
भाइटीकामा दाजुभाइलाई उपहारका रूपमा भाइ मसला दिने प्रचलन रहेको छ । तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखन लगायतका मसाला दिने चलन छ । दाजुभाइका लागि दिइने मसालाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । तिहारमा प्रयोग हुने भाइ मसालाको प्रयोगले शारीरिक विकासका साथै रोगसित लड्न सक्ने क्षमता समेत वृद्धि गर्ने साथै कोलेस्ट्रोल समेत नियन्त्रण गर्ने चिकित्सकहरुको भनाइ छ ।
ओखर
तिहारमा ओखरको प्रयोग धेरै हुन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायिक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा छालासम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ । त्यस्तै ओखरमा पाइने फाइबरले पाचनक्रियालाई बलियो बनाउँछ । साथै यसको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृगौलामा पत्थरी हुनबाट जोगाउँछ । ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरी लगायत ओखर सेवनले क्यान्सरसँग लड्ने क्षमता प्रदान गर्छ ।
काजु
काजमा ओलिक एसिड हुन्छ, जसले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । त्यस्तै काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ । काजुमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदिले हड्डी, दाँत आदिलाई बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्न सहयोग पु¥याउँछन् ।
किसमिस
मसालमा किसमिस दिने प्रचलन छ । अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवम् कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ । किसमिसमा पाइने यी तत्वले मुटुरोगीका लागि निकै उपयोयी मानिन्छ । त्यस्तै कोलस्टोर घटाउन छालामा चमक ल्याउन पनि निकै राम्रो मानिन्छ । त्यसमा पनि कुनै पनि रोगको उपचार पछि रिकभरि पिरियडमा किसमिसको सेवन लाभदायी हुन्छ ।
बदाम
भाइ मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदाम वनस्पतिक प्रोटिनको भरपुर श्रोत पनि हो । बदामको सेवनले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् । नियमति बदाम खानाले खानापछि बढ्ने सुगर (मधुमेह)को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्दत गर्छ । बदामको यस्तो पोषकतत्व पाइन्छ, जसले स्मरण शक्ति बढाउन र मष्तिष्कको विकासको लागि फाइदाजनक हुन्छ ।
नरिवल
भाइमसलामा दिदीबहिनीले नरिबलको पनि प्रयोग गर्ने गर्दछन् । नरिबल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवद्र्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ । त्यस्तै नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्छन् ।
पेस्ता
पेस्ता पनि मसलामा दिइन्छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ । पेस्ताले कोरोनरी आर्टरी रोग र हृदयघातबाट बचाउँछ । सन्तुलित रक्त सञ्चालनका लागि समेत पेस्ता उपयोगी मानिन्छ ।
यसमा पर्याप्त मात्रामा भिटामिन बी ६ पाइन्छ । यो हेमोग्लोबिन निर्माणका लागि आवश्यक हुन्छ । पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । यसको सेवनले हर्ट एट्याकको जोखिम घटाउँछ । यसका साथै भाइ मसलामा विभिन्न थरीका मिठाईहरु, सुपारी, हाडे लगायत पनि समावेश गरिन्छन् ।





























