बैभव

४ मंसिर २०७८, शनिबार मा प्रकाशित

कुनै बेला सम्पत्ति टन्न हुने हो भने त खुब सुख होला भन्ने लागेको थियो । आसाम, भोटाङ, सिक्किम, दार्जीलिङ, पहाड, तराई गर्दै तीन कोरी बर्ष बितेको पत्तै भएन उमेशलाई । आलु, अलैंची, सब्जी व्यापारदेखि ताप्लेजुङमा वस्तुपालन सबै भ्याए उमेशले । झापाको फाँटिलो जमिनको धानखेती रहरलाग्दो बनाएकै हो । सम्पत्ति मनग्ये कमाई भयो । गाउँ र सहर दुबैतिर घरपनी बनाउन भ्याए उनले । छोराछोरीहरु आफ्ना क्षेत्रमा राम्रै गरी खाएर बसेका थिए उनका । घरमा सानो चारचक्के गाडी, दुईचक्के मोटरसाइकल, बयलगाडी, खेत जोत्ने टेक्टर सबैको ब्यवस्था थियो ।

लघु कथा

बिहानै चार नबज्दै निद्राले छोडिहाल्थ्यो । उठेर यता–उता गर्ने, योग प्रणायाम गर्ने गर्दै सात बजेको पत्तै हुन्नथ्यो । मनमा पटक्कै चयन थिएन। त्यत्रो सम्पत्ति, छोराछोरी आआफु ब्यस्त कसैले धेरै चासो र खोजी नगर्ने । एकदिन छिमेकीको घरमा परेको मरिमराउमा गढुर पूराण सुने उनले । छोराछोरी जन्माएर सुख नहुने प्रसङ्ग आयो त्यो दिन । उनको मुटु चसक्क घोच्यो त्यो कुरोले । जीवनभर आध्यात्मिक कुराहरुको खोजी नगरेका उमेश त्यतातिर तानिन थाले । जीवनमा केवल सम्पत्तिको पछि कुदेको मिथ्या प्रतीत हुन थाल्यो उनलाई । सत्सङ्गतर्फ पटक्कै ध्यान नदिने आफ्नो बानी गलत पो रहेछ कि भनेर एउटा प्रश्नले झट्टी हान्यो उनलाई ।

भागदौडमा होइन, स्थिर र शान्त मनमा आनन्द देख्नथाले उनले । उनको मन क्रमशः को साधनापछि स्थिर र शान्त बन्न थाल्यो । शिवपुरी बाबाका एक भक्तले बाबाको प्रसङ्ग कोट्याउँदै भने– ‘सन्सारमा बाहुन्न लात्ती र त्रिपन्न मुक्का नखाई उत्पन्न बैराग्यको अर्थ हँुदैन ।’ यस कुराले उनको चित्त बुझ्यो, यो भनाइ आफ्नै लागि हो भन्ने लाग्यो उनलाई । उनले केही हप्ता ध्यानकेन्द्रमा बिताउने गर्दथे प्रत्येक बर्ष । सन्त रामसागरले एकदिन भने– ‘बाबु, जति बढी मनको गति त्यति कम सुख, जति कम मनको गति त्यति नै बढी सुख ।’

मनको गति र सुखीपन एकआपसमा ब्यूनक्रमानुपातिक सम्बन्धमा गाँजिएर रहेको रहस्य राम्ररी बुझे उनले । उनले सन्सारलाई बाहिरी होइन भित्री आँखाबाट सूक्ष्म निरीक्षण गर्न थाले । उनको आफूभित्रको फराकिला आयामहरु बुझ्न थालेपछि उनमा आत्मिक सुख प्राप्त हुन थाल्यो । बाहिरी धन, सम्पत्ति, गाडी घोडाभन्दा भित्रको निधिले उनलाई अचम्मको शान्ति र आनन्द दिन थाल्यो । बल्ल उनले सुखी बन्ने र आनन्दित हुने बैभव प्राप्त गरेको अनुभव गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here