बाढी–पहिरोले प्रदेश १ मा २४ को मृत्यु, ८ जना वेपत्ता

0
268

नरेन्द्र ढकाल, बिर्तामोड ।

अविरल वर्षाका कारण प्रदेश नं. १ का १४ जिल्लामा २४ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् ।

बाढी–पहिरो र खोलाले बगाउन उनीहरुको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलाममा पहिरोले घर पुर्दा नौ जनाको मृत्यु भएको छ ।

त्यस्तै पाँचथरमा पहिरोले छ जनाको मृत्यु भएको छ भने धनकुटामा पहिरोले घर बगाउँदा छ जनाको मृत्यु भएको छ । सुनसरीमा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने उदयपुरमा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पहिरोका कारण इलाम, पाँचथर र धनकुटामा आठ जना बेपत्ता भएका छन् भने १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ जना पुरुष, नौ जना महिला, सात जना बालक र दुई जना बालिका रहेको प्रदेश प्रहरीले जनाएको छ । वर्षा हुनेक्रम नरोकिएकाले अन्य जनधनको क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रदेश १ भर विद्युत सेवा अवरुद्ध हुँदा कतिपय क्षेत्रको ताजा जानकारी प्राप्त हुन कठिनाइ भएको प्रहरीले जनाएको छ । यसैबीच वर्षा नरोकिएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही समयका लागि सुरक्षित स्थानमा सर्न प्रहरीले सर्वसाधारणमा अपिल समेत गरेको छ ।

बाढी–पहिरो र ढुवान प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here