
समीता, अञ्जुमीता अनि रीता स्कूलको ग्राउण्डमा यता र उता कुद्दै छन् । कुद्दै एकले अर्कालाई छुन खोज्दै छन् । छुनलाई भेट्न नसकिएकी अञ्जुमीतालाई समीता भन्छिन्– होइन यो अञ्जुमीता के खान्छे हँ ? कति बलियो छे यसलाई त भेट्नै सकिँदैन त । यतिकैमा रीता भन्छिन्– अनि यो त पहाडको पानी खाएर आएकी हो नि त । पहाडबाट यिनीहरु परिवारै पोहोर तराई आएका हुन् । यसको जीउमा अझै पहाडको पानीको ताकत रहेछ । समीता सही थप्दै भन्छिन्– हो रहेछ क्यारे । थाकेँ म त । रीता पनि भन्छिन्, अँ म पनि । हामी तराइका पानी पिएकाहरु अञ्जुमीता जत्तिको बलिया के हुन्थ्यौँ र ।
अञ्जुमीता कुद्दाकुद्दै टक्क अडिन्छिन् र गम्छिन्, पहाडको पानीमा त्यस्तो के ताकत हुन्छ र यिनीहरु यसो भनिरहेका छन् ? टोलाएकी अञ्जुमीतालाई समीता भन्छिन्– होइन ए अञ्जुमीता ! के भो तँलाई टोलाइस् त । अञ्जुमीता भन्छिन्– ए होइन होइन म टोलाइकी होइन । रीता सोध्छिन्– अनि किन टक्क अडिएर एकोहोरिइस् त । अञ्जुमीता पुनः भन्छिन्– होइन होइन म एकोहोरिएको पनि होइन ।
समीता भन्छिन्– अनि किन त चुपचाप उभिइस् ? उत्तरमा अञ्जुमीता भन्छिन्– अघि तिमीहरुले के भन्यौ, पहाडको पानीमा ताकत हुन्छ रे ? अञ्जुमीताको कुरा सुनेर रीता गलल हाँस्दै भन्छिन्– लौ यसलाई यत्ति पनि थाह छैन रहेछ । बीचैमा रीता बोल्छिन्– साँच्चै हो अञ्जुमीता ! तँ त हामीभन्दा बलियो छेस् । आश्चर्य मान्दै अञ्जुमीता सोध्छिन्– कसरी ? उत्तरमा समीता भन्छिन्– मानिसहरु भन्छन् त पहाडको पानी पिएकाहरु तराइको पानी पिएका भन्दा बलिया हुन्छन् । स्कूलको चउरमा थचक्क बस्दै अञ्जुमीता भन्छिन्– होला । यत्तिकैमा रीता भन्छिन्– होला होइन अञ्जुमीता ! हो, शतप्रतिशत हो ।
समीता र रीतालाई पनि चउरमा बसाउँदै अञ्जुमीता भन्छिन्– मानिसहरुले भनेका कुरा मैले पनि सुनेको छु तर पहाडको पानी छाडेर म तराई आइसकेँ । अब मेरा लागि तराइकै पानी मीठो र पोषिलो छ । अञ्जुमीताको बुद्धिमत्ता कुरा सुनेर समीता र रीता भावुक बन्छन् । केही क्षणको मौनतापछि रीता भन्छिन्– बरु यो कुरामा ध्यान जानु महत्वपूर्ण छ कि, के हामीले पिउने पानी स्वच्छ र स्वस्थ छन् त ? यत्तिकैमा स्कुलको घण्टी बच्छ । उनीहरु जुरुक्क उठेर कक्षातिर दगुर्दछन् ।
तीन महिनापछि । अञ्जुमीता बिरामी परेर स्वास्थ्य जाँचका लागि अस्पताल जान्छिन् । डाक्टरको कुराले सबै आश्चर्यमा पर्दछन् किनकि अञ्जुमीताको आन्द्रामा क्यान्सर देखिन्छ । अञ्जुमीताको पेटमा आन्द्राका भित्तामा प्लाष्टिकका सूक्ष्म कणहरु देखिन्छन् । आन्द्रामा कसरी प्लाष्टिक पुगे ? पानी पिउँदा पानीमा मिसिएका प्लाष्टिकका सुक्ष्म कणहरु पनि पेटमा पुगेर आन्द्राका भित्तामा टाँसिएर रहन पुगे । तिनै प्लाष्टिकका सुक्ष्म कणहरुले अञ्जुमीताको आन्द्रामा क्यान्सर भएको भनेर डाक्टरहरु बताउँछन् ।
