बितेका समयका दृष्य देखाउने नौलो यन्त्र

0
582

सानी बालिका ‘रीता’ निकै उत्साहित मुडमा भन्छिन्– ‘संसारमा असम्भव भन्ने केही छैन । केबल मानिसहरुले त्यस्तो प्रविधि आविष्कार गर्न नजानेका मात्र हुन्् । जब घटना घट्छ भने त्यो घटना थाह नपाउने कसरी हुन्छ ? कुनै पनि घटना दृष्य हो भने त्यो दृष्य कुनै न कुनै प्रकारले सेभ या रेकर्ड भइसकेको हुन्छ । त्यही दृष्य पछ्याउने, देख्ने र देखाउने यन्त्र हामीले आविष्कार गर्न नसकेको मात्र हो । यदि यस्तो यन्त्र बन्दो हो त कुनै पनि बितेका समयका कुनै पनि घटनाका दृष्यलाई आवाजसहित छर्लङ्ग देखाइदिन सक्छ ।’

‘आजको आवश्यकता भनेको यही हो, तर यस्तो यन्त्र बनाउने कसले त ? आजसम्म बितेका समयका घटना या दृष्य देखाउने यन्त्र नबनेकै कारण कैयन घटना लुकिरहेका छन् । अपराधका घटनाहरु पत्ता लगाउन गाह्रो परिरहेका छन् ।’ अनुसन्धानका क्षेत्रमा काम गर्ने रीताका बाबु निराशा व्यक्त गर्दछन् । यतिकैमा रीताका आमा भन्छिन्– ‘अनि सीसी टिभि क्यामेरा भन्ने यन्त्रले चाहिँ बितेका समयका घटना या दृष्य देखाउने होइन र ? त्यस बाहेक आजभोलि त हरेक मानिसहरुले मोबाइल सेट बोकेका हुन्छन् । कसैल न कसैले त घटनाका दृष्य खिचेका हुन सक्छन् । त्यसैले आजकाल बितेका समयका दृष्य हेर्न निकै हदसम्म सजिलो भएको छ । जसले गर्दा अपराध अनुसन्धान पनि सहज र सटिक बन्दै गएका होलान् ।’ रीताका बाबु भन्छन्– ‘तर सीसी टिभि क्यामेराले खिचेका दृष्यहरु निश्चित अवधिका मात्र लागि हुन्छन् । यो यन्त्र जडान गरिएभन्दा अलि टाढा दूरीमा घटेका घटना राम्ररी देख्न सकिन्न र यो यन्त्र जताततै जडान गर्न सकिँदैन पनि । यो यन्त्र सीमित क्षमताको हुन्छ ।’

बाल कथा

सम्वाद सुनिरहेकी बालिका रीता भन्छिन्– ‘मैलेअघि नै भनि सकेँ त ।’ रीताका बाबु सोध्छन्– ‘तिमीले के पो भन्यौ ?’ बाबुलाई उत्तर दिने क्रममा रीता भन्छिन्– ‘कुनै पनि घटना दृष्य हो भने त्यो दृष्य कुनै न कुनै प्रकारले सेभ या रेकर्ड भइसकेको हुन्छ ।’ बीचैमा रीताको बाबु सोध्छन्– ‘कहाँ सेभ भएको हुन्छ त त्यस्ता दृष्य छोरी ?’ रीता भन्छिन्– ‘वातावरणमा या स्पेसमा या हाम्रै वरिपरी सेभ भएका हुन्छन् ती दृष्यहरु । दृष्यहरु मात्र होइन आवाजहरु पनि यहीँ कतै रेकर्ड भएका हुन्छन् । हो तिनै दृष्य र आवाज क्याप्चर गरेर जस्ताको तस्तै देखाउन र सुनाउन सक्ने यन्त्रको आविष्कार हुन बाँकी छ ।’

