
लीना भण्डारी ।
धेरै बर्षपछि
म
माइत आएकि छु ।
खुशी भएँ
म भन्दा खुशी
तामुल नरिवलका बोटहरुले भने
कान्छी तँ आइपुगिस् ?
गोधँुलीमा गाईहरुले भने
आम्मुइ बिर्सेकी रै’नछे
डुलुवा कुकुरहरुले भने
अब अघाउँजी खान पाइने भैयो
छेउकि बडियाङ नदीले भनिन
अघाँजी पखालिएर जालिस है ।
गुरुजनले भन्नुभयो
देशको माया कस्तो हुँदोरहेछ ?
साथीसङ्गीले भने
माइत र घर कुन प्यारो ?
आफूले पढेको पाठशाला त हेर्नै सकिन
स्मृतिका छालहरु मडारिएर आए
कयौंपटक भक्कानिएर रोएँ
मित्र मण्डलीसँग
आँखा रसाउँदै जिस्किएँ ।
जब पुरै गाउँ डुल्न थालेँ
थुप्रै घरहरु रित्तिएका थिए
मूल खाँबो भाच्चिए झैं
हजुरबाहरु ढलेका, हजुर आमाहरु बितेका
समकालिनहरु बेपत्ता भएका
कालगति र देश्यानले सकिएका
भौतिक विकास अथाह देखिए पनि
मनहरु रोइरहेका, व्यथाहरु चर्किरहेका
पीडाहरु दुःखी रहेका थिए ।
म गाउँ परिक्रमा गर्दैछु
रुखमाथि कोइली चिच्याइरहन्छ
को…हो को… हो भन्दै
म जबाफ दिन सक्दिनँ
म त्यही पुरानी बुईनी हुँ भनेर,
नेपाल पुगेकी
यही गाउँकी मुन्ना लीना हुँ भनेर ।


























