बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर शुरु

0
852

बिर्तामोड ।

झापाको बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर शुरु भएको छ ।

बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाको आयोजनामा शुक्रवारदेखि कुकुर वन्ध्याकरण शिविर शुरु भएको हो । नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित गरीएको शिविरको नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा व्यानर तानेर उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले सामुदायिक कुकुरको संख्या नबढोस् भनेर नगरले विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको बताउनुभयो । उहाँले अभियानकै रुपमा यस प्रकारको कार्यक्रमलाई अगाडि बढाइएको बताउनुभयो ।

सामुदायिक कुुकुरलाई सबैले माया गर्नु पर्ने धारणा राख्दै नगरप्रमुख शिवाकोटीले यस पटक २ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले कुकुर वन्ध्याकारणले कुकुरको विकृति कम हुने बताउनुभयो । विगतका वर्षहरुमा नगरमा कुकुरसंग सम्बन्धित मुद्वाहरु समेत आउने गरेको भन्दै अहिले यस प्रकारका समस्या हल हुँदै गएको बताउनु भयो ।

उहाँले जनावरको अधिकार सुरक्षित गर्दै संख्या न्युनिकरणको लागि गरीएको बन्ध्याकरण कार्यक्रम प्रभावकारी देखिएको बताउनु भयो । कार्यक्रममा बोल्दै हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले बिर्तामोडमा पहिलाको तुलनामा अहिले कुकुरको अवस्थामा धेरै फरक आएको बताउनुभयो ।

पहिले विभिन्न रोगले ग्रसित कुकुरहरुको संख्या धेरै हुनेभएपनि बन्ध्याकरणकाकारण यो समस्या क्रमश कम हुँदै गएको बताउनु भयो । बिर्तामोड नगरपालिकाले यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिएको भन्दै प्रशंसा समेत गर्नु भयो । उहाँले कुकुरको संख्या नियन्त्रणका लागि बन्ध्याकरण बाहेक कुनै पनि विकल्प नरहेको पनि बताउनु भयो । शिविरमा ल्याइएका सबै कुकुरहरुलाई बन्ध्याकरणसंगै रेविजको खोप लगाएर समुदायमा छोड्ने उहाँले जानकारी दिनुभयो ।

शिविर उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल,वडा नम्बर ७ की कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको प्राविधिक सहयोगमा शुरु गरीएको यस शिविरमा नगरका सबै वडामा पुगेर सामुदायिक कुकुरहरु समातेर ल्याउने र बन्ध्याकरण गर्ने कार्यलाई अघि बढाइएको पशुपंक्षि तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

पशुपंक्षि तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७८–७९को स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरीएको भन्दै शाखाकी प्रमुख सावित्रा कुमारी दाहालले सामुदायिक कुकुर समात्न नगरका सबै वडामा आउने प्राविधिक टिमलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । शिविर मंसिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here