झापामा बाढीले सात घर बगायो, १०० जनाभन्दा बढी विस्थापित

0
582

पार्थ मण्डल/झापा,

तीन दिनदेखि परेको अविरल वर्षाका आएको बाढीले झापामा सात घर बगाएको छ। बाढीले ६८ घरपरिवारका १०० जनाभन्दा बढी विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मेची नदीमा आएको बाढी बस्तीमा पस्दा भद्रपुर नगरपालिका-५ शान्ति टोलका तीन घरपरिवार विस्थापित भएका छन्। मंगलवार राति साढे ११ बजे मेची नदीमा आएको बाढीले प्रतिमा मण्डलको ६ जनाको परिवार, सतवीर सहनीको ५ जनाको परिवार र मालती देवी सहनी गरी १२ जना विस्थापित भएका हुन्। उनीहरुलाई राति नै सुरक्षित स्थानमा सारिएको डिएसपी थापाले जानकारी दिए।

त्यस्तै‚ कनकाई नदीको बाढीले घर डुबान गर्दा झापा गाउँपालिका-२ सुगाबधानका ६ घरपरिवार विस्थापित भएका छन्। बाढीका कारण झापा-२ साला सोरेनको चार जनाको परिवार, खुमन सोरेनको दुई जनाको परिवार, मंगल टुडुको चार जनाको परिवार, जेठा टुडुको सात जनाको परिवार, सन्तोष राजवंशीको तीन जनाको परिवार र कवि राजवंशीको चार जनाको परिवार विस्थापित भएको डिएसपी थापाले बताए। उनीहरूलाई मंगलबार राति नै छिमेकीको घरमा सारिएको उनको भनाइ छ।

त्यस्तै‚ रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका-७ स्थित पशुहाट पूर्वपट्टीको खोला किनारका सात घर बगाएको छ। बाढीले घरपालुवा जनावरहरू पनि बगाएको प्रहरीले जनाएको छ।

दमक-७ का पूर्णबहादुर श्रेष्ठ, डम्बर श्रेष्ठ, पविमाया तामाङ, खड्ग लिम्बू, जमुना लिम्बू, मित्रबहादुर तामाङ, सुवास लिम्बूको घर खोलाले बगाएको डिएसपी थापाले जानकारी दिए। उनीहरू सबै जनाको घर बाँसको बेरा टिनको छानो भएको एक तले घर थियो। बाढीले सुवासको पाँचवटा सुँगुरको पाठा, ६ वटा हाँस र कुखुरा पनि बगाएको छ। त्यस क्षेत्रमा अन्य २० घर उच्च जोखिममा रहेकोले सुरक्षाकर्मी परिचालन गरिएको छ।

त्यसै गरी शिवसताक्षी नगरपालिका–५ को कोभेलामुनी र शिबगञ्जमा १२ घर डुबान परेको छ। दुर्गा ताजपुरिया, दिवस भण्डारी, बंका टुडु, राजकुमार ताजपुरिया, विपिन राई, बोजनाथ बिमली, कृष्ण मैनाली, भूमि मैनाली, बहिन्द्र ताजपुरिया, विष्णु प्रसाईँ, उमेश ताजपुरिया र सूर्य राजवंशीका घरपरिवारलाई अन्यत्र सारिएको प्रहरीले जनाएको छ।

कनकाई नदीले कटान गरी पानी गाउँ पस्दा गौरीगञ्ज गाउँपालिका-२ को भाकुरमारीका ४० घर डुबानमा परेको छ। भकामारीका गौरीसँग ताजपुरिया, भैरवप्रसाद ताजपुरिया, सस्त ताजपुरिया, अमरलाल ताजपुरिया, खगेन्द्र ताजपुरिया, सूर्यनारायण राजवंशी, महेन्द्र राजवंशी, आलसिंङ राजवंशी, श्याम राजवंशी, हंस नारायण राजवंशी, झड्कन ताजपुरिया, लेलु ताजपुरिया, काम्रो ताजपुरियाको घर डुबानमा परेको हो।

त्यस्तै‚ सेल्डु ताजपुरिया, अर्जुन ताजपुरिया, सबलाल ताजपुरिया, आमासु ताजपुरिया, दिनानाथ ताजपुरिया, राजलाल ताजपुरिया, देबनारायाण ताजपुरिया, श्यामनारायण ताजपुरिया, नदमि ताजपुरिया, जय वीर ताजपुरिया, नरेन्द्र ताजपुरिया, जगत् ताजपुरिया, सस्लाल ताजपुरिया र दुर्गा प्रसाद ताजपुरियाको घर डुबानमा परेका हुन्। उनीहरूलाई तत्काल त्यहाँबाट अन्यत्र सारी सुरक्षित स्थानमा पुर्‍याइएको डिएसपी थापाले बताए।

वर्षाका कारण झापामा बिजुली, खानेपानी र इन्टरनेट सेवा समेत अवरुद्ध बनेको छ। पानी अझै पनि परिरहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने व्यक्तिलाई सचेत रहन प्रहरीले आग्रह गरिरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here