खोपको समान वितरण गर

७ कार्तिक २०७८, आईतवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    510
    Shares

वैश्विक महामारी कोभिड–१९ को संक्रमण अरु एक वर्ष रहने विश्व स्वास्थ्य संगठन (डब्लु एचओ)ले जनाएको छ । डब्लु एचओका अनुसार विपन्न मुलुकहरुले आफूलाई चाहिने कोभिड खोपहरु नपाइरहेकाले कोभिड–१९ महामारी सन् २०२२ को अन्त्य सम्मै रहने उल्लेख गरेबाट अझ सजगता, सतर्कता र खोपको उपलब्तातर्फ ध्यान दिइनुपर्ने देखिन्छ । धनी र गरीब देशहरुबीच खोपको असमान वितरण नै महामारीको अवस्था लम्बिनुको मुख्य कारणको रुपमा रहेको छ । धनी देशहरु आफू र आफ्नो स्वार्थमा मात्र केन्द्रित हुँदा गरीब देशका नागरिक महामारीको बढी चपेटामा परेका छन् ।

विश्व शक्तिको रुपमा उदाइरहेको चीन र त्यस्तै महत्वपूर्ण प्रभाव राख्ने भारतको बीचमा रहेको हाम्रो मुलुकमा कुल जनसंख्याको २१.४ प्रतिशतले मात्र कोभिड खोपको पूर्ण मात्रा लगाएका छन् । त्यसमध्ये ६१ प्रतिशत हिस्सा चीनमा उत्पादित भेरोसिल खोपको रहेको छ । महामारीको समयमा खोप खरिदमा सहजता र उत्तिकै मात्रामा अनुदान दिने चीनको भूमिका प्रशंसनीय छ । कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराएको भारतले समयमा दोस्रो मात्रा उपलब्ध नगराउँदा पहिलो मात्रा लगाएकाहरु सकसमा परे, सरकारलाई धेरै दबाव सिर्जना भयो र विकल्प रोज्नु प¥यो । भारतमा कोभिड–१९ को दोस्रो लहरको अकल्पनीय प्रभाव लगायतका कारण उसले खोप उपलब्ध गराउन नसकेको बताउँदै आएको छ । अफ्रिकामा पाँच प्रतिशतभन्दा कम जनसंख्याले मात्र खोप पाएका छन् । सबैभन्दा कम अफगानिस्तानमा १.१३ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप पाएको तथ्यांकले खोपको असमान वितरण स्पष्ट हुन्छ । गरीब देशका पनि मानिस हुन् भन्ने मानवता धनी र शक्ति राष्ट्रले महामारीका बेला भुलेको देखिन्छ । यद्यपि धेरै गरीब मुलुकले केही न केही अनुदान पाएका छन् ।

महामारीले शिक्षा पनि दिएको छ– कि यो एक्लो प्रयासले नियन्त्रण सम्भव छैन । नियन्त्रणका लागि देशभित्र वा बाहिर सबैबीच सद्भाव, सहकार्य, सहयोग आदान–प्रदान अपरिहार्य देखिएको छ । कोभिड–१९ को विभिन्न भेरियन्टको संक्रमण विश्वभर कायमै छ । नयाँ–नयाँ भेरियन्टको जोखिम उत्तिकै छ । नयाँ भेरियन्ट अघिल्लोभन्दा झन् कठिन, संक्रामक हुने अनुमान छ । नयाँ भेरियन्टको जोखिम कम गर्न सामना गर्न होशियारी अपनाउनु अपरिहार्य छ । हाम्रो आफ्नै असावधानीले संक्रमण बढ्ने हुँदा हरेकले सावधानी अपनाउँदै अरुलाई पनि सजग गराउनुपर्छ । पछिल्लो अध्ययन र तथ्यांकले देखाउँछ कि– लक्षित समूहमा खोप लगाउने क्रम बढेपछि संक्रमण नघटे पनि मृत्युदर घटेको पाइन्छ । विगतमा संक्रमण हुनासाथ श्वासप्रश्वासको समस्या, फोक्सोको संक्रमण देखिँदै आएको र तत्काल अस्पताल पु¥याउनुपर्ने बेलामा अस्पतालमा बेड नपाइने अवस्था थियो । अहिले ‘होम आइसोलेसन’ बाटै धेरै संक्रमण मुक्त भइरहेका छन् । यसको मुख्य कारण कोभिड–१९ को खोप नै हो । तसर्थ, गरीब मुलुकलाई प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु अहिलेको आवश्यकता बनेको छ । खोपको वितरण पहुँच हुने, धनी र शक्ति राष्ट्रको अनुपातमै गरीब राष्ट्रमा पनि हुनुपर्छ । यसो भयो भने मात्र विश्वबाट कोभिड–१९ को अन्त्य गर्न सकिन्छ । अन्यथा यही नियति कहिलेसम्म भोग्नुपर्ने हो– थाह छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here