सिंगापुरको विकासबाट के सिक्न सकिन्छ ?

७ कार्तिक २०७८, आईतवार मा प्रकाशित
  •  
  •  
  •  
  •  
  •  
  •  
    840
    Shares

हाम्रा धर्मग्रन्थहरुले स्वर्गको परिकल्पना गरेका छन् । तर, वास्तवमा नेपाल आफैं भू–स्वर्ग छ । तर, जनताहरु असीम दुःख, अवर्णनीय अभाव, सुरसाको मुख झैं विशाल महँगीको मार, पुराणमा वर्णित निर्दयी दैत्य झैं वेरोजगारीको बज्रप्रहार खपेर बाँच्न बाध्य छन् । प्राकृतिक स्रोतसाधनमा धनी नेपाल संसारका एक दर्जन विपन्न मुलुकको सूचीमा पर्दछ । कति पीडादायी विषय छ यो । १०४ वर्षे जहानियाँ राणाशासनको अन्त्य भएको सात दशक भइसकेको छ, तर हामी आर्थिक अभाव, सामाजिक असन्तुलन र निराशा बोकेको मन लिएर बाँचिरहेका छौं ।

दक्षिण–पूर्व एसियाली मुलुक सिङ्गापुर आज संसारका विकसित देशहरुको सूचीमा पर्छ । लगभग ७२९ वर्ग किलोमिटर क्षेत्रफल र ५५ लाख जनसंख्या भएको सिङ्गापुर प्रतिव्यक्ति आयका आधारमा आठौं धनी देशमा पर्दछ । धेरै राजनीतिक नेता तथा संसारका धेरै देशहरु सिङ्गापुरको विकासको मोडललाई अनुकरण गर्न चाहन्छन् । यो मोडल न पुँजीवादी मुलुकको जस्तो हुबहु छ न माक्र्सवादको आलोकमा समाजवादी बाटोमा अग्रसर हुन खोजेका देशहरुको जस्तो छ । पाँच दशकको अन्तरालमा सिङ्गापुर यति विकसित र दुनियाँका लागि पछ्याउनै पर्ने मुलुक कसरी बन्न सफल भयो भन्ने जिज्ञासा आम नेपालीका बीचमा पनि छ र यो संकथन र बहस समय–समयमा घनीभूत रुपमा उठ्ने गर्छ । पञ्चायत विरोधी आन्दोलनको सफलतास्वरुप पुनःस्थापित बहुदलीय व्यवस्थाका अन्तरिमकालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नेपाललाई सिङ्गापुर बनाउने मीठो सपना बाँडेका थिए ।

सिङ्गापुरको यति ठूलो सफलताका पछि जनताको ठूलो मेहनत, लगनशीलता, समर्पण, त्याग र बलिदानीले काम गरेको छ । त्यो भन्दा पनि महत्वपूर्ण एकजना दृढ प्रतिज्ञाका धनी, निःस्वार्थी, देशभक्त, स्वप्नदर्शी राजनेताको योगदान छ यसमा । जुगजुगसम्म सिङ्गापुरवासीका हृदयमा चम्किरहने र मुलुकलाई निरन्तर विकासको उज्यालो बाटोमा डो¥याउन प्रेरणा दिइरहने व्यक्ति हुन् लि क्वान यु । उनी अहिले छैनन्, १६ सेप्टेम्बर १९२३ मा जन्मेका सिङ्गापुरका संस्थापक लि क्वान युको २३ मार्च २०१५ मा ९१ वर्षको उमेरमा निधन भयो । अहिले गरिब सिङ्गापुरलाई विश्वको आर्थिक केन्द्र बनाउने महारथी यो धरतीमा छैनन् । तर, विश्व राजनीतिक रंगमञ्चमा आशा, विश्वास र प्रेरणाको दियो जलाउन सफल लि क्वान युले अनुशरण गरेको बाटोको बारेमा विश्वव्यापी रुपमा छलफल, बहस र तर्क उठिरहेका छन् । उनले लिएका नीति, कार्यक्रम र कार्यदिशाको बारेमा पुँजीवादी र साम्यवादी दुबै खेमाका समर्थक र शुभेच्छुकहरुले मनन गर्न आवश्यक छ र यस सम्बन्धमा अध्ययन मनन भइरहेका पनि छन् ।

