कट्टेल समूहको उपसभापतिमा गिरी र सचिवमा लिङ्देन

८ मंसिर २०७८, बुधबार मा प्रकाशित

झापा ।

नेपाली कांग्रसको १४औं महाधिवेशन अन्तरगत झापा जिल्ला सभापति पदका उम्मेदवार राम कट्टेलले उपसभापति र सचिव पदका उम्मेदवारको समेत नाम सार्वजनिक गरेका छन् ।

मंगलवार बिर्तामोडमा राम कट्टेल जिताऔं अभियानको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमकाबीच सभापति पदका उम्मेदवार कट्टेलले उपसभापति पदमा केदरशम्शेर गिरी र सचिव पदमा विश्वदीप लिङ्देनको नाम सार्वजनिक गरेका हुन् । उपसभापति पदका उम्मेदवार बनेका गिरी जनआन्दोलका सहिद राजन गिरीका पिता हुन् । उनी अर्जुनधारा नगरपालिकाका स्थायी वासिन्दा हुन् ।

सचिव पदका उम्मेदवार लिङ्देन दमक निवासी हुन् । उनले यसअघि संविधानसभाको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए । आफ्ना टिमको उम्मेदवारहरुको नाम सार्वजनिक गर्दै सभापति पदका उम्मेदवार कट्टेलले आसन्न निर्वाचनमा राम कट्टेल एक्लैले जित हासिल गर्ने नभई परिवर्तनका पक्षमा उभिने सबै कांग्रेसका नेता तथा कार्यकर्ताले जित हासिल गर्ने धारणा राखे । पार्टीलाई गुट भन्दामाथि उठाएर लैजाने प्रतिबद्धता जनाएका उनले आफू पार्टी सभापति पदमा निर्वाचित भएको खण्डमा पार्टीको गरिमालाई समेत उच्च राख्दै लाने बताएका छन् ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले स्वच्छ छविका शालिन नेता राम कट्टेललाई जिताउन आग्रह गरे । उनले अब युवाले राजनीतिमा परिवर्तन चाहेकाले परिवर्तन जरुरी रहेको धारणा राखेका थिए । पार्टी सचिव तारवीर कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री वीरमणि ढकाल, गोपालकुमार बस्नेत, उषा गुरुङ लगायतले बोलेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here