एकैदिन चारवटा स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

८ मंसिर २०७८, बुधबार मा प्रकाशित

भद्रपुर ।

भद्रपुरमा एकैदिन चार वटा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले भद्रपुर वडा नम्बर ४, ६, ७ र १० मा निर्मित स्वास्थ्य सेवा केन्द्रको आइतबार छुट्टाछुट्टै कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । प्रदेश सरकारको आर्थिक सहयोग र भद्रपुर नगरपालिकाको व्यवस्थापनमा विभिन्न दाताहरूले निःशुल्क उपलब्ध गराएको जग्गामा स्वास्थ्य केन्द्र निर्माण गरिएको छ ।

भद्रपुर नगरपालिकाका इञ्जिनियर योगेन्द्र रञ्जितकारका अनुसार, वडा ४मा २२ लाख ९१ हजार ३ सय ५७ रुपैयाँ, वडा ६मा ३३ लाख ५४ हजार ४ सय ८४ रुपैयाँ, वडा ७मा २२ लाख ५२ हजार ७५३ र वडा १०मा ३२ लाख ३ हजार ३ सय ६६ रुपैयाँको लागतमा तीन कोठा र एउटा शौचालयसहितको एक तले पक्की भवन निर्माण गरिएको हो ।

७ सय वर्गफिटको स्वास्थ्य केन्द्रमा बरन्डा र फरक क्षमता भएकाहरूका लागि व्हील चेयर जान सक्ने गरी डिजाइन गरेर निर्माण गरिएको इञ्जिनियर रञ्जितकारले बताए ।

स्वास्थ्य सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्बन्धित वडाध्यक्षहरूको सभापतित्वमा सम्पन्न भएको थियो । ७ नम्बर वडाध्यक्ष विनोदप्रसाद पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा जग्गादाता फूलसिंह राजवंशी र उनका सुपुत्र विकास राजवंशीलाई सम्मान गरिएको थियो । दाता राजवंशीले स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि २० लाख मूल्यपर्ने एक कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।

कार्यक्रममा नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, वडाध्यक्षहरू, कर्मचारी, जग्गादाता लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here