नेपाली कांग्रेसको आगामी महाधिवेशनका अपेक्षाहरु

६ मंसिर २०७८, सोमबार मा प्रकाशित

२००७ सालमा एक सय चार वर्षे राणा शासनको अन्त्यपछि मुलुकले प्रजातन्त्रको पारिलो घाम महशुस गर्न पाउने अपेक्षा थियो । तर, विशेषतः प्रमुख आन्दोलनकारी शक्ति नेपाली कांग्रेस र दरबारिया शक्तिको बीचमा भएको शक्तिसंघर्षले मुलुक आक्रान्त भयो । २००७ सालदेखि मुलुक संक्रमणबाट गुज्रिनुपरेको थियो । तत्कालिन राजा महेन्द्रले सैनिक कू गरी दुई तिहाइ जनादेश प्राप्त प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको सरकार विघटन गरियो । त्यसकै खरानीको जगमा उभ्याइएको दलविहीन पञ्चायतले २०४६ सालको चैत्रसम्म एकछत्र शासन ग¥यो । एसियाली मापदण्डमा पु¥याउने, गाउँ फर्कने लगायतका मीठा नाराले पनि पञ्चायतलाई बचाउन सकेन । त्यो ३० वर्षे अवधिलाई छोडेर भन्ने हो भने बाँकी अवधि नेपाली कांग्रेस नेपालमा सत्तामै आसिन रहेको छ ।

आधुनिक नेपालको इतिहासमा पटक–पटकका आन्दोलन र संघर्षमा आफ्नो अलग र विशिष्ट भूमिका बनाएको नेपाली कांग्रेसको यही मंसीर महिनाको अन्तिम हप्ता १४औं महाधिवेशनको तयारीमा जुटेको छ । कांग्रेसले मंसीर २४ देखि २६ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । अहिले धमाधम प्रदेश सभा क्षेत्रका अधिवेशन भइरहेका छन् । पटक–पटक विग्रह र विभाजनबाट गुज्रिनु परेको तीतो इतिहास बोकेको नेपाली कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक लोकतन्त्रको अभ्यासमा जुटेको छ ।

नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गरेको र लामो संसदीय अभ्यास गरेको इतिहास छ । कांग्रेसले यतिबेला अल्पकालीन दृष्टिकोण होइन, सुझबुझ पूर्ण दूरदृष्टि लिन आवश्यक छ । समय र सन्दर्भ अनुसार मुलुकका सामु देखा परेका समस्या सम्बन्धमा गम्भीरता लिन नसकेमा नेपाली कांग्रेसको उपादेयता क्रमशः धुमिल हुँदै जान्छ । मुलुकका प्रमुख दुई पार्टीमा आएका बिखराव र विखण्डनले मुलुकको समग्र शक्तिसन्तुलनमा असर पुग्छ र राज्य नै असफलतातर्फ जान सक्छ । नेपाली कांग्रेस आन्तरिक कारणले सबैभन्दा बढी आहत भएको छ । पार्टीभित्रका हरेक गुटले आफ्नो मात्र स्वार्थलाई केन्द्रमा राखेर चल्दा आजको समस्या आएको हो । पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरेर अघि बढेको भए समस्या जटिल बन्दैनथे । कांग्रेसको मुख्य चिन्ताको विषय हो यो । कांग्रेसले सात वटै प्रदेश र केन्द्रमा समन्वयात्मक रुपमा नेतृत्व निर्माण नगरेर पार्टीभित्रको चरम गुटबन्दीको दबाबमा एक पक्षीय संगठन निर्माण भएमा त्यसको दीर्घकालीन प्रभाव पर्दछ । साँच्चै भन्ने हो भने पार्टी इतिहास कै गुटउपगुटको झमेलाबाट गुज्रिरहेको छ । यसले पार्टीलाई बलियो बनाउँछ भनेर भन्न सकिँदैन ।

