कञ्चनजङ्घा क्षेत्रमा निरन्तरको वर्षाले पर्यटक अलपत्र

२ कार्तिक २०७८, मंगलवार मा प्रकाशित

फुङ्लिङ,

ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटकहरु वर्षाका कारण अलपत्र परेका छन् । तीन दिनदेखि निरन्तर परेको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका बाह्य तथा आन्तरिक पर्यटकहरु बाटोमै अलपत्र परेका हुन् ।

आइतबार सुरु भएको वर्षा सोमबार दिउँसो केही समय रोकिएपनि त्यसयता वर्षा अविरल भइरहेको छ । अहिलेको अविरल तथा निरन्तरको वर्षाले कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आएका पर्यटक कोही आधारक्षेत्र पुगेर रोकिएका छन् भने कोही बीच बाटो घुन्सा क्षेत्रमै रोकिएका छन् । यस्तै ताप्लेजुङ हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकसमेत ओलाङ्चुङगोलामा रोकिएका छन् ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा वर्षाका कारण विदेशीसहित २८ जना पर्यटक रोकिएका छन् । कञ्चनजङ्घा हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटकहरु वर्षाले गर्दा घुन्सामै रोकिएका शेर्पाले बताउनुभयो । उहाँका अनुसार उक्त टोली सोमबार घुन्सा पुगेका हुन् ।

विदेशी पर्यटकमा अमेरिका, फ्रान्सलगायतका ११ जना रहेका छन् भने आन्तरिकमा झापा, काठमाडौँलगायत विभिन्न जिल्लाका पर्यटकहरु रहेका छन् । त्यस्तै कञ्चनजङ्घा आधार शिविर गएका विदेशीसहित १६ जना पर्यटक उतै रोकिएको पनि शेर्पाले जानकारी दिनुभयो । उक्त पर्यटकको टोली साता दिनअघि नै आधार शिविर क्षेत्रको भ्रमणमा गएका बताइएको छ । यसैगरी फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा गएको दुईजना अमेरिकी आरोहीसहितको टोली पनि वर्षाले सो क्षेत्रमै रोकिएका छन् ।

यता ताप्लेजुङ र सङ्खुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने ११ जना पर्यटक वर्षाका कारण ओलाङ्चुङगोलामा रोकिएका छन् । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार विदेशीसहितको उक्त टोली निरन्तरको वर्षाका कारण सोमबारदेखि रोकिएका हुन् ।

हाल तीन दिनदेखिको निरन्तरको वर्षाका कारण कञ्चनजङ्घाको खम्बाचेन, लोनाक आधार शिविर क्षेत्रसम्म हिमपात भएको पनि घुन्साका स्थानीय होटल व्यवसायी उटुक शेर्पाले बताउनुभयो । अहिले वर्षासँगै हिमाली क्षेत्रमा हिमपातको क्रम पनि जारी रहेको र तीन हजार ४५० मिटरको उचाइ रहेको घुन्सा बस्तीसम्म नै हिउँ पर्ने सम्भावना बढेको पनि शेर्पाले बताउनुभयो ।

त्यस्तै तीन हजार २०० मिटर उचाइ रहेको ओलाङ्चुङगोला बस्तीमा पनि बुधबारसम्म नै वर्षा नरोकिए हिमपात हुनसक्ने स्थानीय तन्तिङ वालुङले बताउनुभयो । फले, घुन्सा गाउँ कञ्चनजङ्घा हिमालको पदमार्ग क्षेत्रमा पर्दछ भने फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलको पूर्वी सुरुआत विन्दु पर्दछ । पछिल्लो समय विभिन्न पर्यटकीय क्षेत्रको भ्रमणमा निस्कने पर्यटकको रोजाइमा ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) पर्न थालेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here