रावण

0
415

रावण र कुम्भकर्ण सेनासहित एउटा बस्तीमा प्रवेश गर्छ । रावण हतारिँदै घोडाबाट ओर्लिएर मानिसहरुको भीडलाई पन्छाउँदै अगाडि बढ्छ । पछि–पछि कुम्भकर्ण छ । रावणलाई विश्वास नै लाग्दैन । त्यो दृष्यले ऊ ढल्न लाग्दा÷नलाग्दै भाइ कुम्भकर्णले समाल्छ उसलाई । सानो छ आश्रम । बाहिर रगतले लत्पतिएको एक जोडी शव लडिरहेको छ । पुरुषको शव आगनमा छ । महिलाको शव आश्रमको प्रवेशद्वार नजिकै छ । मृतकको शरीरको सबै भागतिर धारिलो हतियारको गहिरो चोटैचोट देखिन्छ । आफ्नो कर्म र धनले गाउँलेहरुको सेवा गर्दै आइरहेका ती धार्मिक दम्पत्तिको मृत्युमा गाउँलेहरु शोकमग्न देखिन्छन् ।

हतियारले सु–सज्जित भएर आएको नकाबधारी लुटेराहरुको सामु निरीह भए गाउँलेहरु । रिसको आवेगमा अचानक रावणले रेम्बो छुराको प्रहार बस्तीको मुखियाको पेटमा गरिरह्यो । गाउँलेहरु सबै डरले थुरथुर भए । मुखियाको शरीर हेर्दाहेर्दै रावणको नजिकै ढल्यो । रावणले आफ्नो रिसलाई कन्ट्रोल गर्दै आगनमा लडिरहेको एक जोडी शवलाई नियाल्न थाल्यो । आँखाबाट पानीको मूल फुटेको उसले पत्तै पाएन । हृदयमा तातो बाफ मुटु चुड्ने गरी बाफिँदै गयो । त्यही समयमा कुम्भकर्णले केही सेनाको सहयोगमा लुटेराहरुलाई पाता कसेर ल्याए ।

मुखियाका छोरा लुटेराहरुको नाइके रहेको थाह भयो । उसकै योजनामा यो घटना भएको रहेछ । ऊ पनि समातिएको थियो । दया–माया नदेखाइ प्रत्येक लुटेरासँग रावणले बयान लियो । उसले झलास्य सम्झियो बेदावतीको गर्भवती पेट । प्रवेशद्वार नजिकै चिरनिद्रामा धारिलो हतियारको चोटहरु बोकेर सुतिरहेको महिलाको पेटतिर नजर पुर्यायो । सायद केही साताअघि शिशुलाई जन्म दिएको हुनुपर्छ । उसले अनुमान लगायो । ‘बच्चा कहाँ छ ?’ लुटेरातर्फ फर्किएर रावण गर्जियो । पीडादायी सजय भोगिरहेका एउटा लुटेरा बोल्यो । शिशुलाई जंगलमा लगेर जनावरको आहाराको लागि छोडेको उसले बतायो । लुटेराले बताएको जंगलतर्फ केही सेनासहित कुम्भकर्ण लाग्यो । शिशु कतै भेटिएन । खाली हात फर्किएको कुम्भकर्णलाई देखेर रावण बौलायो । निराशा र रिसको झोकमा लुटेराहरुको शिर छेदन गरिदियो । लुटेराहरुको घाँटीबाट छिर्किएर आएको रगतले रावण पुरै रातै भयो । ती दम्पत्तिको मृत्युका दर्शक बनेका सबै गाउँलेहरुलाई सखाप पार्न सेनालाई रावणले आदेश दिए । प्रत्येक गाउँलेहरुलाई लखेटी–लखेटी रावण–सेनाले हत्या गरे । बालक, बृद्ध, सुत्केरी, महिला, पुरुष कोही बाँकी रहेनन् । कोलहाल र चिच्याहाटले गुञ्जयमान बस्ती केही छिनमा नै शान्ता बन्यो । आकाशमा गिद्धहरु र धर्तीमा मांशाहारी जनावरहरुको ठूलो मेला लाग्यो । पुरै बस्ती मानव शून्य रह्यो ।

