मेचीपारि गाउँमा चितुवा आतंक, बाछो र बाख्रा मारेपछि स्थानीय त्रसित

0
747

झापा,

भारतीय नाकासँग जोडिएको मेचीपारि गाउँमा चितुवाले घरपालुवा जनावर खान थालेपछि स्थानीय त्रसित बनेका छन्। भद्रपुर नगरपालिका– ३ स्थित मेचीपारि गाउँमा दुई वटा चितुवाले केही दिनदेखि आतंक मच्चाउन थालेपछि गाउँले त्रसित बनेको वडा सदस्य अरुण राजवंशीले जानकारी दिए।

आफ्नै आँखाले चितुवा देखेको बताउँदै उनले भने, ‘चितुवा गाउँमा देखिएपछि सुरेश सरियाको चिया बगानको बाटो भएर हिँडडुल गर्न गाउँवासीलाई प्रतिबन्ध लगाएका छौं।’ ‘गाउँमा चितुवा भारतबाट आयो कि नेपालकै जंगलबाट आयो त्यस्तो केही खुलेको छैन, ’उनले भने, ‘एउटा सानो र एउटा ठूलो चितुवा गाउँलेले देखेको बताउँछन्।’

गाउँमा हालसम्म चितुवाले एउटा बाछो र बाख्रा मारेको छ। मानवीय क्षति भने पुर्‍याएको छैन। असोज २६ गते स्थानीय गोग्ला राजवंशीको बाछो लगेको र २८ गते चिया बगानमा बाछोको आन्द्राभुँडी फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर दलकुमार राईले जानकारी दिए।

‘चितुवालाई स्थानीयले प्रत्यक्ष रुपमा देखेका छन्, चितुवा हिँडडुल गरेको स्थानमा पन्जाको छाप पनि भेटिएको छ,’ उनले भने। बाख्राचाहिँ प्रकाश महतोको हराएको छ। चितुवा गाउँमा देखा परेको दुई दिनअघि नै महतोको बाख्रा हराएको स्थानीयले बताएका छन्।

चितुवाले नै बाख्रा लगेको हुनुपर्ने स्थानीयको दाबी छ। गाउँमा चितुवा देखा परेपछि डिभिजन वन कार्यालय झापाको टोली त्यहाँ पुगेर स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणपश्चात् वन कर्मचारीको टोलीले सुरेश सरियाको चिया बगानमा चितुवा समात्ने फलामे पासो थापेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here