आधुनिक सिङ्गापुरका निर्माता एवम् सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली क्वान यु सिङ्गापुरका संस्थापक नेता थिए । कुनै प्राकृतिक स्रोत नभएको सानो बन्दरगाह सहर सिंगापुरलाई विश्वको प्रमुख आर्थिक केन्द्र बनाएका थिए उनले । उनले अविच्छिन्न रुपमा ३१ वर्षसम्म सिंगापुरको प्रधानमन्त्रीको रुपमा काम गरेका थिए । लि क्वान युलाई सिङ्गापुरका नागरिकले राष्ट्रपिताका रुपमा पनि सम्मान गर्छन् । सिङ्गापुर विश्वमा एक्लै रहेका बेला र विश्वमा विकासको गतिमा यसको मापन नभएको समयमा देशको नेतृत्व गरेर वर्तमान सिङ्गापुर निर्माण गरे उनले । वर्तमान सिङ्गापुरको निर्माणमा उनको योगदानको उच्च मूल्याङ्कन गर्दै विकासप्रेमी र देशभक्त नागरिकको रुपमा जुगजुगसम्म उनको स्मरण गरिरहने छन् देशबासीले ।

सन् १९९० सम्म ३१ वर्ष मुलुकलाई नेतृत्व दिएको अवधिमा उनले एसियाकै गरिब द्विपीय राष्ट्र सिङ्गापुरलाई समृद्ध र बलियो आर्थिक केन्द्रका रुपमा रुपान्तरण गर्न योगदान दिए । नेता लि वर्तमान एवम् आधुनिक सिङ्गापुरका संस्थापक र प्रारुप तयार पार्ने व्यक्तिको रुपमा र हालको संसारमा चिनिएको सिङ्गापुर निर्माणमा प्रमुख योगदानकर्ताको रुपमा सम्मानित छन् । सिङ्गापुरको आमूल परिवर्तनमा उनको विशिष्ट योगदान रहेको भनी सिङ्गापुरका नागरिक मान्ने गर्छन् । वर्तमान सिङ्गापुरको एक सच्चा निर्माता लिले एसिया र विश्वलाई नै सफलता र इमान्दारिताको पाठ सिकाउन सफल भए ।

सिङ्गापुरको विकासको मोडलबाट नेपालले सिक्नुपर्ने कुरा के–के हुन सक्छन् र नेपाली राजनेताले ग्रहण गर्नुपर्ने शिक्षा के हुन सक्छन् भन्ने महत्वपूर्ण प्रश्न सदैव हामी सामु छ । राणाशासनको अन्त्य भएपछि पनि पूर्वाधार निर्माणका लागि धेरै दशक सुनौलो अवसर गुमेको तीतो इतिहास हामीसँग छ । तर, क्याम्ब्रिज दीक्षित ली क्वान यु राष्ट्र निर्माणको पूरा तस्वीर थाह पाउने दक्ष राजनेता थिए । लिले संसारमै प्रतिस्पर्धी सेवा दिन्छु भने । बन्दरगाह निर्माण गरे, एअरपोर्ट निर्माण गरे । आज पनि सिंगापुरको बन्दरगाह, एअरपोर्ट, एअरलाइन्स गुणस्तरीय छन् ।

