अधिकांश न्यायाधीश इजलासमा : हुन सकेन प्रभावकारी रूपमा सुनुवाइ

१३ मंसिर २०७८, सोमबार मा प्रकाशित

काठमाडौँ,

सर्वोच्च अदालतमा आज अधिकांश न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरणसहित सबै खाले मुद्दामा सुनुवाइ गरे पनि अझै प्रभावकारी ढङ्गलेको मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको थियो । उहाँले आठवटा इजलासमा सातवटा संयुक्त र एउटा एकल इजलास पेसी तोक्नुभएको थियो । तीमध्ये पाँचवटा संयुक्त इजलासमा एकदमै न्यून मात्र मुद्दामा सुनुवाइ भएको छ भने दुई संयुक्त र एकल इजलासमा सुनुवाइ प्रारम्भ नै गरिएको छैन ।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गर्नुभएको थियो । अहिले मुद्दाको प्रभावकारी सुनुवाइ हुन नसक्दा न्यायका उपभोक्ता मारमा परेका छन् ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशहरुको यही मङ्सिर २ गते बिहीबारको पूर्ण बैठक (फूलकोर्ट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णय सोमबार राजपत्रमा प्रकाशित भइसकेको छ । अदालतको पूर्ण बैठकले यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोक्ने निर्णय गरिसकेको छ ।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो । पछिल्लो समयमा केही अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । अदालतमा मुद्दाको चापअनुसार नियमतिरूपमा बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here