दशैं, तिहार, छठ गोजी रित्तियो कि भरियो ?

२७ कार्तिक २०७८, शनिबार मा प्रकाशित

दशैं, तिहार, छठ यी चाडहरुले आम नेपालीहरुबीच एकता र सद्भावको सन्देश दिएर वर्षदिनका लागि बिदा भएका छन् । साथसाथै यी चाडहरु एक अर्थतन्त्र पनि हुन् । कसैसँग भएको रुपैयाँ कसै कहाँ पुगे भने अरु कसैसँग भएका रुपैयाँ आपूmसँग आए । चाडहरु एक यस्तो इकोसिस्टम हो कि यिनले जनता र देशको आर्थिक जीवनचक्र चलायमान, स्थिर र सुचारु बनाइ राख्दछन् ।

चाडहरुले गोजी रित्तियो कि भरियो ? सजिलो गरी बुझ्नका लागि यो पंक्तिकार आफ्नै घरपरिवारको उदाहरण दिन्छ । वास्तवमा हामीसँग यी चाडहरु मनाउन साथमा रकम थिएन । भएको थोरैतिनो आम्दानीहरु नानीको स्कूल शुल्क, वित्तीय संस्थामा किस्ता, किराना पसलमा तिरोतारो, परपाहुना सत्कार, यात्रा, दवाइ–पानी गर्दै सकिएको थियो । चाड आइ त गयो, अब कसरी मनाउने ? हाम्रो दिमाग रन्थनियो, सन्न भयो, तालु सुके, तातिए, केही सुझबुझ आएन । रातहरुमा राम्ररी निन्द्रा परेनन् । घटस्थापनाबाटै शुरु भयो चाड खर्च । भएका झारझुर रकम पनि सकिए । लु अब त ज्वरो नै आउन लाग्यो । सीटामोल किन्ने पैसा पनि रहेनन् साथमा । कोही पाहुना अचानक आए चिसो पियाउने कसरी ?
चमत्कारिक रुपमा निस्कियो उपाय ? ठूलो साँझमा बत्तीको उज्यालोमा घरमा टी–टेबलमा देख्छु त नोटहरु बेरिएको पैसाको एक स्यानो बिटो । पंक्तिकारको दिमागमा चट्याङ परो । चट्याङले कान थुनिएर डम्म भयो । आँखा पनि तिरिमिरि भयो । भुइँमा थचक्कै भएछु । बिस्तारै सामान्य अवस्थामा आइयो । अनि मन असाध्यै खुशी भयो । अब चाड मजैले मनाइने भइयो भनेर । तर, गृहिणीजीको मुहार हेर्ने आँट आएन । डराउँदै लुत्रुक्क परेर त्यो बटारिएका पैसाको बिटो बेला–बेला हेर्दै बसिरहेँ । गृहिणी आइन् । म भुत देखेर तर्सिए जस्तो तरङ्ग तर्सिएँ ।

संस्कृति

‘लोग्ने मान्छे भएर चाड मान्ने पैसा जोहो गर्नु छैन । खाली खायो बस्यो, सुत्यो, डुल्यो, त्यही ठेउको ल्याप्टोमा के–के ट्याक–ट्याक गर्न जान्या छ त्यति हो ।’ वश यही कुराको त थियो मलाई डर, गृहिणीको भनाइ खाइने भो भनेर । गृहिणीले धेरै लेक्चर छाँटिन् । अरु सुन्न आँट आएन । मन शान्त पार्न घर बाहिर निस्किएर अँध्यारोमा इभिनिङ्ग वाकमा निस्किइयो । वाकबाट घर वापस आउँदासम्ममा गृहिणीजीको पारो सेलाइ सक्ला कि त ! वाकबाट घर आइपुग्छु त भान्छामा प्रेसर कुकर खुशी हुँदै अरुबेलाभन्दा बढी नै छुस्छुस् छुस्स र छाँइछाँइ छुँइछुँइ गरेर सिटी लाउँदो छ । यो मनुवाको नाकमा चिची पाकेको हरर वास्ना भरिएपछि त खुशीको सीमा नै रहेन । किनकि घरमा चिचीमामको व्यवस्था हुनुले धेरै कुराको अर्थ दिँदै थियो । अरुभन्दा पनि मैले गाली खान नपर्ने भो भनेर ढुक्क भएँ ।