छोरीको विचारलाई सपोर्ट गर्दै रीताकी आमा भन्छिन्– ‘छोरीले भनेको कुरा मलाई ठीकै लाग्यो है । छोरीले भने जस्तै संसारमा असम्भव भन्ने कुरा केही छैन । बन्न सक्छ यस्ता मेशिनहरु भविष्यमा ।’ रीताका बाबु भन्छन्– ‘सम्भव भए त बनाइसक्थे नि वैज्ञानिकहरुले । अब यस्तो यन्त्र बनोस् कि, केही र कसैले पनि नदेखेको सुनसान ठाउँमा घटेको घटना पनि देखाउन सकोस, आवाज सुनाउन सकोस् । त्यसपछि त कुनै पनि घटना लुक्न सक्दैन । जो कोहीलाई छर्लङ्ग देखाइदिनेछ त्यस यन्त्रले । तर, यस्तो यन्त्र कसैले बनाउला भनेर म चाहिँ पत्याउँदिन ।’
बाबुको तर्क सुनिरहेकी रीता बसेको ठाउँबाट जुरुक्क उठेर भन्छिन्– ‘म बनाउँछु त्यस्तो यन्त्र ।’ रीताको कुरा सुनेर उनका अभिभावक गलल हाँस्छन् र भन्छन्– ‘इस् बनाउन सक्छ्यौ । कस्ता कस्ता वैज्ञानिकले त बनाउन सकेका छैनन् ।’ तर, रीता आत्मविश्वासका साथ भन्छिन्– ‘बनाउन सक्छु र बनाएरै छाड्छु त्यो यन्त्र ।’

रीताको कुरा पत्याएनन् आमाबाबुले र आ–आफ्ना काममा लाग्छन् । रीता हेरेको हेरेइ हुन्छिन् । तर उनी मनमा अठोट लिन्छिन् कि, ‘म त्यस्तो यन्त्र अवश्य बनाउँछु । जुन यन्त्र आजको जटिल युगका लागि निकै आवश्यक छ ।’
रीता आफ्नो पढाइलाई जारी राख्दै उनले बनाउने अठोट गरेको यन्त्र बनाउन अध्ययन गर्न थाल्दछिन् । खाली रहेका घरका कोठाहरुलाई प्रयोगशाला बनाउँछिन् । प्रयोगशालामा इन्टिगे्रटेड सर्किट, इलेक्ट्रोनिक्स सामान र क्यामेराहरु भेला पार्छिन् र यन्त्र बनाउन थाल्छिन् । यन्त्र सञ्चालन गर्न कम्प्युटरमा प्रोग्राम डेभलप गर्छिन् । प्रयोगशाला देखेर उनका आमाबाबु छक्क पर्दछन् । मानौ आफ्नी छोरीले रकेट बनाउँदै छिन् ।

एकदिन रीता खुशीले चिच्याउँदै आमाबाबु भएठाउँमा पुग्छिन् र भन्छिन्– ‘मैले बनाइसकेँ यन्त्र । त्यसले अब सबै घटना हुबहु आवाजसहित देखाइदिन्छ ।’ रीताका आमाबाबु पनि खुशी हुँदै यन्त्र हेर्न प्रयोगशाला छिर्छन् । रीताकी आमा आफ्ना श्रीमान्लाई भन्छिन्– ‘देख्नुभयो त हाम्री छोरीले तपाईले खोजेको यन्त्र बनाइन् ।’ रीताका बाबु जिज्ञासा राख्छन्, ‘लौ छोरी कुनै घटना देखाइदेउ त । अनि चाहिँ पत्याउँला ।’