आश्रम नजिकै रहेको फलैंचामा बसेर गाँजा सेवन गर्छ । मुखबाट छुटेको धँुवाको आकृति नियालिरहन्छ रावण । मस्तिष्कमा कन्याकुमारीको पुरानो स्मृतिले नृत्य गर्न थाल्छ । ऋषि बिश्रवाको आश्रम नजिकै बैद्यनाथ धामकी एकजना कन्याकुमारी आएकी हुन्छे । रावण सानैदेखि बिभिन्न जीवजन्तु पक्रिएर चिरफार गर्न सिकिरहन्छ । आफ्नै बालमस्तिष्कले गर्न चाएको जुनसुकै काम ऊ निडर भएर गरिरहन्छ । तर ऊ भन्दा थोरै ठूली कन्याकुमारी आएर जीवहरुको चिरफारमा अवरोध पुर्याउँछे । रावणको हातबाट खोसेर जीवहरुलाई स्वतन्त्र जान दिन्छे । ती कन्याकुमारीले उसलाई घृणा पनि गर्दिन । ‘अझ यो भन्दा राम्रो गर्न सक्छौ रावण’ भन्दै उसलाई हौसला र उत्साह दिन्छे । कन्याकुमारीको मुहारमा उसले आनन्द र प्रोत्साहनको प्रकाश देख्छ । कन्याकुमारीको स्नेह र बोलीमा ऊ फिदा हुन्छ । कन्याकुमारीको बचनले उत्साहित हुन्छ । कन्याकुमारीमा उसले साक्षात देवीको अवतार देख्छ । ती देवीलाई उसले हृदयमा सजाउँछ । मनमस्तिष्कले याद गरिरहन्छ ।

आमा कैकसीको पेट ठूलो हँुदै गएपछि रावणको खुशीको आयतन पनि बढ्दै जान्छ । खुब ख्याल राख्छ आफ्नी आमाको । आमाको पेटभित्र बच्चा हुर्किदै गर्दा रावणको पिता ऋषि बिश्रवाको भने अत्तोपत्तो छैन । प्रसव पीडाको पुरै दश दिन आफ्नी आमाको रक्षार्थ रावण र उसको मामा अहोरात्र खटिरहन्छ । बिश्रवा पत्नी कैकसीले पुनः नागा बच्चा जन्माएको हल्ला गर्छ उबेलाका सुढेनीले । उसको आश्रम वरिपरि घुमिरहेका आक्रमणकारीहरुको भीड बहिरा जम्मा भइसकेको हुन्छ । तत्कालै यो धर्तीमा पाइला राखेको नागा शिशु र उसकी आमालाई सिध्याँउन । त्यति नै बेला अचानक नौ बर्षे बालक रावण, हातमा तरबार लिएर खडा भइ दिन्छ । आफ्नो आमा र नागा भाइलाई बचाउन । मामाको सहायताले पुरै परिवार आश्रम छाडेर ज्यान जोगाउन सफल हुन्छ । उनीहरु आफ्नो आश्रमभन्दा धेरै टाँढासम्म भागिरहन्छ । नागा भाइ र आमाको हत्या गर्न आफ्नै पिताले मानिसहरु खटाएको रावणले यात्रा कै क्रममा थाह पाउँछ । नौ बर्षे रावणको मनमा रिसको ज्वाला दन्कन्छ । उसले बुजिसकेको छ, अब नागा भाइ र आमाको सुरक्षा उसको काँधमा छ ।

बाधा र अडचनहरुलाई छिचोल्दै उनीहरु चिलिका लेक पुग्छन । अयोध्याका राजा दशरथको अधिनमा रहेको सामुन्द्रिक बन्दरगाह । प्रत्येक राज्यहरुले व्यापारको लागि प्रयोग गर्ने यो बन्दरगाह सधैँ खचाखच हुन्छ । यहीबाट शुरु गर्छन् मामा–भाञ्जाले संघर्षको नयाँ यात्रा । हरेक चुनौतिहरु सिर्जना गर्दै त्यसलाई अवसरमा बदल्न खप्पिस हुन्छ रावण । चलाख रावणले केही समयको अन्तरालमा एउटा डुंगा भाडामा लिएर आफ्नो छुट्टै कारोबार शुरु गर्न थाल्छ । विस्तारै रहँदा बस्दा त्यहाँको खतरा पानी जहाज व्यवसायीसँग व्यापारिक सम्झौता गर्छ । रावणको कार्यकुशलताबाट परिचित ती व्यापारीले रावणसँगको सम्झौता फाइनल गरिदिन्छ ।

