मानापाथी हिमालबाट हिउँ पोखिए अनि उसैगरी हाम्रा जीउने आशाहरु पनि पोखिए

४ मंसिर २०७८, शनिबार मा प्रकाशित

मुस्ताङमा अवस्थित मानापाथी हिमालका हिउँ केही दिनअघि पोखिए । माना र पाथीबाट अन्न पोखिए जसरी सेताम्य हिउँहरु सेता सेता सुन्दर बादल उडाउँदै पोखिए । अनि मानापाथी हिमालको शोभा हरायो । कति नरमाइलो भयो । भन्दै थिए मानापाथी हिमालको काखमा रहेका गाउँका बासिन्दाहरु ‘मानापाथी हिमालबाट हिउँ पोखिए अनि उसैगरी हाम्रा जीउने आशाहरु पनि पोखिए ।’

हिमाल र हिउँबाटै विश्वमा नेपालको चिनारी हुने गर्दछ । वर्षेनि लाखौं पर्यटक, पदयात्री र हिमाल आरोही नेपाल आउने गर्दछन् । हिँउ र हिमालको दृष्यवालोकन, हिउँमा लडिबुडि गर्नेदेखि विभिन्न हिमाल आरोहण गर्दछन् । जसबाट नेपाल राष्ट्रलाई थुप्रै विदेशी मुद्रा आर्जन हुने गर्दछन् र धेरै–धेरै नेपालीले उद्यम र रोजगारी पाउने गर्दछन् । हिमाल र हिउँ नेपाल र नेपालीका लागि बरदान हुन् ।

तर, अब हिउँहरु हिमालमा अडिन छाडे । हिउँलाई पहाड या तराई या मानिसका बस्ती या समुद्र मन पर्न थालेको छ । पानी भएर सलल बग्न मन पर्न थालेको छ । यो मन पराई हिउँ आफ्नै कारणले भने पक्कै होइन । मानिसहरुका गलत क्रियाकलापहरुले गर्दा हिउँ हिमालमा अडिन नसक्ने भएका हुन् । बासस्थानमा खलल पुगेपछि हिउँहरु आतंकिन हुन थालेका छन् र आत्तिँदै हिमालबाट तलतिर कुद्न थालेका छन् । हिउँले बाँच्नका लागि स्वरुप बदल्न थालेको छ ।

मानिसहरुले जे पनि गतिविधि गरिरहन पाउने अनि हिउँहरुले चाहिँ चुपचाप गजधुम्म परेर सहेर बसिरहनुपर्ने ? अब यो हुन सक्दैन । अब सहन सकिन्न भनेर नै हिउँहरुले विद्रोह शुरु गरेका हुन् । अनि वर्षेनि हिउँहरु मन चाहिँ पग्लेर बग्न, पहिरो बनेर, पानी बनेर गड्गडाउँदै ओरालो झर्न थालेका हुन् ।

जलवायु परिवर्तनले हिउ पोखिए : जानकारहरुले मुस्ताङको मानापाथी हिमालबाट पोखिएको हिमपहिरो प्रकृति हेर्दा जलवायु परिवर्तनका कारणले गएको हुनसक्ने अनुमान लगाएका छन् । अध्ययनहरुले, हिमआँधी या तीव्र हावा, धेरै हिमपात, कमजोर ठाउँ हिमपहिरोका कारण रहेका बताएका छन् । तर, मानापाथी हिमालबाट खसेको हिमपहिरो शान्त अवस्थामै खसेको छ । यसले के जनाउँदछ भने बरु जलवायु परिवर्तन भई तापमान बढेर हिउँ खुकुलो भएर अडिन नसक्दा हिमपहिरो गएको देखिन्छ । खासगरी पृथ्वीको तापमान बढेमा हिमपहिरो कुनै पनि बेला जान सक्ने देखिएको छ । नेपालमा पछिल्लो एक शताब्दीको अवधिमा ६० वटा ठूला हिमपहिरो गएको पाइएको छ । अध्ययनहरुले पृथ्वीको तापमान बढेर पछिल्ला दशकहरुमा हिमपहिरोको जोखिम बढेको निष्कर्ष देखाएका छन् । जलवायु परिवर्तन र पृथ्वीको तापमान वृद्धि कार्बन उत्सर्जनले हुने गर्दछन् ।

व्यक्तिले कति कार्वन उत्सर्जन गर्दछन् ?

