रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

गाउँघरको परम्परागत बाजा मादलको धुन सुन्दा बेग्लै आनन्द आउँछ । यसको माग र महत्व त्यसबेला बढ्छ जब नाचगान, भजन कीर्तन, गानाबजानाको रमाइलो गर्ने अवसर र अवस्था सिर्जना हुन्छ । यस्तै अवसर र अवस्थामध्ये एक हो– नेपालीहरुको सांस्कृतिक पर्व तिहार ।
तिहार नजिकिएसँगै यतिबेला लोक बाजा मादलको माग बढ्दै गएको छ । माग पूरा गर्न बजारमा मादल देखिन थालेका छन् । यतिबेला बिर्तामोडमा भने मादलको निर्माण तथा विक्री वितरणमा एउटा समूह सक्रिय रहेको छ ।
बिर्तामोड–६ नयाँ बसपार्क छेउ बिर्तामोड–काँकरभिट्टा सडकखण्ड किनारमा मादल निर्माण तथा बिक्री भइरहेको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर केही समय पहिलेदेखि भारतबाट आएको एउटा समूहले मादल तयार गर्ने र बिक्री गर्ने गरेको मादल बनाइरहेका भारत निवासी सेवानले बताए । उनले ११ जनाको समूह भारतबाट आएको सबै यस कार्यमा संलग्न रहेको बताए । उनीहरुमध्ये केही मादल बोकेर बिक्री गर्दै हिँड्ने गरेका छन् । सम्पूर्ण सामग्रीबाट एउटा मादल तयार गर्न आधा घण्टा लाग्ने उनले जानकारी दिए ।
साहिद नाम बताउने अर्का कामदारले खरी लगाउने कार्य गर्दै भने– बर्षेनि भारतबाट आउने र दीपावली पश्चात् फर्कने गर्छौं । एक हजार मादल बिक्रीका लागि एकैस्थानमा तयार भइरहेको उनको भनाइ छ । मादल घरमा राख्नाले शुभ हुने, नाचगान, भजनकीर्तन र रमाइलोका लागि खासगरी केटाकेटीहरुको खुशीका लागि मादल किन्नु पर्ने मादल बिक्रेता महमद अनवरले बताए ।
उनले मादल पाँच सयदेखि एक हजार रुपैयाँसम्ममा बिक्री भइरहेको बताए । मादलको निर्माण र बिक्री गर्नु पुख्र्यौली पेशा भएको उनी बताउँछन् । तिहारका लागि देउसीभैलो खेल्न र नाचगानका लागि व्यक्तिगत तथा सांस्कृतिक समूहले मादल खरिद गर्ने गरेका छन् ।































