
वि. सं. २०७८ सालको नेपाली हिन्दू धर्मावलम्बीहरुको महान पर्व तिहार हाम्रो घर आँगनमा भित्रिएको छ । यो चाड बडा दशैँको १५ दिनपछि कात्तिक कृष्ण त्रयोदशीबाट शुरु हुने सांस्कृतिक र सामाजिक महत्व बोकेको विशेष पर्वको रुपमा मनाइने गरिन्छ । अँध्यारो अर्थात् नकारात्मक शक्तिलाई उज्यालो अर्थात् सकारात्मक शक्तिको रुपमा परिवर्तन गर्ने तथा औँशीको कालो रातलाई पनि ज्योतीमय बनाई अँध्यारोलाई चिर्न सक्ने भएकाले यस पर्वलाई तिहार वा दिपावली भनिएको हो । यसलाई पाँच दिनसम्म यमराजको सञ्चार बाहकका रुपमा मानिने कागलाई पहिलो पूजा गर्दै मनाइने भएकाले यमपञ्चक पनि भनिन्छ ।
वर्षभरी कै सबैभन्दा रौनक र रमाइलो पर्व मानिने तिहार वास्तव मै अन्य चाडपर्वभन्दा विशेष महत्वको रहेको छ । संसार मै अनौठो उत्सवको रुपमा मानिने गरिएको यस पर्वमा हाम्रो वरिपरी रहने पशु तथा पन्छीको पूजाआजा, सम्मान र आराधना गरिने गरिन्छ । प्रकृति र मानवबीचको अनुपम् सम्बन्धको प्रत्यक्ष दृष्टान्त तिहार पर्व हो । यो पर्व आदि अनादीकालदेखि मनाइँदै आएको विभिन्न धार्मिक शास्त्रहरुको वर्णनमा पाइन्छ ।
विशेष गरेर भगवान रामकी पत्नी सीतालाई लंकाको राजा रावणले हरण गरेको बेला भगवान रामले रावणलाई बध गरी अयोध्या फर्केको खुशीयालीमा अयोध्याबासीले दीप प्रज्ज्वलन गरी यो पर्वको प्रारम्भ गरेको पुराणहरुमा पाइन्छ । त्यस्तै अर्को वर्णनमा दानवहरुको अत्याचारबाट प्रडादित देवता र मानवहरुले विभिन्न शक्तिको आराधना गरी ती दानवहरुको अत्याचारबाट मुक्ति दिलाएको अवसरमा राजा बलीबाट यो पर्व मनाउन आदेश भएको कुरा पनि सुनिन्छ । त्यसैले त आजभोलि पनि देउसीभैलो खेल्दा– हामी त्यसै आएका हैनौ बली राजाले पठा…को भनेर भट्याउने गरिन्छ ।
त्यस्तै अर्को विश्वास अनुसार मृत्युका राजा यमराजकी बहिनी यमुना पृथ्वीलोकमा बस्ने गर्थिन । यमुनाले दाजु यमलाई पृथ्वीमा आउन निम्तो दिइन र यमराज बहिनी भेट्न पृथ्वीलोकमा आएको र बहिनीको सेवाले प्रसन्न भई वरदान माग्न भनेको हँुदा यमुनाले हरेक वर्ष यही तिथीमा मलाई भेट्न आउनु भनेकाले दाजु र बहिनीको अगाढ प्रेम र स्नेह स्वरुप यस समयमा दिपावली गरी भाइटिका लगाइ दिने चलन चलेको हो ।
नेपालको सन्दर्भमा पनि ऐतिहासिक प्रमाण हेर्दा इसा पूर्वको पाँचौ शताब्दीदेखि मनाइने गरिएको लाजिम्पाट र तिलगंगामा स्थापित त्रिविक्रम वामनको मूर्तिहरुबाट थाह हुन्छ । हरेक वर्ष यमपञ्चकमा यमराज पृथ्वीलोकमा आउने हुनाले पाप धर्मको लेखाजोखा गर्न कोही नहुने हुनाले मानवहरुले मृत्युपछि नरक देख्न नपर्ने विश्वासका साथ दिप बालेर खुशियाली मनाउने चलन रहेको छ ।

शताब्दीदेखि हाम्रो समाजको संस्कृतीसँग जोडिएको यस पर्वका पाँच दिनमा पहिलो दिन अर्थात कात्तिक कृष्ण त्रयोदशीमा यमराजको समाचार सम्वाहकको रुपमा कागको पूजा गरिन्छ । दास्रो दिन स्वामीभक्ति, साहस र विश्वासको प्रतिकका रुपमा कुकुरको पुजा गरिन्छ भने वैदिक सनातन हिन्दूधर्मको आस्थाको केन्द्रको रुपमा रहेको गौमाताको पूजा अर्चना गरिन्छ । यसैदिन बेलुका धनधान्यकी देवी लक्ष्मीको भव्य पूजाआजा गरी सम्पन्नता, ऐश्वर्यको कामना गर्ने गरिन्छ । यसदिन अर्थात् लक्ष्मी पूजाका दिन घर–घरमा द्वारद्वारमा मैनबत्ती, दियो बालेर खडकुलामा नहुनेले थालमा पैसा, चामल राखेर लक्ष्मीको पूजा गर्ने चलन रहेको छ । रातभर तास, जुवा, (रमाइलोको लागि) भैली खेलेर औँशीको रात भए पनि दियाको उज्यालोमा रात बिताउने तथा रमाइलो गर्ने गरिन्छ ।
