काठमाडौं – देशभर समान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।
महाशाखाका अनुसार केही स्थानहरूमा मेघगर्जन–चट्याङ–हावाहुरीसहित वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली हुने महाशाखाले बताएको छ।
महाशाखाले जनाएअनुसार प्रदेश १, २ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जजनसहित हल्का वर्षाको सम्भावना छ।
आइतबार देशभर अधिकांशदेखि सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भारीदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।































