नेपाली कांग्रेसको १४औं महाअधिवेशन: नेतृत्वका लागि झापामा दुई प्यानल मैदानमा

0
1017

झापा ।

नेपाली कांग्रेस झापाको नेतृत्व चयनका लागि छुट्टाछुट्टै दुई वटा समूहले उम्मेदवारी सार्वजनिक गरेका छन् ।

मंसीर १० गते हुने पार्टीको १४औं अधिवेशनमा नेतृत्व चयनका लागि सहमति नजुटेपछि देउकुमार थेवे र राम कट्टेलले छुट्टाछुट्टै प्यानल खडा गरी उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् । १२औ महाधिवेशनमा जिल्लाको उपसभापति रहेका थेवेलाई पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले साथ दिएका छन् भने १३औं महाधिवेशनबाट उपसभापति बनेका कट्टेललाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले साथ दिएका छन् ।

‘देउकुमार थेवे जिताऔं अभियान’ को सचिवालयमा वुधवार बिहान पत्रकार सम्मेलन गर्दै सभापति पदका उम्मेदवार देउकुमार थेवेले आफ्नो टिमको नाम सार्वजनिक गरेका छन् । थेवेको टिममा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डे छन् । त्यस्तै सचिवमा कृष्ण हुमागाँई र नवीन बिमली, सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारी उम्मेदवार रहेका छन् ।

आफ्नो टिम समावेशी र जुझारु भएको बताउँदै थेवेले सभापतिका उम्मेदवार आफू क्षेत्र नं. ४को उपसभापति भट्टराई क्षेत्र नं. ५, उपसभापति पाण्डे क्षेत्र नं. १, सचिव हुमागाँई क्षेत्र नं. २, सचिव बिमली क्षेत्र नं. ३, सहसचिव राजवंशी क्षेत्र नं. ३ र अर्का सहसचिवका उम्मेदवार भण्डारी क्षेत्र नं. ४ बाट रहेको बताए ।

आफ्नो टिमको घोषणा गर्दै जिल्ला सभापतिका उम्मेदवार थेबेले १३औं महाधिवेशनमा भएको भद्र सहमतिका आधारमा अग्रज नेताहरुको समर्थनमा आफू साझा र सहमतिको उम्मेदवार भएको बताए । आगामी दिनमा पार्टीलाई चुस्तदुरुस्त बनाएर लैजान, आफू नेतृत्वको टिमलाई जिताउन थेवेले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि समक्ष आग्रह समेत गरे ।

उम्मेदवार घोषणा कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले झापा कांग्रेसको नेतृत्वमा ‘बाघ’ नै आउनुपर्ने धारणा राखे । उनले भने– ‘झापा जिल्लामा लर्तरो मान्छेले जिल्ला चलाउन सक्दैन, स्यालले जिल्ला चलाउँदैन बाघ नै चाहिन्छ । वाघको गुण पनि हुन्छ अवगुण पनि हुन्छ । अब बाघ किन चाहियो भने केपी ओलीको जिल्लामा भोलि हामी निर्वाचनमा जाँदैछौं, त्यसकारण सशक्त नेतृत्व चाहिन्छ, यो नेतृत्व गर्ने नेता हामीलाई चाहिन्छ र त्यो देउकुमार नै हो ।’

आन्तरिक अधिवेशनमा कसैको पनि हारजीत नहुने भन्दै उनले आगामी आम निर्वाचनमा प्रतिपक्षीसँग भीड्न सांगठनिक एकता आवश्यक रहने बताए । जिल्ला अधिवेशनमा कडा प्रतिष्पर्धा हुने भएकाले आफ्ना प्यानलका उम्मेदवारलाई जिताउन चुनावमा कटिवद्ध भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले राजनीतिमा भद्र सहमति हुने बताउँदै भद्र सहमतिको पालना गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले उम्मेदवारहरुको परिचय गराउँदै देउकुमार थेवेको टिम जुझारु र समावेशी एवम् शिक्षा, पत्रकारिता, राजनीति एवम् सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु रहेको भन्दै टिमलाई नै जिताउन आग्रह गरे । पार्टीका केन्द्रीय सदस्य गोपालकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले बोलेका थिए ।

यता राम कट्टेल समूहका दुई जनाको नाम यस अघि नै सार्वजनिक गरिएपनि बाँकी उम्मेदवारको नाम वुधवार मात्रै सार्वजनिक गरिएको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शम्शेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार रहने छन् ।

त्यस्तै सचिवमा विश्वदीप लिङ्देन लिम्बू र टोम राजवंशीको उम्मेदवारी रहने छ । त्यसैगरी सहसचिव पदमा उमाराम प्रसाई र पदम लिम्बू उम्मेदवार रहने राम कट्टेलको सचिवालयका संयोजक पुष्पराज पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

१४औं महाधिवेशन अन्तर्गत काँग्रेस झापाको नयाँ नेतृत्व चयनका लागि आज विहीवार उम्मेदवारी दर्ता र मंसीर १० गते मतदान हुँदैछ । जिल्ला अधिवेशनमा ३ हजार ३ सय ६९ जना क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गर्ने छन् । जसमा क्षेत्र नम्वर १ बाट ६ सय १७ जना, २ बाट ६ सय ४ जना, क्षेत्र नम्वर ३ बाट ६ सय ६२ जना, क्षेत्र नम्वर ४ बाट ७ सय ६२ जना र क्षेत्र नम्वर ५ बाट ७ सय ४४ जना क्षेत्रीय प्रतिनिधिले जिल्लाको नेतृत्व चयन गर्न मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रदेश अधिवेशनमा १७ सय प्रतिनिधि सहभागी हुने

मंसीर १६ गते हुने प्रदेश अधिवेशनको उद्घाटन सत्रमा १७ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेसको प्रदेश १ को अधिवेशनको उद्घाटनमा १७ सय प्रतिनिधि सहभागी हुने प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाले बताए । १६ गते हुने अधिवेशनको उद्घाटन संयोजक सिटौलाले गर्ने निर्णय समेत भएको छ । अधिवेशन आयोजक प्रचार समितिका संयोजक राजिव कोइरालाले बिराट नर्सिङ होमको पूर्वपट्टि रहेको खाली जमिनमा उद्घाटन गर्दै कार्यसमितिको सम्पूर्ण कार्यक्रम जहदा रोडस्थित सिद्धी पार्टी प्यालेसमा हुने जानकारी दिए ।

अधिवेशनमा उपस्थित १७ सय प्रतिनिधिलाई आवासलगायत सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरङ जिल्ला समितिले गर्ने कोइरालाले बताए । अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक र केन्द्रीय सदस्यहरू अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ संकलन समिति गठन गरिएको छ ।

अधिवेशनको प्रचारका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजिव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लीलाबल्लभ घिमिरे सदस्य सचिव रहेको समिति बनेको वुधवार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनकाबीच जानकारी दिइयो ।

नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नम्बर १का १४ जिल्लाका २८ संघीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र संघीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७ सय जना महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्यहरुका साथै भातृसंस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका मतदाता रहेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । समितिका सदस्यहरु सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभा संसदीय दलका नेता र प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेका छन् । अधिवेशन सम्पन्न गर्न करिव एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here