छोरी कृतिमाको जन्मोत्सवमा महेन्द्र–ज्योति गिरीद्धारा पत्रकार उपचार कोषलाई एक लाख ११ हजार

0
786


बिर्तामोड।
सामाजिक अभियन्ता महेन्द्रकुमार–ज्योति गिरीले छोरी कृतिमाको जन्मोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्धारा स्थापित पत्रकार सहारा उपचार कोषलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
गिरी परिवारले मंगलबार पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरी, झापा शाखाका अध्यक्ष एकराज गिरी र पूर्व अध्यक्ष कृष्ण हुमागाईलाई बिर्तामोड ४ स्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उक्त रकमको चेक प्रदान गरेका हुन् ।
हाल काडमाडौंको ग्लोबल कलेज कक्षा ११ मा अध्ययनरत् कृतिमाको जन्मोत्सव कात्तिक ५ गते हो । आफ्नो जन्मोत्सवको अवसर पारी झापाली पत्रकारहरुको हितमा माता–पिताले सहयोग गर्नुभएकोमा खुशी व्यक्त गर्दै उनले आफ्नो रुचि पनि समाजसेवा रहेको बताइन् ।
सामाजिक अभियन्ता तथा सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आफ्नो कमाईको केही अंश सामाजिक र परोपकारी काममा खर्च गर्ने सोच अनुसार पत्रकारको दीगो हितका लागि स्थापित उपचार कोषमा सहयोग प्रदान गरिएको बताए । लक्ष्य अनुसार कोषलाई छिट्टै एक करोड रुपैया बनाउन जोड दिदै उनले आफ्नो तर्फबाट अझ सहयोग गर्ने बताए ।

पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारको दीगो हितका लागि झापामा उदाहरणीय कार्य भएको भन्दै सहयोगका लागि गिरी परिवारलाई धन्यवाद दिए ।

झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुमागाईले गिरी परिवारले गरेको सहयोग झापाली सञ्चार क्षेत्रका लागि महत्वपूर्ण भएको बताउदै एक पटकका लागि कोषमा सहयोग गरिदिन सबैमा आग्रह पनि गरे । कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका कोषाध्यक्ष रञ्जित प्रसाई, सदस्य बिनोद पाण्डे, पत्रकारहरु रमेश तिवारी, सन्तोष न्यौपाने, विजय बराल लगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका अध्यक्ष गिरीका अनुसार कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले बताएका छन् ।

महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

एकका लागि एक अभियानका संयोजक, राष्ट्रिय सहकारी वैंकका सञ्चालक सदस्य लगायत विभिन्न क्षेत्रमा आवद्ध गिरीले यसअघि कनकाई घाटमा निर्माण हुने ऐतिहासिक स्तम्भका लागि पिता बमबहादुरको स्मृतिमा एक लाख पाँच हजार रुपैयाँ प्रदान गरेको कनकाई घाट संस्थाका अध्यक्ष प्रभाखर कडरियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here