सहयात्रा कायम होस्

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

झापा कांग्रेसले नेतृत्व हस्तान्तरण गरेको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा आयोजित जिल्ला अधिवेशनले देउकुमार थेवेको नेतृत्वमा समिति गठन गर्दै नयाँ नेतृत्व स्थापित गरेको हो । अधिवेशनका क्रममा भएको निर्वाचन प्रक्रिया संसदीय निर्वाचनकै झल्को दिने गरी सबैलाई चासोको विषय बनेको देखियो । हुन पनि निर्वाचनलाई प्रजातन्त्रको सौन्दर्य नै भनिन्छ, त्यसैले कांग्रेसको निर्वाचनले सबैको ध्यान तानेको हुनसक्छ । स्वस्थ प्रतिष्पर्धा र आन्तरिक तथा गोप्य मतदानले मात्रै जनअपेक्षा र आकांक्षा पूरा गर्न सक्छ । निरंकुशता, एकाकी निर्णय र बाध्यकारी जनमत प्रजातन्त्रको शत्रु नै हो । त्यसउसले पनि नेपाली कांग्रेस जस्तो सबैभन्दा जेठो र गौरवशाली पार्टीले प्रजातान्त्रिक संस्कार, मूल्य र मान्यताको प्रतिनिधित्व गर्नुपर्छ । झापा कांग्रेसले त्यही विशेषतालाई अङ्गिकार गर्दै वडादेखि जिल्ला तहसम्मको समिति गठन ग¥यो त्यो पनि प्रजातान्त्रिक संस्कार अनुरुप ।

संविधानले नै विधिको शासनलाई आत्मसात गरेको छ । विधि दलको हुन्छ र विधि देशको शासन सञ्चालन गर्नका लागि पनि निर्माण गरिएको हुन्छ । त्यही विधिलाई टेकेर भएको नेतृत्व छनौट प्रक्रियामा सामेल सभापतिका अर्का प्रत्याशी राम कट्टेलले सम्मानजनक उपस्थिति देखाए । अति भद्र, शान्त र सौम्य व्यक्तित्वको परिचय बनाएका कट्टेलले मतगणना समाप्त हुँदा आफ्ना प्रतिष्पर्धी तथा विजेता थेवेलाई बधाई ज्ञापन गरेर प्रजातान्त्रिक संस्कारको उदाहरण प्रस्तुत गरे । निर्वाचनका क्रममा एक–अर्कालाई ‘बैरी’ ठान्नु र परिणामपछि जनमतलाई स्वीकार गर्दै हार्दिकता प्रकट गर्नु प्रजातन्त्रको सुन्दर पक्ष हो, जुन झापाको कांग्रेस निर्वाचनमा प्रकट भएको छ । जतिसुकै प्रतिष्पर्धा र विरोधाभास अभिव्यक्ति र उपस्थिति देखिए पनि अबको यात्रा सहमति सहकार्य र सहयात्राको हुनुपर्छ जसको संकेत पनि देखिएको छ ।

प्रजातान्त्रिक पार्टीले प्रजातन्त्रको मर्म अनुसार व्यवहार गर्नुपर्दछ । संविधानले मात्र बोलेर अथवा नेताको मुखमा झुण्ड्याएर कुनै पनि दल प्रजातान्त्रिक हुन सक्दैन । निरंकुशताको अन्त्य भएको सात दशक नाघिसकेको छ । त्यसैले सहमतिका नाममा हुकुमी शासन अबको चेतनाको बाधक हो । सायद त्यही कारण यतिखेर जुनसुकै संघ–संस्थाहरुमा तीव्र प्रतिष्पर्धा हुने गरेको छ नेतृत्वका लागि । जहाँ प्रतिष्पर्धा हुन्छ त्यहाँ विचार, सिद्धान्त र निष्ठा पनि प्रकट हुन्छ । त्यसकै आधारमा अब्बल देखिने र निर्वाचित हुने परिपाटी नै प्रजातन्त्र हो र त्यसको विशिष्टता कतै पनि कुण्ठित हुनुहुँदैन । पार्टी भनेकै समाज र देशको सेवा गर्ने उद्देश्यले स्थापित संगठन भन्ने बुझिने भएकाले सबै संघ–संस्था र दलका नेता र नेतृत्व त्यही आदर्श र निष्ठा अनुरुप निर्वाचित हुनुपर्छ । यसका लागि सम्बद्ध मतदाताहरु पनि सचेत र जागरुक हुन जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here