सन्थाली वर्णमाला लोकार्पण

६ मंसिर २०७८, सोमबार मा प्रकाशित

झापा ।

लोपोन्मुख जाति तथा समुदायलाई माथि उठाउन सबै क्षेत्रको समर्थन र सहयोग चाहिने पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गिरीराजमणि पोखरेलले बताएका छन् ।जनजाति आदिबासीका भाषा र समुदायलाई सहयोग गर्दै उनीहरुलाई समावेशी र समानुपातिक आधारमा संस्थागत गर्नुपर्नेमा पोखरेलले जोड दिए ।

उनले देशमा ५९ आदिबासीहरुलाई संविधानमा सूचीकृत गरेको बताउँदै सन्थाल जाति ५४ नम्बरमा सूचीकृत रहेको जानकारी दिए । सन्थाल जाति प्रकृतिप्रेमी, इमान्दार र आफंै मेहनत गर्ने भएको समेत उल्लेख गरे ।

बिर्तामोडमा आइतबार आयोजित सन्थाली वर्णमाला पुस्तक लोकार्पण समारोहमा प्रमुख अतिथि रहेका नेता पोखरेलले सो कुरा बताएका हुन् । झापाका शिवु मुर्मूले कक्षा–१को पुस्तकलाई ‘ओलचिकी’ लिपिमा लेखेका हुन् ।

आदर्श सामुदायिक क्याम्पसमा वीवीएस तेस्रो बर्षमा अध्ययनरत् शिवुले ४ बर्ष लगाएर पुस्तक तयार गरेको बताए । उनका अनुसार पुस्तकमा स्वरवर्ण ५, ब्यञ्जन २४ र बिशेषाङ्क ५ गरेर ३५ बर्ण रहेको छ । उनले अनलाइन कक्षाबाट सिकेर उक्त पुस्तक लेखेको बताए ।

२०६६ सालमा हल्दिबारी–२ स्थित राष्ट्रिय एकता प्राविमा ४७ जना बिद्यार्थीबाट कक्षा १ र २मा सन्थाली भाषा अध्ययन गराइएको तर कक्षा–३ देखिमाथिको पुस्तक उपलब्ध नभएकाले सन्थाली भाषामा अध्यापन बन्द भएको बताए ।

नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाको आयोजना तथा सन्थाल जाति उत्थान सेवा समाज झापा तथा रिलोमाला सन्थाली आख्या नेपाल मोरङको सहआयोजनामा लोकार्पण समारोह भएको हो । तीन वटै संघ÷संगठनले पुस्तक प्रकाशनमा सहयोग गरेको बताइएको छ ।

नेपाल सन्थाल आदिबासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संविधानसभा सदस्य मोहन टुडूले गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य, नेकपा माओबादी केन्द्र प्रदेश १ सह–इञ्चार्ज तथा झापा इञ्चार्ज धर्मशीला चापागाँई, प्रदेशसभा सदस्य तथा पार्टीका झापा सह–इञ्चार्ज झलकसिंह दलार्मीलगायतले शुभकामना मन्तव्य राख्दै आफूहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन नेपाल सन्थाल आदिबासी उत्थान संघ झापाका सचिव कुन्दन मुर्मूले गरेका थिए ।

झापा, मोरङ र सुनसरीमा बाहुल्यता रहेको सन्थाल समुदाय २०६८को जनगणना अनुसार ५१ हजार ७ सय ३५ जना रहेको जनाइएको छ । कार्यक्रममा नेकपा माओबादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ, पार्टीका प्रदेश सदस्य ज्योतिसिंह दर्लामीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here