यसै दिन नेपाली मात्र नभएर विश्वमा नै चिनिएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन हो । मानिस ईश्वरको रुपमा छ र आफैले आफैलाई चिन्न अनि मानवको सेवा गरे पुण्य प्रप्त हुने कुरा दिएर गए । उनले लेखेको साहित्य र देखाएको अशल व्यवहारले उनी सधँै पुजिँदै आएका छन् । हरेक वर्ष यसै दिन उनको पनि भव्यताका साथ सम्झना गरिन्छ ।
त्यसैगरी कृषिकार्यका लागि सहयोग गर्ने गोरुको गोवद्र्धन पूजा गरिन्छ र भोलिपल्ट भातृस्नेहको प्रतिकका रुपमा दिदीबहिनीहरुले दाजुभाइलाई सप्तरंगी टीका, दुवो, मखमली, सयपत्री, तेलको घेरा, मिष्ठान्न फलफूल र भोजन दिएर सम्मान र आदार गर्ने गरिन्छ । त्यसैले तिहार सांस्कृतिक विरासत बोकेको चाड मात्र नभएर पारिवारिक, सामाजिक र राष्ट्रिय सद्भाव बोकेको नेपालीहरुको महत्वपूर्ण उत्सव हो ।
तिहार अथवा दीपावलीलाई झिलिमिली बत्तीहरूको चाडका रूपमा लिइन्छ । तिहारको अवधिभरि सबैले आ–आफ्नो घरमा दियो बत्ती बालेर झिलिमिली बनाउने चलन छ । हिजोआज कतिपयले भने रेडिमेड दियो र बत्ती बाल्ने क्रम पनि बढेको छ । तिहारको रमाइलोमा भुलेर आफ्नो सुरक्षाका बारेमा भने सोच्न बिर्सनु हुन्न नि । भाइबहिनीहरू, तिहारमा बत्ती बाल्दा वा पटाका पड्काउँदा धेरै नै होशियार हुनुपर्छ । त्यसैगरी टाढा–टाढासम्म पुगेर राति अबेरसम्म देउसीभैलो खेल्न पनि हुँदैन । हिजोआज असुरक्षाका विभिन्न घटना सुनिने गरेकाले भाइबहिनीले पनि आफ्नो सुरक्षा आफंै गर्न सिक्नुपर्छ र अभिभावकको सल्लाह मानेर तिहार मनाउनुपर्छ ।
अन्त्यमा, हामी नेपाली साच्चै विभिन्न संस्कृतिका धनी छौ । यो संस्कृतिलाई देखेर हजारांै पश्चिमाहरुले यसको अध्यायन र यसैमा पीएचडी गरिसकेका छन् । उनीहरु हरेक दिन हाम्रो परम्परा, रहनसहन र संस्कृति सिक्न र रमाउन आउँछन् । बिडम्बना हामी आफ्नो संस्कृति बिर्सिदै गएका छौं । पश्चिमा संस्कृतिमा रमाउन थालेका छांै । तिहारमा पकाइने सेलरोटीको महत्व र फाइदा बुझ्न सकेका छैनौं । देउसीभैलो खेल्न लाज लाग्न थालेको छ । सयपत्री र मखमली हराउँदै गएको छ ।
हामीले हाम्रा सन्ततीलाई हाम्रो संस्कृति र परम्परामा रमाउन सिकाएका छैनौं । यसले विस्तारै हाम्रो पहिचान मेटाउँदै जान सक्छ । तिहार भनेको हामी सबै नेपालीको पर्व हो । यहाँ जात र समूह भन्ने नै छैन् । त्यसैले अब हाम्रै हातमा छ हामीले आउने पुस्तालाई के दिने र कस्तो बनाउने भन्ने कुरा । चाहे जे होस, दौरा शुरुवाल, गुन्यूउ चोलीमा सजिएर देउसीभैलो खेल्ने र सेलरोटी आनि मखमली फूलको मालाले दाजुभाइ, दिदीबहिनीको दिर्घायु र सु–स्वास्थ्यको कामना गर्दै यस पटकको तिहारको उमँग हरेक नेपालीका घरमा आओस्, यही छ दिपावलीको शुभकामना ।


























