बर्खालाई हिउँद मन परेपछि

६ कार्तिक २०७८, शनिबार मा प्रकाशित

भुवन तामाङ
मानिसहरुलाई धेरै कुरा मन पर्छ । गाउँकालाई शहर मन पर्छ । शहरकालाई गाउँ मन पर्छ । तराईकालाई पहाड र हिमाल मन पर्छ र पहाड या हिमालकालाई तराई मन पर्छ । स्वदेशकालाई विदेश मन पर्छ । विदेशिएकालाई स्वदेश मन पर्छ । मानिसका स्वाभाव अनुसार धेरै–धेरै कुरा मन पर्छन् ।
जमिनमा बाँच्नेलाई समुद्र मन पर्छ । समुद्रमा जिउनेलाई जमिन मन पर्छ । जनावरहरुलाई चराचुरुङ्गी हुन मन पर्छ । चराचुरुङ्गीहरुलाई जनावर हुन मन पर्छ । वनस्पतीलाई प्राणी हुन मन पर्छ । प्राणीलाई वनस्पती हुन मन पर्छ ।
बर्खालाई हिउ“द मन पर्छ 
मन पराई धेरै कुराको हुने रहेछ । मौसमको पनि आ–आफ्नै मन पराई हुने रहेछ । त्यसमा पनि बर्खाको मन पराई गजबकै हुने रहेछ । भन्नुको मतलब बर्खालाई हिउँद मन पर्न थालेछ । बर्खा सकिएर नै त हिउँद आएको हो, तर बर्खालाई हिउँद मन पर्न थालेछ । त्यसैले त दशैंपछि लगत्तै बर्खा लागे जसरी भिषण र अबिरल पानी परिरह्यो । तर, बर्खालाई यो कुरा थाहा रहेनछ कि, उसलाई हिउँद मन परेपछि किसानहरुलाई विपद् आइपर्छ भनेर । किसानहरुका खेतका पहेँलपुर धान पानीले भिजेर, डुबेर र बगेर नष्ट भए । किसानहरुका सपना चकनाचुर भए । वर्ष दिन खाने, वर्ष दिनभरिको गर्जो टार्ने मुख्यबाली नष्ट भए ।
सबैजसो अगुवा धान नष्ट भए । पछुवा धान पनि पानी झरीले ढालेर सोतर भए । किसानहरुको यसपालीको धानबाली पुरै नष्ट भए । किसानहरु नष्ट भएका धान टुलुटुलु हेर्दै, बिलौना गर्दैछन् । कतै धान काम लागिपो हाल्छ कि भनेर भिजेका धान सहेल्दै पनि छन् । रिनपान गरेर दुःखले रोपेर लहलह भएको धान अचानकको बर्षाले नष्ट हुँदा किसानहरु मन थाम्न सकिरहेका छैनन् । यसको उत्तर अब बर्खाले कसरी दिँदो हो कुन्नी ?
धान नष्ट हुनुसँगै सयौँ संख्यामा मानवीय क्षति पनि भएको छ । बास बस्ने घरहरु समेत अबिरल बर्षाका कारण पहिरोमा परेका छन् । हिउँदमा बर्खाको कस्तो कमाल हो यो ? किसानहरु अचम्भित त भएका छन् नै त्यो भन्दा बढी मर्माहत भएका छन् । किसान हुनुको उपहार हो यो या सजाय ? ए मौसम ! ए बर्खा ! लौ भन् त ।
सरकारहरुको गजबको मौनता 
पाकिसकेको किसानहरुको धानबाली सबैजसो नष्ट हुँदा पनि नेपाल सरकार मौन छ । प्रदेश र स्थानीय सरकारहरु पनि मौन । गजबकै मौन । सायद किसानहरुले कुनै कमिशन या आर्थिक लाभ दिँदैनन् भन्ने लागेर होला किसानका लागि राहत कार्यक्रम घोषणा गर्न मन लाग्दैन सरकारहरुलाई । फगत क्षतिको अवलोकनार्थ हेलिकोष्टरको झ्यालबाट घोप्टिएर हेर्नु बाहेक सरकारले के जानेको छ र ?
सांसदहरु दशैं भत्तामात्र होइन तलब लिन पनि योग्य रहेन छन् 
जब सांसदहरुलाई यसपाली दशैं खर्च नदिने भनेर अर्थ मन्त्रालयको निर्णयय सार्वजनिक भयो, त्यतिबेला आम जनताको मनमा सांसदहरुलाई अन्याय भयो भन्ने लागेको थियो । तर, आज किसानहरुका मेहनत, पसिना, समय, खर्च र सपना पानीले बर्बाद पारी दिँदा समेत सांसदहरु किसानका लागि बोलिरहेका छैनन् । किसानहरुका लागि राहत कार्यक्रम ल्याउनुपर्छ भनेर बोलिरहेका छैनन्, पहल गरिरहेका छैनन् । सांसदहरुका यस्ता रहस्यमय मौनताका कारण सांसदहरुलाई दशैं खर्च नदिइएको ठिकै रहेछ भन्न करै लाग्यो । सांसदहरु दशैं भत्ताका लागि योग्य रहेनछन् भन्न करै लाग्यो । रोकिएका आफ्ना दशैं भत्ताबाट किसानहरुलाई राहत व्यवस्था गरियोस् भनेर संसदबाट सरकारहरुलाई आदेश दिन किन नसकेका होलान् सांसदहरुले ? सांसद भनेका जनताका प्रतिनिधि हुन् । जनताका आशाका केन्द्र हुन् । तर, सांसदहरु स्वार्थी, ढोङ्गी र मतलबी बनेपछि किसानहरुको बर्बादी निश्चित छ । किसानहरुको धान जेसुकै हुन् भन्ने लाग्दो होला सांसदहरुलाई । सकिन्छ भने सांसदहरुलाई तलब र बैठक भत्ता पनि नदिए भयो । यसमा जनतालाई कुनै दुःख मनाउ हुने छैन ।
जल तथा मौसम विज्ञान विभागको प्रभावकारिता 
विभागले मौसम सम्बन्धी सूचना प्रवाह त गर्छ । तर, अहिले किसानको धानबाली झरीले नष्ट भएको दृष्टान्तले विभागको कामको प्रभावकारिता माथि प्रश्च चिन्ह खडा भएको छ । सूचनाहरु यसरी प्रवाह होस् कि कृषि प्रधान देश नेपालको मुख्य धानबाली कहिल्यै र कुनै पनि हालतमा नष्ट नहोस् । मौसमको सूचना किसानहरुको घर–घरमै खेतखेतमै पु¥याइयोस ।
धान जोगाउन नार्कको सुझाव 
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का विज्ञहरुले पानीले भिजेको धानलाई खेतको भित्तामा, आलीमा अड्याएर पानी तर्याउन र बारीमा ठूलो खाल्डो या कुलो खनेर पानी तर्काएर धान जोगाउन सुझाव दिएका छन् । काटिसकेका धानका पाँजालाई तुरुन्तै कुन्यू नलगाउन र घाम लागेपछि पाँजा सुकेपछिमात्र कुन्यू लगाउन सल्लाह दिएका छन् । पाकेका तर नकाटेका धान काट्न हतार नर्गन र मौसम ठिक हुञ्जेल पर्खन पनि भनेका छन् । अर्ती बुद्धी दिन त सजिलै छ । पानीले भिजेर नष्ट भएका धानबाली कसरी जोगाउने भनेर किसानकै खेतमा गएर धान जोगाएर देखाउन चाहिँ नार्कलाई के ले रोकेको छ ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here