लिखा देख्छु घरीघरी

११ मंसिर २०७८, शनिबार मा प्रकाशित

चित्रदेव कट्टेल,

मौरी माखो दुबै उस्तै मौरी अमृत खार्दछ ।
बसी अमृतमा माखो बिख नै बिख पार्दछ ।।

हेर्दा मान्छे सबै उस्तै गुण ज्ञान घटी बढी ।
मनमा दानवी भाव हुन्छ पुराण के पढी ।।

सेवा गर्ने गुणी, दानी खोजी खोजी लडाउँछन् ।
वर–पीपल ढालेर जरासम्म डढाउँछन् ।।

तोक्मा पाउने मान्छेले तक्मा पाई सजाउँछ ।
लिने दिने खुरापाती कठै तक्मा लजाउँछ ।।

अन्यायमा छ न्याय नै जाने खोज्न कहाँ–कहाँ ।
भोजन भोकले गल्दा खाने के छ बजारमा ?

भन्नेले फ्याट्ट भन्दिन्छ सुन्नेलाई बिखै हुने ।
खुकुरी चोट बिर्सन्छ अचानो त सधैँ रुने ।।

नेपाली एक हौं हामी के गर्नु नोटको बिटो ।
स्वदेश कै सफा मीठो मकै फापरको पिठो ।।

खुट्टा तान्न कुरा काट्न आफन्त आगो बाल्दछ ।
काठको बिँड लाएर बन्चरो रुख ढाल्दछ ।।

साना ठूला सबै तीर्थ चारै धाम जहाँ तहाँ ।
माता–पिता सरी ठूला देवता पाउनु कहाँ ।।

आफ्ना शरीरको भैंसी थाह छैन कठैबरी ।
अरुका केशका भित्र लिखा देख्छु घरी–घरी ।।

देउमाइ नपा–९ इलाम, हाल बिर्तामोड

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here