संस्कृतिको संरक्षणमा ध्यान देऊ

0
651

नेपाल बहुभाषिक तथा बहुसांस्कृतिक सम्पदाले समृद्ध देश हो । नेपालको पहिचान पनि यस्तै विविधताले आजपर्यन्त जोगिएको छ । तर, नवपुस्ता परम्परा, संस्कृति र मौलिक परिचयप्रति विकर्षित हुन थालेपछि हाम्रो आफ्नोपन विलयको संघारमा पुग्ने खतरा बढेको छ । बहुजातीय समाजको संरचनाभित्र हार्दिक तथा सहिष्णु सम्बन्धले नेपालीको एकताको अनुपम उदाहरण दिएको थियो । त्यही विशिष्टताभित्र सबै जातजाति, भाषाभाषी, धर्म र परम्पराको समन्वय र एकात्मकताले सबै क्षेत्र उन्नत तथा सु–संस्कारित पनि थियो । आज नवपुस्ताले त्यो विशेषता र विशिष्टताको महत्वलाई आत्मसात गर्न नसक्दा हाम्रा कतिपय संस्कृति लोप हुने अवस्थामा पुगेका छन् । त्यही मध्येको एक हो– जोगी समुदायले धान्दै ल्याएको फेरी प्रथा ।

पहाडी प्रदेशमा भएका जोगी समुदायले खासगरी वर्षमा दुईपटक घर–घरमा फेरी लगाउने गर्थे । बराँठको सिङ बजाएर विशेष मन्त्र जपेर भररात घर–घर डुल्नु उनीहरूको नित्य कर्मको मुख्य हिस्सा थियो । राति फेरी लगाउनु र बिहान भएपछि सिदा दान गर्ने परम्परा थियो जुन आज लोपको संघारमा पुगेको छ । कात्तिक र चैत महिना जोगीको फेरी लगाउने खास महिना हो र ज–जसको घरमा फेरी लगाइन्छ ती घरधनीले बिहान दक्षिणा लिन आएका जोगीलाई चामल, दाल, नुन, तेल, हर्दी, घ्यू लगायतका खाद्यवस्तु दिँदा कुनै कारणले लागेको दोष मेटिन्छ भन्ने मान्यता थियो । यस्ता जोगीलाई घरभित्रै प्रवेश गराएर मन्त्र जप गराउन पाउँदा अनिष्ट टर्ने जनविश्वास पनि रहेको छ । हुन पनि जोगीले फेरि लगाउँदा होस् वा घर–घर डुल्दा कस्तै कुकुरले पनि आक्रमण नगर्ने, नभुक्ने, नटोक्ने हुँदा उनीहरूले साधना, शिद्धि र विशेष शक्ति प्राप्त गरेको मानिन्छ ।

त्यसो त फेरीको प्रचलन समाप्त नै भएको भने होइन । तर, यो पेशाप्रति युवापुस्ता भने आकर्षित भइरहेको छैन । त्यसैले जोगीहरूको फेरी लगाउने, दक्षिणा सङ्कलन गर्ने र परिवारको भरणपोषण गर्ने प्रचलन सङ्कटमा पर्न थालेको भन्दै सामाजिक अगुवाहरुले चिन्ता प्रकट गर्न थालेका छन् । मूलतः पहाडी प्रदेशमा रहेको यो प्रचलन तराईका प्रायः सबैतिर पाइन्छ । तर, त्यसको तारन्तरता कम हुँदै गएको छ । भिक्षा लिन आउने जोगीहरूले बिरामी बालबालिकालाई झारफुक गराउने गराइन्थ्यो । आज यी सबै मान्यता ओझेलमा मात्रै परेको छैन विस्थापनकै संसारमा पुगेको छ । नेपाली वहुल क्षेत्र भारतको दार्जिलिङ, सिक्किम, आसाममा पनि जोगीहरूले धान्दै ल्याएको यो संस्कृतिको संरक्षण गर्ने दायित्व अब सरकारको हो । मौलिक विशिष्टताभित्रका यस्ता सबै संस्कृतिलाई जोगाउन स्थानीय सरकारले पनि पहल गर्नुपर्छ । यिनै पहिचानले नेपालीको गौरवलाई उचालेको छ र तिनको संरक्षणमा हाम्रो जिम्मेवार अग्रसरता हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here