नेपाल पछि पर्नुका धेरै कारणमध्ये सहभागितामूलक विकासको अवधारणालाई नपछ्याउनु पनि हो । विकासका कार्यक्रममा स्थानीयलाई नै जवाफदेही बनाउन सकिएको भए दीगो हुन्थ्यो र स्थानीय सहभागितामा सामुदायिक वन, कृषि, व्यवस्थित सिँचाइका योजना तथा कार्ययोजना अघि बढाइनुपथ्र्यो । पूर्वाधार निर्माणमा राष्ट्रको आवश्यकता पहिचान गरी त्यस अनुसार अघि बढ्नुपर्नेमा विदेशी दातृ निकायको निर्देशनमा हामी हिँड्यौं । नेपालमा नेतृत्वमा दूरदृष्टिको अभाव छ । लक्ष्य निर्धारण पूरा गर्ने संकल्पतिर लाग्ने स्वप्नद्रष्टा नेता आजको नेपालको आवश्यकता हो । तर, हाम्रो देशमा पालो दिने परम्पराले जरा गाड्न थालेको छ । सामन्ती संरक्षकत्ववादी नीतिले मुलुक प्रगतिको बाटोमा लाग्न सक्दैन । हामीलाई सपना देख्ने राजनेता चाहिएको छ । तर, हामीलाई सपनाबाट नबिउँझिने रोगबाट ग्रस्त नेतृत्व चाहिएको छैन । विकृत संस्कारका कारण आर्थिक, सामाजिक, राजनीतिक लगायतका तमाम क्षेत्रहरूमा मुलुकले पीडा सहनु परिरहेको छ । विभिन्न प्रतिकूलताका बाबजुद पनि सिङ्गापुरले गरेको उन्नति इष्र्यायोग्य छ । तर, कुनै पनि यसको अन्धानुकरण गरेर सिङ्गापुरको जस्तो सामाजिक–राजनीतिक रुपान्तरणका लागि आर्थिक परिवर्तनलाई निर्णायक बनाउन बहुतै कठीन छ ।

सिङ्गापुरको आर्थिक समृद्धिको सफलताको अनुभवलाई ग्रहण गर्ने हो भने नेपालको विकास प्रक्रियालाई सहजीकरण गर्न सक्छ । उदार लोकतान्त्रिक मूल्य–मान्यताभन्दा पनि नियन्त्रित राजनीतिक स्वतन्त्रतामा उदार अर्थतन्त्रको विकास गरेको सिङ्गापुर अन्य मुलुकका लागि हुबहु अनुकरण गर्ने उदाहरण हुन सक्दैन । मानिसको ठूलो मात्रामा प्रवाह हुने भएकाले, बेलायतको उपनिवेश भएकै बेलामा केही पूर्वाधार बनिसकेकाले, मानव स्वास्थ्यसँग अनुकूल भू–मध्यरेखीय हावापानी भएकाले, स्वप्नद्रष्टा लि क्वान यू जस्ता नेताले मुलुकका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्रोतसाधन परिचालन गरेकाले सिङ्गापुरको विकास सम्भव भएको हो ।

अर्को महत्वपूर्ण कुरा, सिङ्गापुरमा राजनीतिक स्थायित्व रह्यो र अस्थिरता, भद्रगोल, सरकार परिवर्तनका नाटक, द्वन्द्व, युद्ध, बन्दहडताल जस्ता नकारात्मक कुराहरु विगत पाँच दशकमा मुलुकले भोग्नु परेन । सफलताका यी सबै अनुभवलाई नेपाली माटोमा लागू गर्न त्यति सजिलो छैन । घिस्रँदो आर्थिक विकासका ठाउँमा गतिशील विकासका लागि प्राप्त प्राकृतिक, मानवीय, आर्थिक स्रोतको पहिचान र परिचालन गर्दै निःस्वार्थ रुपमा लाग्ने नेतृत्व नेपाललाई चाहिएको छ । स्वप्नद्रष्टा नेता र नेतृत्व नेपालले पाउने हो र आम नेपालीले पनि कडा मेहनत गर्ने हो भने केही दशकमा नेपालले आफूलाई विकसित देशको हाराहारीमा उभ्याउन सक्छ । व्यावहारिक नेतृत्व, प्रभावकारी सार्वजनिक प्रशासन, भ्रष्टाचारको नियन्त्रण, मुलुकका सर्वोत्तम दिमागमा निर्भरता, शिक्षामा ठूलो लगानी, विकसित देशबाट सिक्ने आदि सिङ्गापुरको विकासका मूल आधार हुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here