दशैंको किनमेल : दशैंको कपडा किनियो, तर पैसा थोरै भएकाले कसैले पनि पूरा–पूरा सेट पाएनन् । जेठो छोराले आफ्नो लागि स्वयम् जोहो गरेछ । कान्छो छोराले टिसर्ट र जुत्ता पायो पेन्ट पाएन । गृहिणीले चोली पाइन सारी र जुत्ता पाइनन् । पुरानै सारीले पुरानै जुत्तालाई छोपी त हाल्ला नि भनेर । यो मनुवाले पेन्ट पायो सर्ट र जुत्ता चाहिँ पुरानै ले काम चलाउनुपर्ने रे ।

अब रह्यो कोशेली पात : कतिपयले हामी कहाँ टीका थाप्न आउँदा कोशेली ल्याए । त्यही कोशेली हामीले पनि मान्यजन कहाँ लिएर गयौँ । हाम्रोमा टीका थाप्न आउनेलाई हामीले दणिक्षा दियौं । तर, हामी पनि मान्यजन कहाँ टीका थाप्न गएसी दक्षिणा पाइहालियो । त्यो पनि केही बढी नै । अष्टमी, नवमी र दशमीका दिन पूजा गरी काटेका बोका र खसीका मासुहरु नातेदारहरुबाट सित्तै प्राप्त भएसी मासुमङ्सले भान्छा गुल्जार भइहाल्यो । यसरी दशैं मनाइयो । कतिपय छाक अरुलाई खुवाइयो त कतिपय छाक अरुकहाँ खाइयो । सापो नापो बराबर ।

तिहारमा पनि कोशेली, उपहार र दक्षिणा चेली माइतीबीच विनिमय भई घाटा–नाफा बराबर भइहाल्यो । त्यसमाथि हप्तादिन पुग्ने सेल रोटी र खित्रिङ–मित्रिङ मसला पनि निकै संकलन भए छन् । अझै पनि कुटुकुटु खाँइदो छ । छठमा पनि वस्तु र पैसा विनिमय भए । छठ् पूजाका लागि आपूmसँग नभएका सामान किनिए र आपूmसँग भएका सामान बेचिए । छठको प्रसाद ठेकुवा अझै टोक्दैछौं ।

खुशी र आशु : यी चाडहरुमा कतिपय परिवारमा हदैसम्म खुशी छाए होलान् । कतिपय परिवारमा आँशु पनि छचल्किए होलान् । तर, खर्च र आम्दानी बराबर भए होलान् । हुन सक्छ कतिको चाहिँ गोजी रित्तिए होलान् त कतिको गोजी भरिए पनि होलान् । हरेक घरमा यस्तै परिस्थिति सृजना भए होलान् । बडा घरका बढै परिस्थिति, साना घरका सानै परिस्थिति । पीर, मर्का, हुनु, नुहुनु, अभाव, छेलोखेलो आदि गच्छे अनुसार सबैका हुन्छन् नै । यस्तै कथाहरु धेरै धेरै परिवारका पनि भए होलान् । वास्तवमा यही त हो चाडहरुको अर्थ, सन्देश, मीठास र कथा ।
चाडपर्वले ऊर्जा भर्दछ ः लौ चाडले गोजी रित्यायो रे तर, तपाईमा एउटा अचम्मको उत्साह, जाँगर र उर्जा चाडहरुले अबश्य भरिदिन्छ । तपाईको रित्तिएको गोजी भर्न तपाई रमाउँदै काम गर्न थाल्नुहुन्छ । अनि त बिस्तारै तपाइको गोजी भरिँदै आउँछन् । अनि केको पीर चाडवाडहरु प्रति । हाम्रो घरकी गृहिणीले कसैसँग काडेको ऋण तिर्न अब म पनि कुनै काममा रमाउँदै निस्कन्छु र पैसा कमाउँछु ।

