सुरक्षित सुत्केरी सेवा लिन प्रेरीत गर

२२ आश्विन २०७८, शुक्रबार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    590
    Shares

झापा जिल्लाको बाह्रदशी गाउँपलिकाले गर्भवती महिला लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । आदिवासी तथा सीमान्तकृत जातिको वाहुल्य रहेको त्यसक्षेत्रमा भौतिक पूर्वाधार र सेवा समेतको अभाव छ । त्यहीकारण शिक्षाको पहुँच विस्तार हुन नसक्दा चेतनाको विस्तारसँगै उनीहरूलाई संरक्षण गरेर राष्ट्रको मूल प्रवाहमा समाहित गर्न जरूरी छ । स्थानीय सरकारले त्यही आवश्यकता बोध गरेर विगतदेखि नै गर्भवती महिला र गर्भस्थ शिशुको स्वास्थ्य रक्षाका निम्ति कार्यक्रम नै सञ्चालन गरेको छ । जसअनुसार पालिकाको भूगोलभित्रका गर्भवती महिलालाई स्वास्थ्य रक्षाका साथै सुरक्षित सुत्केरी सेवा लिन प्रेरीत गरिन्छ। आर्थिक अवस्था र चेतनाको कमीका कारण घरमै सुत्केरी धेरै महिलाले ज्यान गुमाउने गरेको यथार्थलाई अनुभूत गरी पालिकाले शुरू गरेको यो सेवामा स्वास्थ्य शाखाको मुख्य भूमिका रहेको छ ।

गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण तथा परामर्श दिनुका साथै वर्थिङ सेन्टरमै सुत्केरी गराउन प्रेरीत गरेर जोखिम कम गर्न यो कार्यक्रम सहायक भएको छ । विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको गर्भवती लक्षित कार्यक्रम त्यहाँका विपन्न, आदिवासी र सीमान्तकृत महिलाका लागि वरदान भएको भन्दै सेवा लिइरहेका महिलाहरूले प्रशंसा गरेका छन् । हाम्रो जस्तो भौतिक विकासमा पछि परेको देशमा आज पनि मातृ एवम् शिशु मृत्युदर बढी छ। अझ स्वास्थ्य संस्थाको पहुँच नभएका र विपन्न वर्गका लागि गर्भावस्थाको सुरक्षा ‘आकाशको फल’ नै हो। यस्तोमा त्यही वर्गलाई लक्षित गरी झापा गाउँपलिकाले सञ्चालन गरेको पोषण तथा सुत्केरी सेवा सेवाग्राहीले भनेजस्तो ‘वरदान’ नै हो । पालिकाले नियमित स्वास्थ्य जाँचसँगै पोषिलो खानेकुरा, गर्भस्थ शिशुको भीडीयो एक्स– रे तथा सुत्केरी पछि ‘न्यानो झोला’ वितरण गरिरहेको छ। झोलामा नवजात शिशुको लागि आवश्यक कपडा र सुत्केरीका लागि समेत कपडा र पौष्टिक आहार प्रदान गरिन्छ ।

पालिकाको तथ्याङ्क अनुसार आव ०७७÷०७८ मा नौ सय ९६ जना महिला गर्भवती छन् । तीमध्ये छ सय ४६ जनाले नियमित स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य शाखाकी सुस्मिता मैनालीले जानकारी दिइन् । त्यसैगरी पालिकाले सञ्चालन गरेको वर्थिङ सेन्टरमा सन्तानब्बे जनाले सुरक्षित सुत्केरी सेवा लिएका छन्। बाह्रदशी–१ ले सञ्चालन गरेको पोषण कार्यक्रमबाट लक्षित वर्गले लाभ लिइरहेको बताउँदै पालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले अब कसैले पनि आर्थिक कारणले सुत्केरी हुन नसकेर जीवन गुमाउनु नपर्ने दावी गरिन् । विपन्न तथा सीमान्तवर्गका महिलामा बढेको स्वास्थ्य सम्बन्धी चेतनाले र स्वास्थ्यसेवी तथा स्वास्थ्य प्रदायक सेवाले प्रसूतिजन्य मृत्युदर कम गर्न महत्वपूर्ण योगदान दिनेछ । यति ख्याल गर्नु पर्छ कि लक्षित समूह सेवाको पहुँचमा छ÷छैन। जनताबाटै उठाएको राजस्व जनता कै लागि खर्च हुनु त ठीक हो तर नगद सहयोग दुरूपयोग नहोस् यसतर्फ पालिकाको संयन्त्र सचेत हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here