दशैं, जोखिम र सचेतना

२५ आश्विन २०७८, सोमबार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    788
    Shares

नेपालीको महान पर्व दशैँ घरभित्रै पसेको आज पाँचौं दिन भइसक्यो । गत वर्ष कोरोनाकै कारण हर्षोल्लासपूर्वक मनाउन नपाएको दशैँलाई भव्यरूपमा मनाउने इच्छा हुनु स्वभाविक हो । फेरि गत वर्षको तुलनामा धेरैले खोप लगाएका कारण कोरोनासँगको डर कम भएको पनि हुनसक्छ । हुन सक्छ संक्रमणको सिक्री विच्छेद भएको हो अथवा चेतनाको विस्तारले जोखिम कम भएको हो ! यद्यपि जनस्वास्थ्य विज्ञहरू र सम्बद्ध निकायले लापरबाही नगर्न सचेत गराइ रहेका छन् । अनावश्यक हिँडडुल नगर्न र गर्नै परे स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । सरकारले कोरोनाविरूद्धको खोप निरन्तर लगाइरहेका कारण पनि जोखिम कम भएको हुनसक्छ जसले मानिसको चहलपहल बढेको छ ।

वर्ष दिनमा आउने चाड दशैँको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व नबुझे पनि यसलाई मीठो खाने र राम्रो लगाउने अवसर भनेर सबैले बुझेका छन् । घरबाट टाढा गएकाहरूले दशैँलाई पारिवारिक भेटको पर्वका रूपमा लिएका छन् । यसैले यो बेला आवागमन भीडभाडपूर्ण हुन्छ, त्यसैले अहिले हाटबजार, सार्वजनिक सवारीहरूको अवस्थाले लाग्छ– कोरोना छँदैछैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनहुँ सार्वजनिक गरेको सूचनामा कोरोनाको त्रास कायम छ । मृत्यु रोकिएको छैन र नयाँ प्रजातिको भाइरसको संक्रमणको जोखिम पनि त्यत्तिकै छ । त्यसैले यो दशैँ जीवन हरणको माध्यम नबनियोस् हामी प्रत्येकको सजगता, सतर्कता र सावधानी आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले पनि संक्रमण दर उच्च नै छ । भीडभाड बढेका कारण जोखिम गाउँसम्म पुग्ने सम्भावना त्यत्तिकै छ । जनस्वास्थ्यका जानकारहरूले दशैँलाई दसा नबनाउन आग्रह गरेका छन् । दशैँ परिवारमै मनाउन, गाउँ नघुम्न, भीडमा नजान, स्वास्थ्य मापदण्डको पालना गर्न र सरसफाईमा ध्यान दिन उनीहरूको सुझाव छ । यसका वावजुद बाहिर निस्कँदा मास्क लगाउनेको संख्या कम हुन थालेको छ । बिना काम ‘लखर–लखर’ हिँड्नेहरूले हाटबजार, सडक ढाकेका छन् । अझ खोप लगाएपछि त सुरक्षित ठानेर लापरबाही झनै बढेको छ । कोरोना भएर जाती भएकाहरूमा फेरि संक्रमण देखिएको मात्रै छैन त्यसले जीवन हरण नै गरेको उदाहरण पनि छन् । मांसजन्य वस्तुको अधिक सेवनले बिरामी झनै गम्भीर बन्नेतर्फ चिकित्सकले सङ्केत गरेका छन् । यतातर्फ पनि सजग नबन्ने हो भने दशैँ दसा बन्न सक्छ । त्यसैले अमूल्य जीवनको सुरक्षाप्रति सचेत बन्दै दशैँ लगायतका पर्व मनाउनु अहिलेको पहिलो आवश्यकता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here