माको कमाण्ड मार्ग निर्देशनमा युथ एकेडेमी शीघ्र सञ्चालनमा घोषणा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here