रीता भिडियो क्यामेरा उनका बाबुतिर सोझ्याउँछिन् । भिडियो क्यामेरा प्रोग्राम डेभलप गरेको कम्प्युटरमा जोड्छिन् र कम्प्युटर उनले आविष्कार गरेको यन्त्रमा जोड्छिन् । अनि कुन मितिदेखिको घटना हेर्न खोजेको हो त्यो मिति तोक्छिन् र ती तीन वटै प्रविधिहरु सञ्चालन गर्छिन् । यन्त्रले आश्चर्य जनकरुपमा काम गर्न थाल्छ । शुरुमा उनीहरुबीच भएको यन्त्र सम्बन्धी कुराकानी सहित यन्त्र बनिसक्दासम्मका दृष्यहरु सो नवनिर्मित यन्त्रले आवाजसहित देखाइदिन्छ । रीताका बाबु खुशीले बुरुक्क गर्दै भन्छन्– ‘अब चाहिँ भने अनुसन्धान कार्यमा क्रान्ति आउने भो । विगतमा घटेका कुनै पनि समयका घटनाका दृष्य आवाजसहित देखाइदिन सक्ने रहेछ यस यन्त्रले । यस यन्त्रले राजदरवार घटना पनि देखाउन सक्छ होइन त छोरी ?’

रीता भन्छिन्– ‘अबश्य, यसले दश वर्षे द्वन्द्व या जनयुद्ध पनि देखाइदिन सक्छ, कोतपर्व लगायतका इतिहासका सबै घटना देखाइदिन सक्छ । अंशु बर्मा, भृकुटी कस्ता थिए त्यो पनि देखाइदिन सक्छ । अमेरीकाको टुइन टावर ढाल्ने योजना कसरी बनाइयो त्यो पनि देखाइदिन सक्छ । डाइनोसोरस कस्ता थिए देखाइदिनसक्छ । मानवहरु कसरी उत्पति भए जस्ता सबै घटना देखाइदिन सक्छ । यस यन्त्रलाई अन गरेर छाडिदिए पृथ्वी, सौर्य मण्डल र ब्रह्माण्ड कसरी निर्माण भयो ? सबै दृष्य आवाजसहित देखाइदिन सक्छ । यो यन्त्र कुनै पनि गतिमा काम गर्न सक्छ । यो यन्त्र अनलिमिटेड र उच्च क्षमतायुक्त प्रविधिको छ । यस यन्त्रले घटनासँग सम्बन्धित कुनै भौतिक वस्तु या घटना भएको ठाउँ एकपटक देखेपछि वातावरणमा सेभ भएका पुराना दृष्य र आवाज पछ्याउँछ अनि स्क्रिनमा जस्ताको तस्तै सरर देखाउँदै जान्छ ।’

रीताको आविष्कारबारे सनसनीपूर्ण तरिकाले खबर यत्रतत्र पुग्दछ । देश–विदेशका विज्ञ र वैज्ञानिकहरु रीताको यन्त्र हेर्न आउँछन् । रीता काठमाडौंको बसन्तपुर दरवार परिसरमा डेमो आयोजना गर्दछिन् । रीता क्यामेराको लेन्स कोत पर्व घटना घटेको ठाउँलाई केन्द्रित गरेर क्यामेरा अन गर्दछिन् । त्यसपछि कम्प्युटर अन गर्दछिन् अनि उनले निर्माण गरेको यन्त्रको सुइच अन गर्दछिन् र मिति मिलाउँछिन् । कम्प्युटरको मनिटरमा कोतपर्वको घटनाका दृष्यहरु आवाजसहित क्रमशः देखिन्छन् । बश के चाहियो र उपस्थित सबै खुशीले चिच्याउँछन् र भन्छन्– ‘यी नेपाली सानी नानीले युगान्तकारी आविष्कार गरिन् ।’ –कतिपय भन्छन्– ‘अब पुनः सत्ययुग आउने भयो ।’

यसैबीच रीता भन्छिन्– ‘कुनै पनि आविष्कारको सकारात्मक पक्ष त हुन्छन् नै । तर नकारात्मक पक्ष पनि हुन्छन् । यस यन्त्र मानव जाति लगायत सबैको हितको लागि मात्र उपयोग गरियोस्, मेरो भन्नु यत्ति हो ।’ भन्दै यन्त्र बन्द गर्दछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here