रावणको व्यावसायिक कारोबारमा ब्रेक लाग्दैन । अझ उसले जहाजहरु थप्दै जान्छ । १५ बर्ष पुग्दानपुग्दै ऊ नामी व्यापारी भइसक्छ । व्यापारी राजा कुबेरको देश लंका आउने–जाने गर्दागर्दै रावणले लंकाको गोकर्णमा व्यापारको आधारशिला नै खडा गरिसकेको हुन्छ । रावणले आफ्नो व्यापारिक आधारशिला नजिकै शानदार भवन निर्माण गरेका छन् । त्यसमा उसले आफ्नो छुट्टै च्याम्बर पनि बनाएको छ । भाइ कुम्भकर्ण बाहेक अरु कसैलाई अनुमति छैन, त्यहाँ प्रवेश गर्न । जहाँ छन् रावण आफैले बनाएका बाँजाहरु र कन्याकुमारीका बढ्दै गएका उमेर अनुसारका फरक–फरक तस्वीरहरु अनि छन्, थरि–थरिका पुस्तका ठेलीहरु ।

चिलिकाको गर्भनरले घोटाला गरेर लुकाएको अचुक सम्पत्ति माथी एकदिन लुटपाट मच्चाउँछ रावण र उसका सहयोगीहरुले । लुटेका सबै सम्पत्ति जहाजमा राखेर भाग्दै गर्दा बाँध बाँध्दै गरेका मजदुरहरुको भीडमा रावणले कन्याकुमारीलाई देख्छ । जहाज मजदुरहरुदेखि टाढिँदै गइरहेको हुन्छ । दाजु रावणले एकोहोरो हेरिरहेको दिशा तर्फ कुम्भकर्णले नजर लगाउँछ । त्यहाँ मजदुरहरुको बीचमा उसले दाजुले बनाएको चित्रको कन्याकुमारी देख्छ । पछि–पछि आएका गभर्नरका सेनाहरुले उनीहरुको जहाजलाई लखेटिरहेको हुन्छ ।

कुम्भकर्णले दुई–तीन बर्षको अथक प्रयासपछि कन्याकुमारीको गाउँ पत्ता लगाइ छाड्छ । कन्याकुमारीको खबर कुरेर बसिरहेका रावण, भाइ कुम्भकर्णको आगमनमा खुशी देखिन्छ । कन्याकुमारी विवाहित र गर्भवती पनि रहेको खबरले रावणको दिलमा गडेको कन्याकुमारीप्रतिको प्रेमको किलोलाई हल्लाउन सक्दैन । भाइलाई लिएर २२ बर्षे रावण कन्याकुमारीको गाउँतर्फ लाग्छ । आफ्नो हृदयकी देवीसँग भेट हुने हर्षमा भाइ कुम्भको सामु नृत्य गर्छ । गीत गाउँछ । कविता सुनाउँछ । अनि सोमरसले लठ्ठ पर्छ रावण ।

उनीहरु कन्याकुमारीको गाउँ पुग्छन् । भेष बद्लेर सामान्य मानिस सरह डुल्छन् । सामान्य मानिससँग विवाह गरेकी भूपू कन्याकुमारीलाई वेदवतीको नामले सबैले चिन्दछन् । वेदवती र उसको श्रीमानलाई गाउँलेहरु सबैले सम्मान र विश्वास गर्छन् । रावण टाढैबाट लुकेर बेदवतीलाई नियाली रहन्छ । बेदवतीको अघि पुगेर एक शब्द बोल्ने हिम्मत गरेनन् रावणले । उनी कसैकी गर्भवती श्रीमती हुन् । यो कुराको कुनै वास्ता छैन रावणलाई । बाल्यकालदेखि हृदयमा सजाएकी बेदवतीलाई कुनै पनि हालतमा लानु छ । मुखियाको सायताले बेदवती र उसका श्रीमानसँग आमने–सामने हुन्छ रावण र कुम्भकर्णको । उनीहरुले खानाको निम्तो पनि पाउँछ बेदवतीको आश्रममा । त्यतिञ्जेलसम्म पनि उनीहरुले आफ्नो परिचय लुकाइ राख्छ । बेदवतीको बोली र बचनले रावणको मनमा सुमधुर संगीतको तरंग ल्याइदिन्छ । उसले आफ्नो समान्य मानिसको हैसियतमा गाउँलेहरुलाई सहयोग गरिरहन्छ ।

