अर्जुनधारा, झापाको अर्जुनधारा–१मा रहेको अर्जुनधारा युथ नेटवर्कले स्थानीयस्तरमा रहेका १६ विपन्न परिवारलाई बुधबार खाद्यान्न सामग्री वितरण गरेको छ ।
नेटवर्कका अध्यक्ष लक्ष्मी गौलीको अध्यक्षता र अर्जुनधारा नगर कार्यपालिकाका सदस्य बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा आयोजित खाद्यान्न वितरण एवम् शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुलाई उक्त खाद्यान्न सामग्री वितरण गरिएको हो ।
प्रत्येक परिवारलाई ३० केजी चामल, दुई केजी दाल, दुई केजी चिउरा, एक केजी चिनी र एक लिटर तेलका दरले जम्मा ३७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको नेटवर्ककी सचिव पूजा सुवेदीले जानकारी दिइन् ।
सबैले राष्ट्रिय चाड बडादशैं मनाइरहँदा कोही विपन्न परिवार भोको बस्नु नपरोस् भन्ने उद्धेश्यले उक्त खाद्यान्न सामग्रीहरु वितरण गरिएको नेटवर्कका अध्यक्ष गौलीले बताए ।
नेटवर्कको उक्त कार्य उदाहरणीय भएको जिकिर गर्दै प्रमुख अतिथि गोम्देनले आगामी दिनमा नेटवर्कलाई आवश्यक सहयोगको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगर सभा सदस्य तुलसा पोखरेल, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, सिंहदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, सयपत्री युवा क्लबका अध्यक्ष श्रीप्रसाद नेपाल, पूर्व जनप्रतिनिधि रामबहादुर निरौला, युवा व्यवसायी पवन खनाल, स्थानीय समाजसेवी अम्बरबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेटवर्कमा आबद्ध कलाकारहरुले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेको कार्यक्रममा स्वागत सदस्य निर्मला आचार्यले र कार्यक्रमको सञ्चालन अर्का सदस्य अस्मिता पोखरेलले गरेकी थिइन् ।






