के चाडको जात र धर्म हुन्छ ? कतिपय मानिस, समूह या अभियन्ताहरुले चाडलाई जात र धर्मसँग जोड्दछन् । हार र जीतको प्रसंग निकाल्दछन् । तर, कुनै खास प्रमाणहरु पाइँदैनन् । भूतकालको कुरा अनुमान त हुन् । हामीले यो कुरा स्वीकार्नु पर्दछ कि, कुनै पनि चाडहरुले मानिसहरुलाई नजिक ल्याउने, एकापसमा सद्भाव कायम गर्ने गर्दछ । चाड एक अर्थतन्त्र भएकाले सबै जातजातिले चाडका माध्यमबाट केही न केही आम्दानी गर्दछन् । कुनै पनि जातको मानिसको पसलमा कुनै पनि जातको ग्राहक आउँदछन् । सामान र पैसा विनिमय हुन्छन् । सबैलाई लाभ नै हुन्छन् । अनि कुनै पनि जातका मानिसले कुनै पनि जातका मानिसलाई सेवा दिइरहेका हुन्छन् । यसरी बुझ्यौँ भने सबैलाई सहज हुन्छ । त्यसैले चाडपर्वलाई जात र धर्मसँग नजोडौं र नेपालका सबै चाडपर्व सबै नेपालीको साझा संस्कृति हो भनौ अनि धुमधामसँग मनाऔँ ।

गुनासो र मनन् : धेरै गुनासा छताछुल्ल भएका पाइन्छन् । गुनासो सुन्ने पक्षले गुनासाभित्रका मर्म मनन् गरी सम्बोधन गरिदिनुले सबैलाई सजिलो हुन्छ । स्वभाविक कै हो मानवहरु आफ्नै पक्षको मात्र कुरा गर्दछन्, तर यसरी पनि त हुन्न । नेपालीहरु एक हुनुपर्दछ । कहीँकतै समय परिस्थिति अनुसार कमवेश त स्वभाविकै हो भन्ने कुरा पनि स्वीकार्नु पर्दछ । तर, मिलन विन्दुहरु खोजिनु पर्दछ । हुन सक्छन् मिलन विन्दु नभेटिन पनि सक्छन् । यसो भन्दैमा मन सानो पार्नु हुन्न । सहनशील, धैर्यवान र क्षमाशील बनौँ । यही नै हो महानता । कोही मुर्ख हुन्छन् त के गर्नु । नेपाली उखानै छ नि, मुर्खताको ओखती हुन्न ।

चाडहरु विकासको एक पाटो : यसरी हेरेमा सजिलो हुन्छ । भिन्न दृष्टिकोणले हेरे जेपनि बाङ्गो देखिन्छ । आजको शिक्षित र सभ्य जमानामा हामीले हाम्रो जीवन, समाज, देश र संसार सौहार्द, सजिलो र एकतापूर्ण बनाउनु पर्दछ । चाडहरुले यस्तो वातावरण बनाउन मद्दत गर्दछन् । यस्तो माहौलले देशको विकास गर्न मार्ग प्रसस्त गर्दछन् ।

चाडपर्व एक अर्थतन्त्र : चाडवाडमा सेवा, वस्तुहरु र पैसाहरु विनिमय हुनुले देशलाई कर प्राप्त हुन्छ । देशलाई कर प्राप्त भएपछि देश समृद्ध बन्छ । देशको पैसा आखिर जनताबीचमै आउने हुन् । त्यसैले देशमा रहेका सबै चाडहरु सबैले मनाऔं र देश र जनताको अर्थतन्त्र गतिशील र बलियो बनाऔँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here