विगत तीन दशकदेखि सत्तामा वा सत्ताको खेलमा मात्र व्यस्त बनिरहेकाले नेपाली कांग्रेस अलमलिएको छ । पार्टीभित्रको गुटबन्दीको कोही जिम्मेवारी लिन तयार छैन । तर, कांग्रेस गुटबन्दीले पीडित बनेको सबैले स्वीकार गर्छन् । पार्टीभत्रको स्वार्थी समूहलाई विस्थपित नगरी सुधार सम्भव देखिँदैन र वीपी, गणेशमान जस्ता पार्टीका संस्थापक नेताहरुको सपना अनुरुपको कांग्रेस बनाउन सकिन्न भन्ने ठूलो पंक्ति छ कांग्रेसमा, तर स्वार्थी समूह कुन हो भन्नेमा अलग–अलग विचार छ । प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ मा २०५ सिटमा ११४ सिटसहित नेपाली कांग्रेस सत्ताको नेतृत्व गर्न पुगेको थियो र ६९ सिटसहित तत्कालीन नेकपा एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रह्यो । आफ्नो बहुमतको सरकारलाई नेपाली कांग्रेसले छत्तीसे र बहत्तरे बनेर छिन्नभिन्न बनाए र मुलुकलाई अस्थिरताको भुँवरीमा फँस्न अभिषप्त बनाइयो ।

कांग्रेसमा लोकतन्त्र प्रतिको निष्ठा र जनताप्रतिको विश्वास लड्खडाए जस्तो लाग्छ । कांग्रेसको गतिकम्पास हराएको जहाजको जस्तो छ । गुट र उपगुटको महारोगबाट नेपाली कांग्रेस मात्र अर्को मुख्य पार्टी नेकपा एमाले पनि पीडित छ । दुई तिहाइ बहुमत साथ नेकपाले सरकारको नेतृत्व गरिरहेको थियो । तर, पार्टीभित्रको खिचातानी, डाहा र इष्र्याले जलेर सो सरकारलाई ढालियो । केपी ओलीको व्यक्तित्व, स्वीकार्यता र आत्मविश्वासको ओजमा अघि बढिरहेको नेकपा आज तीन टुक्रा भएको छ । सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै जानु राम्रो हो, तर असैद्धान्तिक आधारमा बनेका स्वार्थी गठबन्धन, एकता र मोर्चाको नियति निराशाजनक नै हुन्छ भन्ने नेकपाको विभाजनले देखाएको छ । सबै समस्याको समाधान चुनाव वा संसद्बाट भन्दा राजनीतिक नेतृत्वको आपसी छलफलबाट खोज्ने परम्परा यो बीचमा निकै झाँगिएकै हो । सार्वजनिक विमर्शबाट गायब भएको दलको भविष्य लामो हुन सक्दैन ।

नेपाली कांग्रेसको सदाबहार आरोप छ– कम्युनिष्ट पार्टी अधिनायकवादी, तानाशाही र निरंकुश हो, यसले संसदीय व्यवस्था मान्दैन । नेकपा एमाले त लोकतन्त्रको लागि नेपाली कांग्रेस जस्तै त्याग, तपस्या, जेलनेल सहेको र बहुदलीय व्यवस्थाप्रति प्रतिबद्ध पार्टी हो । कांग्रेसले यो भुत्ते अश्त्रको सहारामा आफ्नो यात्रा अघि बढाउन कोशिस गर्दैछ, जुन प्रत्युत्पादक छ । नेपाली कांग्रेसको नारा ‘राष्ट्र, राट्रिष्यता, प्रजातन्त्र र समाजवाद’ भित्रको समाजवादको नारा बनावटी, फिका र धुमिल लाग्दछ । नाङ्गो रूपमा निजीकरण र उदारीकरणको वकालत गरेर मुलुकमा कसरी समाजवाद स्थापना हुन सक्दछ ? साँच्चै भन्ने हो भने सडक, सदन र अन्य मञ्चहरुमा नेपाली कांग्रेसको भूमिका कमजोर छ । सार्वजनिक विमर्शका धेरै विषयबाट कांग्रेस अनदेखा गर्न चाहन्छ । सार्वजनिक महत्त्वका प्रश्नहरु नसुनेको झैं गर्दछ कांग्रेस ।

