साफ च्याम्पियनसिपः आज नेपाल र भारत भीड्दै

२४ आश्विन २०७८, आईतवार मा प्रकाशित

झापा ।

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल आइतबार भारतसँग भीड्दैछ ।

नेपाल भारतबीचको खेल मालदिभ्सको मालेस्थित नेशनल रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ बजे शुरु हुनेछ । भारतले सर्वाधिक ७ पटक साफको उपाधि जितिसकेको छ ।

तर, पाँच राष्ट्र सहभागी यस संस्करणको साफमा भने भारत शुरुवाती दुवै खेलमा बराबरीमा रोकिएको छ । नेपाल भने दुवै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ । भारतविरुद्ध जीत निकाल्न सकेमा नेपाल एक खेलअघि नै फाइनल पुग्नेछ ।

शनिबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियो टिम भएको र खेल कठिन हुने बताए । ‘भारत बलियो टिम हो तर यसको अर्थ हामी फाइट गर्दैनौं भन्ने होइन, भारतलाई हामी सम्मान गर्छाै । हामी भारतविरुद्ध फाइट पनि गर्छाैँ’– उनले भने ।

यस्तै अलमुताइरीले नेपाल अहिले नै फाइनल नपुगेको भन्दै समर्थकलाई संयमित रहन पनि आग्रह गरेका छन् । नेपालका कप्तान किरणकुमार चेम्जोङले भारतविरुद्धको खेल महत्वपूर्ण रहेको भन्दै हरेक पाइला सोच विचार गरेर चाल्नुपर्ने बताए ।

यस्तै भारतका प्रशिक्षक इगोर स्टिमेकले भारतको लक्ष्य साफ जित्नु नै रहेकोले मानसिकतामा परिवर्तन नभएको बताएका छन् । साथै उनले नेपालले राम्रो खेलिरहेको भन्दै ६ अंकका लागि लायक रहेको समेत बताए । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । भारतले भने पहिलो खेलमा बंगलादेशसँग १–१ र दोस्रो खेलमा श्रीलंकासँग गोलरहीत बराबरी खेलेको थियो ।

नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । भारत २ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । आइतबारै घरेलु टोली माल्दिभ्सले श्रीलंकासँग खेल्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here