नेपाली राजनीतिमा बढ्दो चिनियाँ चासो , भारतसंगको सम्वन्ध बिगार्ने प्रयास

२६ आश्विन २०७८, मंगलवार मा प्रकाशित

मोहन सिंह
नेपालीमा एउटा उखान छ — म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो । अहिलेको नेपाली राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, कूटनीति जता फर्के पनि यही उखान चरितार्थ भएको देखिन्छ ।
कारण हो , नेपालमा पछिल्लो समय चिनियाँ गतिविधिहरु बढिरहेका छन् । राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि सतहमा देखिने गरी चिनियाँ गतिविधि बढेको प्रष्ट रुपमै देख्न पाइन्छ ।
पछिल्लो समय नेपालमा चिनियाँ गतिविधि बढ्दो छ । नेपालको राजनीतिमा त्यति चासो नदिने चीन पछिल्लो समय आफूलाई ‘फ्रन्ट’ मा राखेर अघि बढिरहेको छ । तत्कालिन नेकपा नेतृत्वको सरकार आएसँगै चीन–नेपालबीच सुमधुर सम्बन्ध हुने अपेक्षा समेत गरिएको थियो ।

सन् १९५५ पछि नेपाल÷चीन मैत्री सम्बन्ध कायम भएको र त्यस समयदेखि आर्थिक गतिविधिमा जोड दिइएको भए पनि पछिल्लो समय चीनले रणनीतिक र सुरक्षाका दृष्टिकोणलाई बढी केन्द्रमा राखेको पाइएको छ ।
सन् २००६ र २००८ पछि नेपालमा चिनियाँ प्रभाव बढेको छ । त्यसैगरी नेपालमा आफ्नो जरा मजबुत बनाउन चीनले नेपालमाथि लगानी पनि बढाइरहेको छ । बीआरआईले नेपाल÷चीनको आर्थिक सम्बन्धलाई बलियो बनाउने र नेपालको विकासमा टेवा पुर्याउने बहानामा चीनले नेपाललाई आफ्नो तर्फ आकर्षण गराउन पहल जारी राखेको विज्ञहरुको विश्वास छ ।

यसअघि नेपालमा विभिन्न अपराधिक गतिविधहरु पनि बढिरहेका छन् । अपराधिक गतिविधिमा सयौं चिनियाँहरु एकैसाथ पक्राउ परेका थिए । त्यसैगरी नेपाली मिडिया र राजनीतिमाथि नेपालका लागि चिनियाँ राजदूतले संलग्नता पनि बढाएको देखिन्छ ।

चीन विगतमा नेपालमा सत्ता अथवा राजनीतिक व्यवस्था परिवर्तन हुँदा कुनै चासो राख्दैनथ्योे । उसलाई नेपाल सरकारले एक चीन नीतिप्रति प्रतिवद्धता जनाइदिने र नेपाली भूमि स्वतन्त्र तिब्बत गतिविधिका लागि प्रयोग नहोस् भन्ने चासो मात्र देखिन्थ्यो, तर अब चीन त्यतिमै सीमित रहने देखिँदैन । अब ऊ नेपालको आन्तरिक राजनीतिक मामिलामा खेल्न खोज्दै छ र त्यसका लागि सत्ता र सत्तारूढ दल आफैं चीनलाई आमन्त्रण दिइरहेको छ । २०७७ सालको वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपतिसँग फोन संवाद गरेलगत्तै नेपालका लागि चिनिँया राजदूत यान्छीको काठमाडौंमा सक्रियता बढ्नु संयोग मात्र पक्कै पनि थिएन ।

०६२÷६३ को राजनीतिक परिवर्तनपछि शान्ति प्रक्रिया र संविधान निर्माणको चरणमा नेपाललाई सघाउने नाममा यहाँ पश्चिमा राष्ट्रहरूको उपस्थिति र चासो बढेदेखि नै नेपाललाई लिएर चीनको चासो बढ्न थालेको हो। पछिल्ला केही दशकमा चीनले गरेको चरम आर्थिक प्रगतिसँगै नयाँ शक्ति राष्ट्रको रूपमा विश्व मानचित्रमा यसको उदय हुन थालेको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा स्वाभाविक रूपमा चीनको चासो र उपस्थिति बढेको छ । त्यससँगै नेपालमा पनि उसले आफ्नो भूमिकालाई वढाउँदै लगेको देखिन्छ ।
नेपाली राजनीतिको आन्तरिक मामिलामा चासो राख्न भर्खर सुरू गरेको चीनले अब हामी पनि फ्रन्टलाइनमा आयौं भनेर दुनियाँलाई देखाउन पनि राजदूत यान्छीले नेकपा नेताहरूको घरघरमा पुगेर भेटेकी हुन भन्ने बुझिन्छ । अन्यथा यिनले बालुवाटारस्थित चिनियाँ राजदूतावासमा बोलाएर कुरा गर्न सक्थिन् । शक्ति र सत्ताका लागि जेसुकै गर्न तयार रहने नेपाली नेताहरू कुदेर दूतावास पुगिहाल्थे ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले तत्कालिन सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको अन्तर सङ्घर्षको विषयलाई लिएर वरिष्ठ नेताहरूलाई भेट गरेको प्रसङ्ग नेपाली राजनीतिमा चरम विवाद र आलोचनाको विषय बनेको थियो ।
पछिल्ला वर्षहरूमा नेपालमा चीनको लगानी पनि ह्वात्तै बढेको खबर कहिकतैबाट लुकेको भने छैन । चीनबाट नेपालमा पर्यटक बढ्ने क्रमसँगै पर्यटन व्यवसाय (ट्राभल, होटल, रेस्टुराँ) , विभिन्न उद्योग, निर्माण व्यवसाय आदिमा चिनियाँ कम्पनी र नागरिकको लगानी बढ्दै जाने क्रमसँगै चीनको रणनीतिक परियोजना बीआरआईमा नेपालको हतारको संलग्नता आदि सबैलाई हाम्रो आन्तरिक राजनीतिमा चिनियाँ प्रभाव बढाउने रणनीतिक हिस्साकै रूपमा रहेको विज्ञहरुले बताइरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here