वर्षाले घर भत्किएकालाई राहत

0
487

दमौली,

तनहुँको ऋषिङ गाउँपालिकाले वर्षाले घर भत्किएका गाउँवासीलाई राहत प्रदान गर्ने भएको छ ।

सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले गत वर्षात्को समयमा घर भत्किएकालाई राहत प्रदान गर्ने निर्णय गरेको हो । वर्षाले पूर्ण क्षति भएका घरधनीलाई रु ६० हजार, आंशिक क्षति भएकालाई रु ३० हजार र कम क्षति भएका परिवारलाई रु १५ हजारका दरले राहत प्रदान गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

गाउँपालिकाले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने भएको छ । कहीँ पनि घर नभएका ऋषिङका नागरिकलाई गाउँ फर्किए रु एक लाख अनुदान दिने निर्णय गरिएको हो । त्यसका लागि गाउँपालिकाले रु १५ लाख बजेट छुट्याएको छ ।

बसाइँ सरेर गएका गाउँका नागरिकलाई फर्काउन यो कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । चालु वर्षमा १५ घर फर्किने पालिकाको अनुमान छ । सोहीअनुसार रु १५ लाख विनियोजन गरेर कार्यक्रम अघि बढाइएको श्रेष्ठले बताउनुभयो । तर अनुमानभन्दा बढी आए पनि रकम व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो ।

दोस्रो ऋषिङ म्याराथन, दोस्रो ऋषिङ अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड र प्रथम उपाध्यक्ष कप प्रतियोगिता आयोजा गर्ने निर्णय गरिएको छ । यसैगरी कार्यालय सहयोगी र प्राथमिक तहका शिक्षकलाई तलब उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

जसअनुसार लेखापाललाई रु १६ हजार, इसिडी शिक्षकलाई रु १५ हजार, १–३ विद्यालयका कार्यालय सहयोगीलाई रु १० हजार, १–५ विद्यालयका कार्यालय सहयोगीलाई रु १२ हजार, १–८ विद्यालयका कार्यालय सहयोगीलाई रु १३ हजार र १–१२ विद्यालयका कार्यालय सहयोगीलाई रु १४ हजार प्रदान गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here