वल्डोमिटरले सन् २०१६ मा उल्लेख गरे अनुसार भारतमा प्रति व्यक्ति वार्षिक १.९१ टन, अमेरिकामा १५.५२ टन, रुसमा ११.४ टन, क्यानाडामा १८.५८, अष्टे«लियामा १७.१०, युनाइटेड अरब इमिरेट्समा २३.३७, चीनमा ७.३८ र नेपालमा ०.२९ टन प्रति व्यक्ति कार्बन उत्सर्जनदर रहेको छ । यसको अर्थ मानिसले आपूmबाट वातावरण, पर्यावरण या जलवायु बिगार्ने तत्व धेरै नै निकाल्दा रहेछन् । जसले गर्दा पृथ्वीको तापमान तीव्ररुपमा बढिरहेको छ र मानिसहरुले प्राकृतिक विपद् भोग्नु परिरहेको छ ।

मानिसहरुले कसरी पृथ्वीको तापमान बढाइरहेका छन् ? अन्न र फलपूmल उब्जाउन, खेतीपाती गर्न, खेतबारी मलिलो पार्न गाईवस्तुका मल र रसायन हाल्छौं । खेतमा पानी पटाएर हिलाम्य पार्छौं । झारपात, अन्नका अवशेषहरु कुहाँउछौँ । सुख्खा मौसममा पराल, स्याउला जलाउँछौँ । खोरिया र वनमा डढेलो लगाउँछौँ । खाना पकाउन दाउरा, मट्टीतेल, ग्यास र हिटर बाल्छौँ । रेफ्रिजिरेटर, एयरकन्डिसन चलाउँछौँ । शहर बजारमा उपभोग्य सामानहरुका खोलहरु, प्लाष्टिक, थर्मकोल र कुटहरु जलाउँछौँ । होटल, अस्पताल, वर्कसपहरुका फोहर फाल्छौँ । ठूला शहरका व्यापक फोहर ल्याण्डफिल्ड साईटमा जलाउँछौँ, कुहाउँछौँ । यात्रा गर्दा विभिन्न किसिमका सवारीसाधन र हवाईजहाज प्रयोग गर्छौं । सामान ओसार्न ट्याक्टर, ट्रक, लरी आदि प्रयोग गछौँ । खेत जोत्न ट्याक्टर, अन्न उठाउन मेसिन प्रयोग गर्छौं । समुद्रमा जहाजमा इन्धन प्रयोग गर्दछौँ । रकेट, मिसाइल, बन्दुक, युद्धक विमानदेखि धेरै युद्धक हतियार परीक्षण गर्दछौँ । युद्ध गर्दछौँ । विभिन्न चाड, उत्सवमा आतसबाजी गर्दछौँ । यी सब गतिबिधिले जलवायु परिवर्तन गर्ने पृथ्वी तताउने तत्व उत्सर्जन हुने गर्दछन् ।

जति विकास उति नै बिनास ः औद्योगिक कार्यका लागि ऊर्जा या इन्धनको रुपमा कोइला, डिजेल, ग्यास आदि प्रयोग हुन्छन् । उद्योगहरुले थुप्रै केमिकल र फोहर यत्रतत्र फ्याँक्दछन् । विद्युत उत्पादनका लागि पनि कोइला र डिजेल प्रयोग हुने गर्दछन् । राजमार्ग, पुल, बाँध आदि निर्माण र खानीमा भारीभरकम डोजरहरु चलाइन्छन्, बिस्फोट गरिन्छन् । यी सब गतिविधिले धेरै रुख काटिन्छन् । मौजुदा राम्रो वातावरण बिग्रिरहेका हुन्छन् । त्यस्तै गरि विद्युतीय या इलेक्ट्रोनिक्स सामान, उपकरण उत्पादन, तिनको प्रयोग र कम्प्युटर, टेलिभिजनसेट, रेडियोसेट, मोबाइलसेट, मोटर लगायत कुनै पनि सामानमा प्रयुक्त हुने माइक्रो चिप उत्पादन प्रक्रिया र प्रयोगले पनि जलवायु परिवर्तन गर्ने तत्व व्यापक मात्रामा उत्सर्जन भइहेका हुन्छन् । यतिमात्र होइन हामीले धेरै क्रियाकलापबाट समुद्र, जमिनदेखि आकाश र अन्तरीक्षसम्म समेतमा प्रदुषण गरिरहेका हुन्छौँ । जसले गर्दा हरदम पृथ्वीको वातावरण, पर्यावरण र जलवायु प्रदुषण भइरहेको हुन्छ । अनि पृथ्वी तात्ने क्रम बढिरहेको हुन्छ ।

