नाकामा थप कडाइ:रोहिंग्या शरणार्थी र बंगालादेशी नागरिकमाथि निगरानी

७ कार्तिक २०७८, आईतवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    6.1K
    Shares

पार्थ मण्डल,झापा।

पूर्वी नेपालको काँकरभिट्टा–पानीट्यांकी सीमा नाकामा भारतीय नागरिकमाथि थप कडाइ गरिएको छ । काम विशेषले नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि नेपाली सुरक्षाकर्मीले सीमा नाकामै थप कडाइ गरेका हुन् ।

काँकरभिट्टा सीमा नाकाबाट रोहिंग्या शरणार्थी र बंगालादेशी नागरिक नेपाल प्रवेश गर्न थालेपछि सीमा तैनाथ सुरक्षाकर्मीले भारतीय नागरिकमाथि थप निगरानी बढाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टा डीएसपी सुनिल दाहालले जानकारी दिए ।
यहाँका सुरक्षाकर्मीले सीमा नाकामा केही समयअघि भारतीय नागरिकलाई पीसीआर रिपोर्ट वा खोप कार्डसँगै भारतीय आधार कार्ड, पेन कार्ड वा भोर्टस कार्डमध्ये कुनै एउटा परिचयपत्र देखाएर नेपाल प्रवेश गर्ने सजिलै अनुमति दिँदै आएका थिए । तर, पछिल्लो समयमा भारतीय आधार कार्ड र पेन कार्ड देखाएर रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिक प्रवेश गर्न थालेपछि भारतीय नागरिकमाथि कडाइ गरिएको डीएसपी दाहालले बताए ।

‘पहिला आधार कार्ड, पेन कार्ड देखाएर पनि भारतीयलाई प्रवेश गर्न दिइरहेका थियौँ’– उनले भने– ‘अब भारतीय नागरिकले नाकामा तैनाथ सुरक्षाकर्मीलाई अनिवार्य भोर्टस कार्ड देखाउनु पर्ने हुन्छ, आधार कार्ड नक्कली बनाएर ल्याउँदा भारतीय हुन वा अन्य मुलुकका व्यक्ति पहिचान गर्न समस्या भइरहेको थियो, त्यसैले भोर्टस कार्ड अनिवार्य गरेका हौँ ।’
गत भदौ ३० गते अवैधरुपमा नेपाल प्रवेश गरेका १४ रोहिंग्या शरणार्थीलाई प्रहरीले राजधानीको बौद्धबाट पक्राउ गरेको थियो । म्यानमारबाट विस्थापित भएका रोहिंग्या शरणार्थीहरू बङ्गलादेशबाट स्थल मार्ग हुँदै काँकरभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको खुलासा भएको थियो ।

उनीहरू नेपालमा बस्ने योजनाका साथ मानव तस्करको सेटिङमा काँकरभिट्टा नाकाबाट प्रवेश गरेका थिए । काँकरभिट्टा नाकाबाट रोहिंग्या शरणार्थी प्रवेश गरेको जानकारी पाएपछि भारतीय नागरिकमाथि निगरानी बढाएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेले बताए । ‘आँखा उपचार, कामकाज वा अन्य कुनै काम विशेषले नेपाल आउने भारतीय नागरिकले पीसीआर रिपोर्ट वा खोप कार्डसँग भोर्टस कार्ड अनिवार्य देखाउनु पर्ने हुन्छ’– एसपी पाण्डेले भने ।

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि सरकारले लामो समय सीमा नाकाबाट आवतजावत रोक लगाएको थियो । सरकारको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय झापाले गत असोज १५गते जिल्लाका सबै नाका खुलाउने निर्णय गरेको थियो ।

तर, भारतीय पक्षले नमानेपछि जिल्लासँग जोडिएका काँकरभिट्टा र भद्रपुर लगायतका सीमा नाकाहरू अझै पनि पुरानो स्थितिमा फर्किन सकेको छैन । काँकरभिट्टा नाकाबाट आवतजावत सहज भए पनि जिल्लाका भद्रपुर लगायतका अन्य सीमा नाकाहरू ठप्प बनेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here