पूर्वाञ्चलमा तेरियालाई सु–स्वागतम् !

0
546

purwanchal
‘बसुधाको महान नीधि मानव व्यक्तित्वमा निहीत छ’ भन्ने आस्था बोकेको युवाहरुको विश्वव्यापी संगठन ‘जेसीज अन्तर्राष्ट्रिय’ अन्तर्गत स्थापित नेपाल जेसीजको– नयाँ तर सक्रिय शाखा सुरुंगा जेसीजले नेपाली चेली तेरिया मगरलाई सार्वजनिक सम्मान गर्ने कार्यक्रम राखेर अत्यन्त सकारात्मक काम गरेको छ । पश्चिमाञ्चलको लुम्बिनी अञ्चल, रुपन्देही जिल्ला रुद्रपुर गाविस–६ निवासी ११ वर्षकी प्रतिभाशाली बालिका तेरिया फौजा मगरलाई नेपालको सूर्याेदयको जिल्ला मानिएको झापाको सुरुंगामा सम्मान कार्यक्रम राखेको हो ।
भारतको लोकप्रिय टेलिभिजन च्यानल जीटीभीको रियालिटी सो ‘डान्स इण्डिया डान्स’ मा लिटिल मास्टर्सको उपाधि जित्न सफल नेपाली बालिका तेरिया आज मंगलबार हुने विशेष सम्मान तथा नृत्य प्रस्तुतिका लागि सुरुंगा आइरहेकी छिन् । अहिले नेपाल र भारत दुबैतिर चर्चामा आइरहेकी ‘डान्स सेलिबे्रटी’, उनलाई सुरुंगा झापा मात्र नभएर पूर्वाञ्चलस्तरकै सम्मान समर्पण गरिने आयोजक बताउँछन् । तेरिया नृत्यमा मात्र नभएर पढाई–लेखाईमा पनि अब्बल रहेकी छिन् । कक्षा ६ मा पढ्दै गरेकी तेरिया कक्षामा सधैं पहिलो हुन्छिन् भन्ने तथ्य उनले पढिरहेको विद्यालयले पनि जनाएको छ ।
यस अघि तेरियाले नेशनल ओइल फिल्ड क्याराभान डान्स कम्पिटिसनमा पनि पहिलो भएर एक लाख रुपैयाँको पुरस्कार पाइसकेकी थिइन् भने नेपाल टेलिभिजनबाट प्रशारित राष्ट्रिय डान्स प्रतियोगिता कार्यक्रम खोजी प्रतिभाकोमा शीर्ष १० मा पुग्न सफल भएकी थिइन । आमाले विद्यालयको क्यान्टिनमा जुठा भाँडा माझेर पढाइरहेकी उनलाई हजुरवुवाले नृत्य क्षेत्रमा लाग्न सहयोग मात्र गरेका थिएनन् जीटीभीको प्रतियोगितामा जान उनले नृत्य गरेको सीडी पठाएर महत्वपूर्ण काम गरेको आफैं बताउँछिन् ।
एक सय १० करोड बढी जनसंख्या भएको भारतको प्रसिद्ध टिभी च्यानलले सञ्चालन गरेको प्रतियोगितामा सर्वाेत्तम १६ मध्ये छानिएपछि मात्र उनी नेपाली छोरी हुन् भन्ने थाह पाइएको थियो । हजुरवुुवा र वुवा दुवै सेनाका जागिरे अनि नेपाली नागरिक भएको तथ्य आयोजकलाई थाह भएपनि सार्वजनिक गरेका थिएनन् । जीटीभीले आयोजना गरेको उक्त प्रतियोगितामा तेरियालाई लाखौंको पुरस्कार, एउटा महँगो कार र ट्रफी प्राप्त भएको छ । प्रतियोगितामा नेपाल–भारतका गरी जम्मा चार लाख बढी सहभागी रहेका थिए ।
विदेशी भूमिमा नेपालको शिर उच्च गराउन सफल तेरिया युवा अवस्थासम्म आइपुग्दा त झन कत्ति प्रसिद्धि पाउलिन् ! नेपालबाट विश्वमा नाम कमाउन पर्वतारोही तेञ्जिङ शेर्पालाई भारतीय बनाइयो । प्रतिभाशाली गायक उदित नारायण झा भारतीय सिने जगतमा चम्किदै छन् । मनिषा कोइरालाले भारत प्रवास मै प्रसिद्धिको शिखर चुम्न सफल भइन् । यी त केही उदाहरण मात्र हुन– प्रतिभा पलायनका कुरा लेख्दै जाँदा – संख्या बढेर कहाँ पुग्छ कहाँ । यद्यपि तेरियाले पनि प्रतियोगितामा सहभागी हुन गरेको शर्तपनि पूरा गर्नुपर्छ । उनी तीन वर्षका लागि जीटीभीका लागि अनुवन्धित छिन् । यस अवधिमा उनले मासिक पारिश्रमिकका साथै सुविधाजनक विद्यालय, नृत्यमा अध्ययन लगायत– जीटिभीले बनाएको ‘रुटिन’ मा चल्नुपर्छ । भारतमा अनुवन्ध– सकिएपछि नेपाल भित्रिएर उनले सरकारबाट के कस्तो सहुलियत पाउने हुन् ? भन्ने प्रश्न त छँदैछ । मानव व्यक्तित्वलाई विश्वकै महान नीधि मान्ने आस्थावान जेसीजहरुले उनलाई सर्वप्रथम पूर्वाञ्चलमा सम्मान गरेर उनको कलाकार व्यक्तित्वको सम्मान गरेका छन् । यसका लागि जेसीजलाई साधुवाद ! तेरियालाई पनि पूर्वाञ्चलकै प्रतिनिधित्व गर्दै आयोजित कार्यक्रममा सहभागी हुँदै गर्दा सूर्याेदयको जिल्लामा सु–स्वागतम् ! अझैं उन्नति र प्रगतिको निम्ति हार्दिक शुभकामना !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here