लयमा फर्कंदै भेडेटारको पर्यटन व्यवसाय

0
437

धरान,

कोरोना महामारीले गर्दा ठप्प भएको भेडेटारको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कन थालेका छन् । अहिले भेडेटारमा आन्तरिक पर्यटकहरुको आगमन बढेको व्यवसायीले बताएका छन् ।

कोरोना सङ्क्रमण कम हुँदै गएको र धेरैले खोप लगाएर आत्मबल बढाएपछि बिस्तारै आन्तरिक पर्यटक साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार, नाम्जे, ध्वजे डाँडा, नमस्ते झर्ना घुम्न आउने पर्यटक बढेको होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो ।

पर्यटक घुमफिर गर्न पहाडतर्फ उक्लन थालेको र व्यवसायमा पनि चहलपहल बढ्न थालेको व्यवसायीको भनाइ छ । भेडेटारमा दुईवटा स्टार होटेल खुल्ने चरणमा छन् । पर्यटक आसपासका क्षेत्र घुमाएर सुविधासम्पन्न होटेलमा राख्न यी होटेल सुरु भएपछि सहज हुने साँगुरीगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले जानकारीदिनुभयो ।

गाउँपालिकाले पर्यटनलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनु भयो । पर्यटकका लागि बुटिक जोन, वाइफाई जोन बनाइएको छ । फूलबारी जोन बनाउने तयारी भइरहेको छ । गाउँपालिकाले साँगुरीगढी क्षेत्रका १६ महत्वपूर्ण स्थानको पहिचान गरी पोइन्ट बनाएको छ ।

भेडेटार आसपासका क्षेत्र घुम्नका लागि गाउँपालिकाले निकट भविष्यमा यातायातको व्यवस्था गर्ने वडा नं ६ का वडाध्यक्ष यमप्रकाश मगरले जानकारी दिनुभयो ।

होटेल व्यवसायी रुदालीका अनुसार कोरोना कहर अगाडि दैनिक एक हजार पर्यटक पहाडतर्फ उक्लने गर्दथे तर लकडाउन भएपछि भने २०७६ चैतदेखि डेढ वर्षसम्म होटेल व्यवसाय ठप्प भएको थियो । दसँैअगाडि देखि भने चहलपहल बढेको छ ।

कोराना सङ्क्रमण कम भएपछि सुरक्षा सतर्कता अपनाउँदै पर्यटकहरु पनि घुमफिर गर्न थालेपछि होटेलहरु पनि सञ्चालन हुन थालेका छन् । व्यवसायीहरुले पनि सुरक्षाका मापदण्ड अपनाएर सेवा दिइरहेको व्यवसायी रुम्दालीले बताउनुभयो ।

जोमनी नाका खुल्ला भएपछि भेडेटारमा भारतीय पर्यटकहरु पनि आउन थालेका छन् । प्रदेश १ को पहाडी क्षेत्रको प्राकृतिक सौन्दर्य, जातीय र प्राकृतिक विविधता अनि एडभेन्चर यात्राको अनुभवले भारतीय पर्यटकहरु आकर्षित हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here