सञ्चारमाध्यमले सशक्तरुपमा सबाल उजागर गरेपछि मात्र कांग्रेस आवाज उठाउन शुरु गर्छ । जनता आफूसँग तत्काल सरोकार राख्ने मुद्दामा सरकारले सम्बोधन गरोस् भन्ने चाहन्छन् । तर, सञ्चार क्षेत्र र कनिष्ठ नेताहरुले धेरै घचघच्याएपछि मात्र कांग्रेस केही सुन्छ । कांग्रेस चुकेको छ लोकतन्त्रलाई गतिशील बनाइराख्न । राजनीतिको मूल अभिष्ट जनसेवा तर कांग्रेस सत्ताको छिनाझप्टीमै छ । जनसरोकार सम्बोधनमानिरीह बन्नु र आफ्नै पार्टीभित्र अलमलिनु मुलुकका लागि दुःखद् हो ।

महाधिवेशनको यो पूर्व सन्ध्यामा कांग्रेसले आफ्नो भूमिकामा बारेमा छलफल, बहस र विमर्श चलाउनुपर्ने हो । तर, गुटबन्दीको चरम चपेटामा रुमलिएको छ कांग्रेस । पञ्चमुखीको गठबन्धनको नेतृत्व गरिरहेको अहिले सरकारी आसनमा बसेर नेतृत्वदायी रूपमा वहन गरिरहेको भूमिकालाई सशक्त र परिणाममुखी बनाउन कांग्रेस चुकेको देखिन्छ । तर, अन्य गठबन्धन सहयात्रीको मुख ताक्दा धेरै निर्णय गर्नमा ढिलासुस्ती भएको देखिन्छ । संविधानको मर्म अनुसार प्रतिस्पर्धात्मक राजनीतिको थिति यतिबेला अलमलिएको छ ।

जनताको आरोप छ– दलका गतिविधिका कारण मुलुकमा भ्रष्टाचार मौलाएको र प्रजातान्त्रिक आवरणमा मुलुकमा ब्रम्हलुट चलिरहेकोछ । सरकार गिराउने वा सत्ता प्राप्तिको षडयन्त्रमा संलग्न भएरन कांग्रेसको भविष्य सुरक्षित रहन्छ, न मुलुकको । जनतालाई विकल्प खोज्न दिनुपर्छ, तर कम्तीमा पनि जनादेश र मतादेशलाई शिरोपर गरे तोकिएको अवधिसम्म जीतेको दललाई सरकार चलाउन दिनुपर्छ । सरकारमा बसेर जनविरोधी काम गर्नेलाई अर्को चुनावमा जनताले दण्डित गर्छन् । यसो गर्न सकेमा मात्र नेपालमा अब राजनीतिक स्थायित्वको क्रम शुरु हुन सक्छ । आजको नियतिबाट कांग्रेस मुक्त भएमा मात्र मुलुकमा सकारात्मक प्रभाव पर्दछ ।

अब नेपाली कांग्रेसले पार्टीभित्रका चरम गुटउपगुटको स्वार्थी सञ्जालको जञ्जालबाट मुक्त भएर जनभावना अनुरूप जनअभिमत प्राप्त गर्न कोशिस गर्नुपर्छ । मुलुकमा अमनचैन, लोकतन्त्र र स्वतन्त्रताको रक्षा र समुन्नति मुलुकका अपेक्षा हुन्, यसका लागि सबै आग्रहबाट मुक्त भएर २१औं शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टी बनेर नेपाली कांग्रेसले मुलुकमा स्वस्थ प्रतिष्पर्धात्मक वातावरण निर्माण गरोस् भन्ने चाहन्छन् र यो महाधिवेशनले यही दिशामा अघि बढ्न दिशानिर्देशन गरोस् भन्ने नेपाली जनताको अपेक्षा रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here