छठ पर्वको महिमा

२३ कार्तिक २०७८, मंगलवार मा प्रकाशित

सृष्टिको शुरूवातदेखि नै सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसंग उल्लेख छ । १४ वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेतायुगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ भने चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ ।

विगतमा छठ पर्व कुनै एक समुदायले मनाउँदै आए पनि आजको दिनसम्म आइपुग्दा विभिन्न जातजाति, भाषाभाषीहरुले बृहतरुपमा मनाउँदै आइरहेकोले छठ पर्व राष्ट्रिय पर्वको रुपमा विकास हँुदै गएको छ । छठ पर्व नेपाल र भारतका उत्तरीय क्षेत्रमा विभिन्न जातजाति तथा भाषाभाषीहरुले मनाउने एक महत्वपूर्ण पर्व हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ । नेपालमा विशेष रुपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवम् भक्तिपूर्वक यो पर्व मनाइन्छ । हाल आएर राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । यस पर्वमा मुस्लिम समुदायका व्यक्तिले पनि सहभागी जनाउने गर्दछन् र यो पर्व बिधिवत् मनाउँछन् । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् । व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर, शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा व्रतालुहरु सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहिआएको छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्ने गर्दछन् ।

षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ । केही भक्तजन भाकल अनुसार घरबाट साँझ र बिहान घर्सिंदै (दण्ड प्रणाम) नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नाँच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् । सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले पनि वैज्ञानिक दृष्टिकोणले यसको महत्व निकै रहेको छ ।

कात्तिक शुक्ल चतुर्दर्शीका दिनबाट शुरु हुने छठ पर्व सूर्यको आराधना गरी नेपाल र भारतका विभिन्न क्षेत्रमा मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो एउटा यस्तो चाँड हो जसमा अस्ताउँदै गरेको सूर्यको साथै उदाउँदै गरेको सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तीलाई सबैले ढोग्छन्, सम्मान गर्छन् । तर, डुब्न लागेको घाम यानी गरीब तथा बेसाहारालाई कसैले हेर्दैनन् । तर, यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीहरूलाई समानरूपमा प्रकाश दिन्छ त्यसैले सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ । वर्षको दुई पटक चैत र कात्तिक महिनामा धुमधामका साथ मनाइने यस पर्वमा चोखो र शुद्धाशुद्धिमा अत्यन्तै ध्यान दिइन्छ । विधि विधान अनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । सम्पूर्ण प्राणीलाई बिना कुनै भेदभाद समान शक्ति, ताप र किरण दिने समानताको प्रतिक सूर्यको यसै महिमालाई आत्मसाथ गर्दै सूर्यको पूजा–प्रार्थना र आराधना तन, मन लगाएर चार दिनसम्म गरिन्छ ।

छठको पहिलो दिन (कात्तिक शुक्ल चतुदर्शी)

कात्तिक शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । दशैं र तिहार लगतै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नहान खान (नहाए खाए) भन्दछन् । बिहानैै उठेर हात खुट्टाको नङ काट्छन र चोखो पानीले नुहाई–धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । भनिन्छ, यस दिनमा ब्रतालुहरूले प्रण गर्दछन् ‘म अब जथाभावी खाँदिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’

छठको दोस्रो दिन (कात्तिक शुक्ल पञ्चमी)

विधिवत् रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सख्खरको खिर, लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एकछाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात् अघिल्लो दिनमा दिनभरि पानी समेत नपिई निराहार व्रत बस्नुको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिन (कार्तिक शुक्ल षष्ठी)

छठको तेस्रो दिन अर्थात् छठ पर्व । यस दिनमा व्रतालुहरू पानी समेत नपिई निराहार बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन् । प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउँदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजनकिर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झंै सिंगारिएको हुन्छ ।

छठको चौथो दिन (कात्तिक शुक्ल सप्तमी)

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफुल र मिठाई जस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्दछन् ।

(चौधरी छठ समाज सेवा समिति बिर्तामोडका निवर्तमान अध्यक्ष हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here