समतामूलक समाजको आवश्यकता

९ मंसिर २०७८, बिहीबार मा प्रकाशित

अंग्रेजी सम्वत अनुसार आज नोभेम्बर महिनाको २५ तारिख । आजको दिनलाई संयुक्त राष्ट्रसंघले महिला हिंसा अन्त्य दिवसका रुपमा मनाउन आह्वान गरे अनुसार विश्वभर विशेष कार्यक्रमको आयोजना गरिन्छ । समाजमा विद्यमान लैङ्गिक विभेद र हिंसाकाविरुद्ध ऐक्यबद्धता जनाउँदै त्यसविरुद्ध सचेतना प्रवाह गर्न मनाउन थालिएको यो दिवसले हिंसा न्यूनीकरणमा सहयोग गरेको विश्वास गरिन्छ । यस वर्ष ‘ओरेन्ज द वल्र्ड :इण्ड भ्वाइलेन्स अगेन्स्ट वोमेन नाउ’ भन्ने नारा तय गरिएको छ । अर्थात् यो नाराले महिला हिंसा अन्त्यका लागि सुन्तला रंगलाई प्रतीक मानेर विश्वलाई सुन्तला रंगमा रंग्याएर अहिले नै महिला हिंसा अन्त्य गरौं भन्ने विम्वको माध्यमबाट संसारभरको समाजमा सचेतना प्रवाह गर्ने उद्देश्य लिएको छ । विश्वका धेरै महिलाहरुले अहिले पनि पुरुषहरुसँग समान तथा सम्मानपूर्वक प्रतिष्पर्धा गर्न पाएका छैनन् । चेतना र भौतिकताको विकास भइकन पनि महिला हुनुका कारणले भोग्नु परेको विभेदको सामना गर्नु परिरहेको छ ।

वैदिक सनातन धर्म, सभ्यताको प्रारम्भ बिन्दु नै हो । पूर्वीय सभ्यता भनिने यस मार्गमा महिला जातिलाई उच्च सम्मान पनि दिइएको छ । सिन्धु नदीको किनारमा विकसित यो सभ्यतामा ‘जहाँ नारीको पूजा हुन्छ, त्यही ठाउँमा देवताहरु बस्छन्’ भनेर महिला जातिलाई शिरमा राखेको छ । अनि पनि नेपाली समाजमै महिला विभिन्न प्रकारका हिंसाबाट प्रताडित छन् । विश्वको अध्ययन अनुसार प्रत्येक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् । प्रत्येक तीन जनामध्ये एकजनाले भोगेको यस्तो हिंसा आफन्तबाट, प्रेमी, जीवनसाथी वा विश्वास पात्रबाट हुने गरेको छ । यस्तो हिंसा कतै मानसिकरुपमा, कतै शारीरिक त कतै यौनजन्य हुने गरेका छन् । त्यस्तै महिला संवेदनामा ठेस पु¥याउनु, एक्लै र एकान्तमा अश्लिल बोली र व्यवहार गर्नु र यसो गर्नुलाई बहादुरी ठान्ने विकृत मानसिकताले ग्रस्त पुरुषको दुव्र्यवहार पनि महिला हिंसाकै उदाहरण हुन् ।

महिला हिंसा अन्त्य दिवस मनाउन शुरु गरेको दुई दशकभन्दा बढी भइसक्यो अनि पनि महिला हिंसा र उनीहरुमा गरिने भेदभावको अन्त्य भएको छैन । हाम्रो जन्म तिनै महिलाको कोखबाट भयो, उनैले खान, बोल्न, हिँड्न र संस्कार सिकाइन् । त्यही जातिलाई प्रकृति मानियो, सृजनाको प्रतिमूर्ति भनियो पनि तर त्यही जातिमाथि कहिले बोक्सीको नाममा, कहिले दाइजोको नाममा, कहिले विधवा र कहिले परम्परादेखि चल्दै आएको संस्कारका नाममा हिंसा हुनु सभ्यतामाथिकै अभिसाप हो । जंगली मानिसलाई दया, माया, प्रेम, हार्दिकता र संवेदनाले घरमान्छे बनाउने महिला जातिले एक्काइसौं शताब्दीमा पुग्दा पनि अपमानित भइरहनुले आधुनिकता र भौतिक विकास निरर्थक भएको छ । महिलामाथि हुने गरेको असमान व्यवहारको अन्त्य नभएसम्म पूर्वीय सभ्यताका जीवित देवी, धार्मिक कार्यका परिपूरक, सृजना, सहिष्णुता, सहअस्तित्वका पर्याय मातृजातिको सम्मान हुन सक्दैन । यसबेला दिनहुँजसो आइरहने सूचना, समाचारहरु, व्यभिचार तथा बालिका माथि हुने गरेको सबै प्रकारका दुव्र्यवहारका घटनाहरु मानव सभ्यताका कलंक हुन् । त्यसैले यी सबै विकृतिहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न हामी सबै सजग होऔं । महिलालाई सशक्तिकरण गर्दै हिंसा सधैँका लागि अन्त्य गर्न यो दिवस सहायक होस्, महिला हिंसा सधैँका लागि अन्त्य होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here