सिक्किम साहित्य उत्सव ‘नेपाली भाषालाई विश्वमा चिनाउनुपर्छ’

१४ मंसिर २०७८, मंगलवार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

नेपाली भाषीको बाहुल्य रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर सिक्किम राज्यको मनन भवनमा दर्शक खचाखच थिए । भवनमा दर्शकको ताली, संगीतसँगै कविता कन्सर्ट गर्दै थिए– नेपालका चर्चित युवाकवि नवराज पराजुली ।

झापाका युवा कवि पराजुलीको कविता वाचनशैलीको प्रशंसक धेरै छन् । यही वाचनशैली सिक्किमका दर्शकले पनि औधी मन पराए । पहिलोपटक सिक्किम पुगेका नवराजलाई दर्शकश्रोताको तालीको वर्षा भयो । कवि पराजुलीका कवितासँगै झुम्यो सिक्किम । कवि पराजुलीले एक घण्टाभन्दा धेरै आफ्नो प्रस्तुति दिए । प्रस्तुतिको समयमा सिक्किमका दर्शक मात्र नभई मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस् गोले) सहित मन्त्री, सांसदहरू पनि मन्त्रमुग्ध भए ।

यो दृश्य शुक्रबार सिक्किम राजधानी गान्तोकस्थित मनन भवनमा आयोजित सिक्किम साहित्य उत्सव २०२१ को हो । आयोजक थियो– सिक्किमको हाम्रो वार्ता टेलिभिजन । यो कार्यक्रम टेलिभिजनले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको थियो ।

कविता वाचन गर्नु अघि युवा कवि पराजुलीले भने– ‘सिक्किम पहिलोपटक आएको हुँ, स्वच्छ, सफा र सुन्दर सिक्किम प्रवेश गर्दा सडकमा आफ्नो ठूल्ठूला पोस्टर देख्दा यहाँका जनताप्रति आभारी भएको छु ।’ ‘मलाई यहाँका जनताले हिरो नै बनाए, यो क्षण जीवनभर कहिल्यै भुल्ने छुइनँ’– उनले भने । त्यति भन्दै उनले सुरु गरे सङ्गीतमय कविता वाचन । जेल जीवन बसेका बेला मुख्यमन्त्री पिएस् गोलेले लेखेको एउटा कविता वाचन गर्दै उनले कार्यक्रम शुरु गरेका थिए ।

कार्यक्रम मुख्यमन्त्री गोलेले लगायतका अतिथिहरूले कवि पराजुलीले लेखेको पुस्तकको सिक्किममा लोकार्पण गरे । त्यसपछि उनले ‘ऊ’ भन्ने शीर्षकको ‘जो मान्छे तिमी बाहेक अन्त सुरक्षित छैन’, मोक्ष भन्ने शीर्षकको म बटुवा होइन बाटो हुँ, हेप्पी बर्थडे शीर्षकको हेप्पी बर्थडे मेरो छोरा, एक्लै भन्ने शीर्षकको म एक्लै एक्लो छैन, म जस्तै एक्लो अर्कैछ लगायतका सङ्गीतमय कविता वाचन गरी दर्शकलाई भावुक नै बनाए ।

नेपाली युवा कवि पराजुली जस्तै साहित्य उत्सवमा दार्जीलिङकी कवि पवित्र लामा, कालिम्पोङका कवि मनोज बोगटी र सिक्किमका प्रवीण राई (जुमेली)ले कविता वाचन गर्दा पनि दर्शकश्रोताको ताली बर्साएका थिए । कार्यक्रममा विद्यार्थीहरूले मारुनी, भोटिया, लेप्चा नृत्य समेत प्रस्तुत गरेका थिए, भने दुवै हात नभएका विक्रम भट्टराईले खुट्टाले चित्रकला प्रदर्शन गरेका थिए । साथै साहित्य उत्सवको अवसरमा आयोजक समितिले कवि राजेन्द्र भण्डारी, चेतनराज श्रेष्ठ, गुप्त प्रधान, केएन शर्मा, वाणीश्री खरेल, शशि शेर्पा र रचना बुक्स एण्ड पब्लिकेशनलाई अभिनन्दन गरेको थियो । उनीहरूलाई मुख्यमन्त्री गोलेले अभिनन्दन गरेका हुन् । कार्यक्रमलाई भव्य र सफल बनाउने मुख्य सहयोगी भूमिका निर्वाह गरेका मुख्यमन्त्री गोलेलाई आयोजक समितिले समेत अभिनन्दन गरेको थियो । आयोजक समितिका उपाध्यक्ष भीम रावतले स्वागत गरेको कार्यक्रममा समितिका महासचिव दिवस राईले धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाली भाषालाई विश्वमा चिनाउनु पर्छ : मुख्यमन्त्री गोले

