चियाका बोटहरुसँग कुस्ती खेल्नेहरु

२७ कार्तिक २०७८, शनिबार मा प्रकाशित

ढाडमा टोक्री थाप्लोमा नाम्लो बोकेर चियाका मुनाहरुसँग औलाहरुलाई नचाउनुछ । नाँचिरहेका औंलाहरुबाट तानिएका मुनाहरुले टोक्री भर्नुछ । कहिले वल्लो छेउबाट पल्लो छेऊ, त कहिले समतलबाट भिर उक्लदै चियाका बोटहरुमा कलिला मुनाहरु खोज्नु छ । नाम्लोको भरमा थाप्लोमा समाई पछाडि ढाडमा अडिएको टोक्रीलाई पनि जतनले बोक्नु छ । बिहान ८ बजेको अलारामसँगै बेलुकी ४ बजेसम्म यसरी नै चिया बगानभित्र परिश्रमको पसिना बगाउनु छ ।

बर्खे झरिमा गमबुट लगाएर आफैले सिएको प्लास्टिक र झुटको बोराको बेर्ना बेर्छौं । कम्पनीले दिएको एउटा तिर्पालले अलिकति कम्मरमुनिको भाग ढाकेर आफैले बनाएको प्लाष्टिकको ओक्पा (घुम जस्तै ओढ्ने) ओढेर पस्दिन्छौ चिया बगानभित्र । छुट्दैन टोक्री र नाम्लाको साथ । झरिले रुझाओस् वा चुटोस मतलब छैन । यदि छ त केवल चियाका मुनाहरुले टोक्री भरियोस् । चियाका मुनाहरु प्रसस्तै आउने सिजनमा बिगाले लोभ्याउँछ । मुनाहरु आउने सिजन बिस्तारै कम हुँदै जाँदा ठेक्काले दगुडाउँछ, घोट्याउँछ । ४ बजेको अन्तिम तौलाईमा आफ्नो भागको पत्तीको तौल हेरेर कहिले मुस्कुराउँछौ त कहिले अमिलो मन बनाउँछौ ।

घरमा गाई, बाख्रा, कुखुरा सुङ्गुर पनि होला । घाँस र चारोको जोहोमा झिमिक्कै साझ परिदिन्छ । नाना–बाला, आमा–बाबा भन्दै झुमिँदो हो । उनीहरुलाई पनि समय दिनु नै प¥यो । बुढेसकालको साहाराको लागी मिठो सपना थाकेको शरीरबाट देख्छौ । राम्रो पढाउनु छ, भविष्य राम्रो बनाइदिनुछ यस्तै–यस्तै । र, त थाकेर पनि थाक्दैनौ चियाका बोटहरुसँग कुस्ति खेल्न । त्यही चियाको बोटहरुसँग श्रम साटेर आफ्नो सपनाहरु उहिलै कतै थन्काएर छोराछोरीको सपनाहरु पूरा गर्न लागीपरेऊ ।

हिउदमा पुर्निङ्ग र स्कीपले बल अनि तागतको परीक्षा लिन्छ सिक्कल र छुरी थमाउँदै हातमा । चियाका बट्टाहरु छाट्नु र काट्नु पर्ने ती हतियारले कहिले औला त कहिले नाडीमा चोट बोकेर फिर्छौ । चियाका झ्याउहरुसँगै आफ्नो उमेरका केही पत्रहरु पनि त्यही उखेली छाड्छौ । स्याहार छौ चियाका बोटहरुलाई आफ्नै सन्तान झैं । फेरि मुना पलाउने छ । बिगाको सिजन आउने छ अनि दशैं, तिहार जस्ता चाडबाडलाई पैसा जोहो गर्नुछ । नानीहरुलाई नयाँ लुगा र स्कूलको कापी–कलमको जर्गेना गरिदिनुछ । पहुनापात, इस्टमित्र सबैलाई यही चियाको श्रमले टार्नुछ । बढ्दै गएको महँगी नबढेको ज्यालाले बचतको प्रवेशद्वार नै देख्न पाउँदैन । सहकारी र बंैकले डर र त्रास देखाएर मात्र जान्छ मजदुरलाई ।

चियाँका बोटसँग पसिना र श्रम साट्नेहरु सधैँ साटी नै रहे । उमेरले डाँडापारी पुग्दा पनि मुजा परेका छालाले चियाका बोटहरुलाई स्पर्श गर्न बिर्सेनन् । उमेर र जवानी सबै चियालाई समर्पण गरेकाहरुको मृत्युमा कति चियाका बोटहरु साक्षी बसे होलान् हिसाब छैन । चियाका कलिला मुनाहरु र बोटहरुमा छाडी जानेहरुको याद होला कि नहोला ? अझै पनि चियासँग श्रम साट्नेहरुको दुःख चियाको हरियालीले कतै कुनै कुनामा थन्काइरहेको होला । रमिते र आगन्तुकलाई हरियाली चिया बगानले सेल्फी र फोटोको लागी लोभ्याउँदै गर्दा चिया मजदुरहरु आफ्नै दुःखको भँुमरीमा कतै भाग्यको खुशी पो खोज्दैछ कि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here