सबैको कल्याण होस्

२६ आश्विन २०७८, मंगलवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    427
    Shares

नेपालीको साझा अनि महत्वपूर्ण पर्व बडादशैंको सातौं दिन आज । यस दिनलाई फूलपाती पनि भन्ने गरिन्छ । घटस्थापनाबाट शुरू भएको वडादशैंको सप्तर तिथिका दिन कृष्णवर्ण भएकी तीन नेत्र र चार भुजा भएकी भयरहीत मुद्राकी देवी दुर्गाको विशेष पूजा गरिन्छ । जताततै असत्य, अन्याय, व्यभिचार, दुराचार र आतङ्कको साम्राज्य स्थापित भइरहँदा त्यस्तो प्रवृत्तिको विनाश गरी न्याय, सत्य र इमान स्थापना गर्न देवताहरूको अनुरोधमा मातृशक्ति दुर्गाले दुष्टात्माहरूको वध गरेको विशेष दिनको सम्झना र सम्मान गर्ने आजको दिन आश्विन शुक्ल पक्षको सप्तमी तिथिमा विशेष कार्यक्रम गर्ने गरिएको छ । कालरात्रि स्वरूपा देवी दुर्गाले आफ्नो शरीरबाट झरेको प्रत्येक थोपा रगतबाट नयाँ जीवन प्राप्त गर्ने रक्तविज नाम गरेको दानवको वध गरी देवताहरूसँगै सत्य र न्यायको रक्षा गरेकी थिइन् ।

पौराणिक आख्यान अनुसार दशैं सत्य र न्यायको जीत भएको अवसरको पुनःस्मरण हो । त्यसैले वैदिक सनातन धर्मप्रति आस्था र श्रद्धा गर्नेहरूले घटस्थापनापछिका दिनहरू विशेष ढङ्गले मनाउने गर्छन् । त्यसमध्ये फूलपातीका दिनकेरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, केराको बोट, धानको बाला, उखु, जयन्ती आदि अन्न र वनस्पतिसहितको फूलपाती भित्र्याएर दुर्गा भगवतीको विशेष पूजा गरिन्छ । यो दिन गोर्खाबाट उठाएको राजधानी काठमाडौसहित अन्य शक्तिपीठहरूमा पु¥याउने चलन थियो । हनुमान ढोकास्थित तलेजु भवानीको मन्दिरमा रहेको दशैंघरमा फूलपाती भित्र्याउने विशेष अनुष्ठान नै हुन्थ्यो । शाहवंशीय राजाको गोर्खा दरबारमा रहेको गोरखकाली मन्दिरमा षष्ठीकै दिन भारदार र कर्मचारीहरूले नजिकको जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गरी राख्ने र भोलिपल्ट अर्थात सप्तमीका दिन हर्षबढाइँका साथ दरबार भित्र्याइन्थ्यो ।

वडादशैंको यस्ता पौराणिक र सांस्कृतिक महत्वका बीच सामाजिक प्रचलन पनि उत्तिकै महत्व छ। आजकै दिनदेखि गाउँघरमा लिङ्गे पिङ खेल्न शुरू हुन्छ । टाढा गएका परिबारका सदस्य, वर्षौंदेखि नभेटिएला साथीभाइ र आफन्तसँग भेट हुने यो समयले विगतका सबै पीडाबाट मुक्ति दिन्छ । वर्षा सकिएपछिको शारदीय आकाशले दिने आनन्द र लगातारको श्रमबाट मिलेको मुक्तिसँगै परदेशीएका अति प्रियजनसँग समेत भेट गराउने दशैंको सामाजिकता अनुपम नै छ । दशैंले धर्मको परिधि पनि नाघेको छ र सबैको साझा बनिएको छ । सबै धर्म, संस्कृति र संस्कारका अनुचरहरूको लागि पनि दशैँ हर्षको चाड हो । यसले कसैलाई व्यापार दिएको छ, कसैलाई पेशा त कसैलाई अतिरिक्त प्रमोद दिएको छ । गलेको शरीरमा ऊर्जा,उमङ्ग र हर्षको सञ्चार गर्ने यो दशैंले सबैका मनोकांक्षा पूरा गरोस् । देवी दुर्गाको दृष्टि परोस्, चिताएका इच्छा पूर्ण होउन् । ऋण गरेर पर्व मनाउनु पर्ने बाध्यता हटेर जाओस्, देखावटी र तडकभडकरहीत, आत्मीय र हार्दिकतापूर्वक दशैं मनाउन देवीको प्रेरणा प्राप्त होस् । कोरोनाको भयग्रस्त परिवेशमा जनस्वास्थ्यका मापदण्डप्रति सजगता नमरोस् फूलपातीको विशेष शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here