अञ्जुमीता त पहाडमा हुर्केकी केटी, पहाडको पानी पिएकी अनि कसरी अञ्जुमीताले पिएको पानीमा प्लाष्टिकको अवशेष भेटियो ? तर, पहाडमै पनि प्लाष्टिको प्रयोग बढी हुने गरेका छन् । गाउँघरमा हुन् या हाट बजारमा या शहरमा । बटुवाहरु हुन् या पर्यटहरु सबैले अत्यधिक प्लाष्टिक प्रयोग गरेर प्रयोग भएका प्लाष्टिकहरु अन्ततः खोला, खोल्सा, नाला, झरना, पानीका मुहान, कुवा आदिमा फ्याँक्दछन् । त्यहाँ वर्षौंदेखि प्लाष्टिकहरु अल्झिएर, थुप्रिएर, टुक्रिएर रहेका हुन्छन् । तिनै पानी पिएका पहाडबासीहरुका पेटमा प्लाष्टिकका सूक्ष्म कणहरु पुग्दछन् । जुन अञ्जुमीताको पेटमा पनि पुगेको हो । डाक्टरको निष्कर्ष यही सुनिन्छ ।
जीवन जीउने संघर्षको बाबजुद पनि अञ्जुमीता बच्न सक्दिनन् । उनको दुःखद् निधन हुन पुग्छ । अब अञ्जुमीता रहिनन् । अञ्जुमीता रहस्यमय तरिकाले साथीहरुबाट कहिल्यै देखा नपर्ने गरी धुँवा बनेर आकाशमा उडेर जान्छिन् ।
आफ्नो मिल्ने साथीको वियोगबाट बिथोलिएका उनीहरुका मनमा प्रश्नहरु सल्बलाउन थाल्दछन् । प्लाष्टिकमुक्त समाज कसरी बनाउने होला ? रीता समीतालाई सोध्छिन् । छक्क पर्दै समीता रीतालाई भन्छिन्– अनि तेरै बुबा मन्त्री हुनुहुन्छ त । उहाँले सिङ्गो सरकारलाई प्लाष्टिकमुक्त समाज बनाउन क्याम्पेन चलाउन तयार पार्न सक्नुहुन्छ । समीतालाई रोक्दै रीता भन्छिन्– अहँ बुबाबाट यो काम हुन्न । समीता सोध्छिन् कसरी ? रीता भन्छिन्– पुराना पुस्ताका मन्त्रीहरु भ्रष्ट हुन्छन् । प्लाष्टिक कम्पनी र प्लाष्टिकका व्यापारीबाट कमिशन लिन्छन् । त्यसैले पनि प्लाष्टिक आतंक नरोकिएको हो । उहाँहरुबाट प्लाष्टिकमुक्त अभियान असम्भव जस्तै छ ।
बीचैमा समीता सोध्छिन्– तब कसले प्लाष्टिकमुक्त समाज निर्माण गर्न सक्छन् त ? रीता दृढ भाषामा भन्छिन्– हामीले । समीता हेरेकोहेर्यै हुन्छिन् । रीता पुनः भन्छिन्– हो हामीले अर्थात् नयाँ पुस्ताले नै यो अभियान चाल्नु पर्दछ । हामीले नै प्लाष्टिकमुक्त समाज निर्माण गर्नुपर्दछ । त्यो पनि आजैबाट । नत्र त धेरै–धेरै अञ्जुमीताहरु अर्थात् हामी सबै क्यान्सर भएर मर्नेछौं ।
अझ हामी त तराईका मानिस । प्लाष्टिकको प्रयोग तराईमा भयाभव छ । हामीमा रोग नदेखिनु संयोगमात्र हो । प्लाष्टिक आतंकले हाम्रो देशको सारा समाज रोगी हुँदैछन् । आऊ समीता हामी नयाँ पुस्ता अघि बढौँ । नेतृत्व लियौँ । स्वच्छ वातावरणका लागि मेहनत गरौं । रीता र समीता प्रतिज्ञा गर्दछन् । उनीहरुको प्रतिज्ञाको आवाज टाढा–टाढासम्म गुञ्जन्छन् ।


