जलवायु परिवर्तन रोक्ने विश्वको उद्घोष ः केही हप्ताअघि ग्लासगोमा सम्पन्न जलवायु परिवर्तन शिखर सम्मेलन (कोप २६)मा सहभागी अधिकांश देशहरुले सन् २०५० सम्ममा कार्बन उत्सर्जन कार्यलाई नेट जिरोमा झार्ने प्रतिबद्धता जनाएका छन् । तर, भारतले भने सन् २०७० सम्ममा मात्र सो लक्ष्य प्राप्त गर्ने योजना सुनाएको छ । यसबाट के बुझ्न जरुरी छ भने भारतबाट हुने उच्चदरको कार्बन उत्सर्जनले नजिक भएका कारण नेपालमा धेरै नै असर पर्दछ । त्यस्तै गरी चीनबाट हुने कार्बन उत्सर्जनले पनि नेपालमा त्यतिकै असर पर्ने देखिन्छ । चीनले सन् २०६० सम्ममा कार्बन उत्सर्जन नेट जिरोमा झार्ने लक्ष्य लिएको छ । छिमेकी ठूला देशका कारण पनि नेपालमा हिमपहिरो लगायत जलवायु परिवर्तनले सिर्जना गर्ने थुप्रै प्राकृतिक विपद् निम्तिने देखिन्छ ।

नेट जिरोको अर्थ : कार्बन डाइअक्साइड उत्सर्जन कार्यलाई सम्पूर्णरुपमा खत्तम गर्नु हो । जसले पृथ्वीको वायुमण्डल तातो पार्ने तत्व या ग्यास उत्सर्जन अरु नबडुन् ।

विश्वका दुई ठूला अर्थतन्त्रको प्रतिबद्धता ः हालैमात्र सम्पन्न भएको अमेरिका र चीनका राष्ट्रपतिबीचको भर्चुअल वार्ताका क्रममा दुबै नेताले क्लाइमेट चेन्ज सम्बन्धमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । यो, विश्व समुदायका लागि निकै सुखद् समाचार हो ।

जलवायु परिवर्तन र पृथ्वीको बढ्दो तापक्रम रोक्ने उपाय :

कार्बन उत्सर्जन गर्ने कुनै पनि क्रियाकलाप, प्रक्रिया निश्चित मात्रामा घटाउनुका साथै नवीकरणीय ऊर्जा प्रणाली विकास र प्रयोग बढाउनु पर्दछ । व्यापक मात्रामा जंगल, रुखहरु संरक्षण गर्नुपर्दछ र व्यापकरुपमा वृक्षरोपण गर्नु पर्दछ । जसले गर्दा जति कार्बन उत्सर्जन हुन्छन् । ती सबै कार्बन हरिया जंगल, रुख बिरुवाले सोस्ने छन् । यस प्रक्रियामा धनी मुलकदेखि गरीब मुलुकसम्मले उत्तिकै व्यवहार परिवर्तन गर्नुपर्दछ ।

व्यक्तिहरुले व्यवहार परिवर्तन गर्नुपर्दछ । तब मात्र प्राकृतिक विपद्बाट मानव जाति जोगिन सक्नेछन् र हामीले हाम्रा सन्ततिलाई सुरक्षित पृथ्वी छाड्न सक्नेछौँ । नत्र त मुस्ताङका जनताले भने जस्तै हाम्रा जीउने आशाहरु हिउँ पोखिए जस्तै पोखिएर जानेछन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here