विवादमुक्त केही छैन !

२४ आश्विन २०७८, आईतवार मा प्रकाशित

भन्ने गरिन्छ ‘विवादमुक्त’ केही छैन र कोही पनि हुँदैन । विघटन भएको प्रतिनिधिसभा स्थापित भई बनेको शेरवहादुर देउवा नेतृत्वको सरकारले शुक्रबारदेखि पूर्णता पाएको छ । गठन भएको झण्डै तीन महिनापछि पूर्णता पाएको सरकार तत्काल विवादको घेरामा परेको छ । कांग्रेस नेतृत्वको सरकारमा सहभागी मन्त्रीका नाममा कांग्रेस पार्टीभित्रै बिरोधका स्वर सुनिनु असान्दर्भिक लाग्नु पर्छ । तर, जसरी विरोध र विवादका स्वर मुखरित भएका छन् त्यसले शुभ सङ्केत भने दिएको छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गरेका संसदमा प्रतिनिधित्व गर्ने दलहरू र सत्तारूढ दल एमालेकै असन्तुष्ट समूह सम्मिलित गठबन्धनको अठासी दिनको गृहकार्यपछि सरकारले पूर्णता पायो । तर, त्यो पनि सम्पूर्णरूपले निर्विवाद हुन सकेन ।

राजनीतिक विश्लेषकहरूले समेत गठबन्धनको सहमतिलाई भ्यागुताको धार्नी पु¥याउनु सरहको भनेर टिप्पणी गरेका थिए । शुक्रबारनै नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएर कार्यभार ग्रहण गरिसकेका छन् । सरकारको पूर्णताले एउटा संशयको अन्त्य त ग¥यो तर, आ–आफ्नो दलभित्र शुरू भएको विरोध र विवादको निरुपण कसरी हुन्छ सरकारको भविष्य त्यसैले निर्धारण गर्नेछ । मन्त्रिमण्डलमा समावेशमध्ये एक जना गैरसांसद हुन् जो कांग्रेसकै कोटाबाट नियुक्त भएको बताइएको छ । सरकारका प्रवक्ताले पनि नवनियुक्त मन्त्री गजेन्द्र हमालको प्रतिरक्षा गर्दै प्रधानन्यायाधीशसँग जोडेर गरिएको टिप्पणीको खण्डन गरेका छन् । तर, उनकै दलका नेताहरूसमेत प्रवक्ताको भनाइप्रति सहमत छैनन् ।

देशमा समस्याको चाङ छ । कोरोना कहर न्यून त भएको छ तर नियन्त्रण भएको छैन । नेपालीको ठूलो चाड वडादशैंले मानिसको आवागमन बढेको छ । हाटबजारमा भीडजन्य गतिविधि अनियन्त्रित बन्दै गएको छ । अस्पतालहरूमा कोरोनाको लक्षण भएका बिरामीको चाप कायम छ । हाम्रा आनीबानीमा परिवर्तन भएको छैन । खोपको सुनिश्चितता अहिले पनि चुनौतिकै रुपमा छ । दशैंले उपभोग्य वस्तुको मूल्य बढाएको छ । व्यापारीले यसैलाई लाभ लिने समय बनाएको उपभोक्तावादी संगठनको भनाइ छ । कृत्रिम मूल्य वृद्धि, म्याद गुज्रिएका र गुणस्तरहीन वस्तु किनबेच भइरहेको अनुगमनका क्रममा पाइएका पनि छन् । कतिपय आयोजनाहरू निर्माण सम्पन्नता कुरेर बसेका छन् । यस्तोमा गठबन्धनको सन्तुलन कायम राखेर अघि बढ्नुपर्छ पर्ने चुनौतिलाई प्रधानमन्त्री देउवाले कसरी सामना गर्छन् त्यसैले सरकारको मूल्याङ्कन गर्नेछ । हो विकल्परहीत र निर्विवाद केही छैन, त्यसकै बीचबाट विद्यमान सहमतिपूर्ण समाधान खोज्नु नेतृत्वको क्षमता हुनुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here