हिम्मत जुटाएर रावणले सबै सच्चाई बेदवतीलाई बताइदिन्छ । श्रीमानसहित उनलाई लंका लैजाने । लंकामा उसले बेदवतीलाई हेर्न मात्र पाए पुग्यो । बेदवतीको श्रीमानलाई पनि राम्रो रोजगारीमा लगाई दिने बाँचा उसले गर्छ । बेदवतीले उसलाई आफ्नो नबनाए पनि श्रीमान्सहित लंका आइदिए पुग्छ । बेदवतीको साथ पाए सधैँ असल मानिस बन्ने बाँचा पनि उसले गर्छ । बेदवतीले रावणलाई सम्झाउँदै भन्छ– ‘हेर तिमी कहाँ खराब छौं र ! रावण । तिमीले त आफ्नी आमा, मामा र भाइको सुरक्षाको जिम्मेवारी लिएका छौं । तिमीसँग अझ यो भन्दा राम्रो हुने तागत छ ।’ यति भन्दै लंका जान नसक्ने आफ्नो राय बेदवतीले रावणलाई बताउँछ । रावणको बेदवतीप्रतिको प्रेममा कुनै कमि आउँदैन ।

जाँदाजाँदै त्यो बस्तीका लागि उसले बेदवतीको हातमा ठूलो रकमले भरिएको हुण्डी थमाइदिन्छ । लिन नमानेपछि घँुडा टेकेर यो निःस्वार्थ मनले यो गाउँ र बन्न लागे उपचार घृहलाई दान दिएको सम्झिन आग्रह गर्छ । यो पहिलो निःस्वार्थी दानबाट नै मानव कल्याणको हितमा धार्मिक सेवाको शुरुवात गर्न चाहेको उसले बेदवतीलाई बताउँछ । पहिलो धार्मिक सेवालाई निष्फल नपारी दिन उसले बेदवतीसामु अनुरोध गर्छ । रावणको इच्छालाई कदर गर्दै बेदवतीले ठूलो रकमले भरिएको हुण्डी थाप्छ । यो सबै दृष्य मुखियाको छोराले लुकेर हेरिरहेको हुन्छ । बेदवतीसँग बिदा लिएर रावण र कुम्भकर्ण गाउँभन्दा धेरै परको आफ्नो शिविरतिर लाग्छ । दुईचार दिनको विश्रामपश्चात लंका फिर्नु पहिला एकपटक त्यहाँको नामी व्यापारीकोमा कुम्भकर्ण पुग्छ । त्यहाँ उसले जुन दृष्य देख्छ ऊ छक्क हुन्छ । अतालिँदै दाजु रावणलाई खबर गर्न दर्गुछ ।

‘दादा’ कुम्भकर्णले रावणलाई बोलाउँछ । नसुनेपछि नजिकै गएर पुनः एक चोटी बोलाउँछ ‘दादा’ रावण झस्किन्छ । ‘चिता तयार भइ सक्यो दादा’ कुम्भकर्णले रावणलाई बताउँछ । रावण विगतको त्यो धमिलो अतितबाट बौरिँदै चितातर्फ हेर्छ । चिता माथि बेदवती छ भने अर्को चिता माथि बेदवतीका श्रीमान् । ऊ नजिकै जान्छ । बेदवतीको मृत शरीरलाई नियालेर हेर्छ अनि दुबै जनाको आत्मा शान्तिको कामना गर्छ । रावणले धार्मिक विधिवत् तवरले दुबैको चितामा आगो लगाइदिन्छ । आगोले बेदवती र उसका श्रीमान्लाई जति खरानीमा परिवर्तन गर्दै लान्छ त्यति नै रावणको राक्षसी गुणहरुले उसमा पकड जमाउँदै जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here