हात्ती र मानब दुवैका लागि पासो बन्यो विद्युतीय तारवार : करेन्ट लागेर कल्पनाले अकालमा ज्यान गुमाईन्

0
719

लक्ष्मी उप्रेती
झापा, जंगली हात्ती नियन्त्रणका लागि झापा जिल्लाका विभिन्न स्थानमा निर्माण गरेको अत्याधुनिक विद्युतीय तारवार सोलार फेन्सिङ पछिल्लो समय मानव र जंगली हात्ती दुवैका लागि काल बन्ने गरेको छ ।

हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर जिल्लाका विभिन्न स्थानमा मानिस र हात्ती समेत मर्न थालेका कारण काल बन्ने गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार विहानमात्र झापाको भद्रपुरमा एक ५४ वर्षीया महिलाको हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार भद्रपुर— १० केन्द्रमोड बस्ने कल्पना राई पौरियाको ज्यान गएको हो । आफ्नै घरबाहिर हात्ती धपाउन राखेको तारमा अचानक छुन पुग्दा करेन्ट लागेर राईको मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । यो घटना पछिल्ला प्रतिनिधि घटना मात्रै हो ।

सरकारी अधिकारीहरुको भनाइ अनुसार जंगली हात्तीबाट हुने धनजनको क्षति नियन्त्रण र रोकथामका लागि भनेर जिल्लाका विभिन्न स्थानमा निर्माण गरेको अत्याधुनिक विद्युतीय तारवार सोलार फेन्सिङमा परेर झापामा यस अघि धेरैले ज्यान गुमाइसकेका छन् । त्यसैमा परेर हात्ती समेत मरेका छन् । बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राईको वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भएको थियो । २०७६ कात्तिक १६ मा दुवैको ज्यान गएको थियो ।

त्यसको दुईसाता नवित्दैं गाई वस्तु धपाउन खोज्दैं गर्दा झापा मेचीनगर–९ निवासी ५७ वर्षीया बुद्धिमाया तामाङको पनि हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । उनको घटनास्थलमै मृत्यु भएको थियो । २०७६ मंसिर १ गते तामाङको ज्यान गएको थियो ।

मेचीनगर–९ माथिल्लो मागुरमाडीका दुईदाजु भाईको करीव एघारमहिनाको फरक विद्युतीय तारवार सोलार फेन्सिङमा परी करेन्ट लागेर मृत्यु भएको आफ्न्त बालकृष्ण थपलियाले जानकारी दिनुभयो । ६० वर्षीय दाजु गंगा थपलिया र भाई बद्री थपलियाको मृत्यु भएको उहाँको भनाई छ ।

अर्जुनधारा–४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर–१० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाई सकेका छन् । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका निर्माण गरिएको अत्याधुनिक तारवार सोलार फेन्सिङमा परेर मानिसमात्र होईन हात्ती समेत मरेको डिभिजन वन कार्यालय झापाको भनाई छ ।

सरकारले व्यवस्थितरुपमा विछ्छयाएको अत्याधुनिक विद्युतीय तारवार सोलार फेन्सिङकै कारण खासै मानिसको मृत्यु नहुने डिभिजन बन कार्यालय झापाका डिभिजन बन अधिकृत युवराज मास्केको भनाई छ । ‘यसमा खासै हाई भोल्टेज हुदैंन’मास्केले भन्नुभयो—‘स्थानीयवासीले आफ्नो सुरक्षाका लागि भन्दैं जताभावीरुपमा तार विछ्छयाउँदा यस्तो दुर्घटना निम्तीने गरेको छ । यस्तो गैरकानुनी काम गर्न पाईदैंन् । यस्तो दुर्घटनामा परेर ज्यान गए उनीहरुले राहत समेत पाउदैनन् ।’ हात्ती नियन्त्रणका नाममा रातभरि हाई भोल्टेजमा करेन्ट जथाभावी छाड्ने अनि विहान बन्द गर्न विर्सने गरेका कारण धेरै दुर्घटना हुने उहाँको भनाई छ । यस्तो अधिकार कसैलाई पनि नहुने मास्के बताउनुहुन्छ ।

डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरणको अनुमति नलिई हात्ती प्रभावित क्षेत्रका वासिन्दाले विद्युतीय तारको जथाभावी प्रयोग गरेका छन् । हात्ती नियन्त्रणका लागि भन्दै यसो गरेका कारण मानव र हात्तीको ज्यान जाने गरेको बन अधिकारीहरुको भनाई छ ।

यस्तो करेन्ट मा परेर रणकाली सामुदायिक वन हल्दिबारी–३ मा तीन वटा हात्ती मरेका थिए । विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार–८ मा एउटा पोथी हात्ती मरेको थियो । जंगली हात्तीले बालीनाली खाइदिन थालेको भन्दै स्थानीयले बालीनाली जोगाउन वरिपरि मसिनो फलामे तारको घेरा हालेर करेन्ट प्रवाह गरी छाड्ने गरेका छन् । जंगली हात्तीले खेतबारीमा लगाएको बालीनाली खाएर नष्ट गरिदिन थालेपछि तारको घेरा हालेर करेन्ट प्रवाह गर्ने गरिएको बताईएको छ । जंगली हात्तीको आक्रमणमा परी सर्वसाधारणले ज्यान गुमाउन थालेपछि र बालीनालीमा क्षति पुगेका कारण त्यसको नियन्त्रणका लागि निर्माण गरिएको विद्युतीय तारबारमा परी मानिस र हात्ती मर्न थालेपछि थप चिन्ता बढेको सरकारी अधिकारीहरुको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here