पथरीशनिश्चरेमा एक करोड १३ लाखको बाख्रा पालन कार्यक्रम

७ मंसिर २०७८, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

विश्व बैंकको सहयोगमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाले मोरङको पथरी शनिश्चरे बडा नं- २ मा सञ्चालन गर्ने भएको छ।

उक्त कुरा उन्नत वाख्रा पालन व्यवसाय सम्बन्धी आज सोमबार प्रथम सार्वजनिक सुनुवाई कार्यक्रममा जनाईएको हो। वडा नम्बर २ र ३ का कृषकहरुको सहभागिता रहेको सो कार्यक्रममा ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, इनोभेसन योजनाका पशुसेवा सामाजिक परिचालक चुडामणि वस्नेत, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडका पथरी शाखा प्रवन्धक कुवेर दहाल, हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर, कृषक रुपमान आङथुपोले मन्तव्य व्यक्त गर्दै खसी बाख्रा व्यवसायले नगरलाई चिनाउने अभियानमा लाग्न उत्प्रेरित गर्नुभयो ।

इनोभेसन आयोजना तथा पशुपंक्षी व्यवसायको विकासमा प्राविधिक सहयोग पुर्याउँदै आउनुहुने नगरका पशुपंक्षी शाखा प्रमुख दहाललाई सम्मानपत्रले सम्मान गरिएको थियो । पूर्वी मोरङ बाख्रा पालक कृषक समूहका लागि सञ्चालन हुने उपआयोजनामार्फत खोर र कम्पोष्ट पिठ निर्माणका अतिरिक्त बाख्रा, बोका एवम मेसिनरी सामग्री, घाँस र दाना खरिद गरिने छ । जसबाट उन्नत खसीको मासु तथा पाठापाठी उत्पादन गरि कृषकलाई व्यवसायिक वनाइने लक्ष्य रहेको समूह अध्यक्ष प्रेमा श्रेष्ठले बताउनु भयो ।

हाल समूहमा ६ महिला र ४ पुरुष गरी १० जना कृषक आवद्ध रहनु भएको छ । विश्व बैंकको ५६ लाख ५१ हजार (५० प्रतिशत), गुहेश्वरी मर्चेन्ट बैंकको ३४ लाख ( ३० प्रतिशत) र समूहको २२ लाख ५१ हजार ९ सय ५० ( २० प्रतिशत) गरी १ करोड १३ लाख ३ हजार ९ सय रुपैयाँको कार्यक्रम स्वीकृत भएको छ ।

पशुपंक्षी शाखा प्रमुख दहाल र इनोभेसन आयोजनाका सामाजिक परिचालक बस्नेतले आजै अनुगमन गर्दै इनोभेसन आयोजनाको सहयोगमा वडा नम्बर २ स्थित चिनारी सहकारीले प्राप्त गरेको दुध चिस्याउने चिलिङ भ्याट मेसिनलाई सहि तवरले अविलम्व उपयोग गर्न समेत सूचित गराउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here