तलेजु भवानीलाई भित्र्याइयो हनुमानढोका

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

काठमाडौँ, 

गुह्येश्वरी जात्राका लागि निकालिएको तलेजु भवानीको मूर्तिलाई दुईदिने जात्रा समापन गरेसँग हुनमानढोका दरबार क्षेत्रको मूल मन्दिरमा भित्र्याइएको छ ।

दुईदिने जात्राका लागि भवानीको मूर्ति आइतबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिएको थियो । आइतबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ति पूजा गरिएको थियो । सोमबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको थियोे । जात्रा सकी सोमबार राति मूर्ति तलेजु मन्दिरमा राखिएको पुजारी उद्धव कर्माचार्यले जानकारी दिनुभयो ।

गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चिजबिज चढाएर पूजा आराधना गरिन्छ ।

गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पूजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पूजिने पुजारी जैन कर्माचार्यले बताउनुभयो । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।

गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो ठड्याइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले बताउनुभयो । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । गत वर्ष कोरोना महामारीका कारण यो जात्राको विधिमात्र पूरा गरिएकामा यस वर्ष भव्यरूपमा जात्रा मनाइएको छ । तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि पशुपति सिर्जनशील युवा क्लबलाई जिम्मा दिइएको थियो । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।

पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ । जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ । नेपाली सेना, संस्थान, अमालकोट कचहरीलगायतले विधिपूर्वक छुट्टाछुट्टै पूजा गर्छन् । नवाली टोलमा निजी गुठीका गुठियारले पनि पूजा गर्ने अवसर पाउँछन् । नवालीटोलको पूजापछि रथलाई सिफल–ज्ञानेश्वर–कमलपोखरीमा पनि विशेष पूजा आराधना गरिन्छ ।

कमलपोखरीको विशेष पूजापछि कृष्ण पाउरोटी–तीनधारा पाठशाला–जमल–असन हुँदै सोमबार बेलुकी तलेजु भवानीको मन्दिरमा मूर्तिलाई लगिएको संस्थानले जनाएको छ । आइतबार यही मार्गबाट मूर्तिलाई गुह्येश्वरी मन्दिर लगिएको हो । यो जात्राका क्रममा धिमे बाजा, नायखी, बाँसुरी वादन गरिन्छ । जात्रामा नियमित भजनकीर्तन गर्ने समूहका सदस्य पनि सहभागी हुने गर्छन् । जात्रा सकिएसँगै सोमबार बेलुकी छ बजे गुह्येश्वरीमा ठड्याइएको लिङ्गो ढालिएको थियो ।

जयप्रकाश मल्लको पालादेखि सुरु भएको यो जात्रा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमी र दशमीमा हनुमानढोका दरबारबाट पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरसम्म गरिन्छ । पशुपति क्षेत्रमा सञ्चालन हुने दर्जनौँ जात्रामध्ये एक गुह्येश्वरी जात्रा एक हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here