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (पिएस् गोले)ले भारतको सिक्किम, दार्जीलिङ, कालिम्पोङ र छिमेकी राष्ट्र नेपालमा मात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई विश्वमा चिनाउनुपर्ने बताएका छन् ।

आफ्नो जाति र भाषा कुनै पनि ठाउँमा छैन भने त्यसको छुट्टै महत्व हुने बताउँदै मुख्यमन्त्री गोलेले भने– तपाईँ विदेशमा जानुहोस्, त्यहाँ आफ्नो जाति, भाषा, संस्कृतिको महत्व थाह हुन्छ, विदेशमा कुनै नेपाली भाषी भेट्नुहुन्छ भने तपाई कति खुशी महशुस गर्नुहुन्छ त्यति बेला ।’ ‘त्यसैले नेपाली भाषा, साहित्य र कलालाई विश्वभर फैलाउन हामी सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ’– उनले भने । ‘हामीले कुनै आवेदन पत्र लेख्नु प¥यो भने अङ्ग्रेजी भाषामा लेख्छौँ, नेपाली भाषामा लेख्दैनौँ, हामीले नै नेपाली भाषालाई अपहेलना गर्छौ’– उनले भने– ‘आफ्नो भाषालाई आफैले बलियो बनाउनुपर्छ, हामी त्यसतर्फ लाग्नुपर्नेछ ।’

भारतको संविधानको आठौँ अनुसूचीभित्र नेपाली भाषाले मान्यता पाएको बताउँदै उनले भने– अब भारतमा पनि नेपाली भाषाको छुट्टै पहिचान र महत्व छ, देशको संसद्मा पनि सिक्किम र दार्जीलिङका लोकसभा सांसदले नेपाली भाषामा बोल्न पाइरहेका छन् । ‘भारतको संविधानमा नेपाली भाषाले मान्यता पाए पनि सिक्किममा यसले महत्व पाएको थिएन, त्यसैले हरेक वर्ष २० अगस्टलाई सिक्किममा नेपाली भाषा दिवस मनाउने घोषणा गरेका छौँ’– उनले भने ।

हरेक वर्ष साहित्य महोत्सव मनाउने सिक्किम सरकारको घोषणा

सिक्किमका मुख्यमन्त्री पिएस् गोलेले पूर्वज साहित्यकार र कविहरूको नाममा अपतन फेलोसिप कार्यक्रमको घोषणा गरेका छन् । सिक्किम साहित्य उत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किममा भाषा र साहित्यमा पिएचडी गर्नेलाई लाग्ने सबै खर्च राज्य सरकारले व्यहोर्ने घोषणा समेत गरे ।

सिक्किमका सबै भाषाको विकासको निम्ति राज्य सरकारले काम गर्ने बताउँदै उनले भने– ‘भोटिया, लेप्चा र लिम्बू भाषालाई संविधानको आठौँ अनुसूचीमा राख्न र ती भाषालाई राज्यस्तरबाट पुरस्कार दिने व्यवस्था गर्ने छौँ ।’ सिक्किमले पर्यटन, खेलकुद, चलचित्र, कृषि लगायतको महोत्सव मनाउँदै आएको छ ।

अब सन् २०२२देखि हरेक वर्ष राज्य सरकारले नै हरेक साहित्य महोत्सव मनाउने मुख्यमन्त्रीले घोषणा गरे । साहित्य महोत्सवमा नेपाली, लेप्चा, भोटिया, राई, लिम्बू, हिन्दी, मगर, तामाङ, नेवार लगायतको भाषाको संरक्षण नै यसको उद्देश्य रहने उनको भनाइ छ । सिक्किमका लेखक, कवि, बुद्धिजीवीहरूले लेखेको पुस्तक रकम अभावले छाप्न नसकेमा राज्य सरकारले ती पुस्तकहरू छापिदिने व्यवस्था मुख्यमन्त्री कोषबाट मिलाउने उनले बताए । साथै जसले पनि सिक्किमभित्र आफ्नो चलचित्र बनाउँछ, ७० प्रतिशत छायाङ्कन र स्थानीय कलाकार चलचित्रमा समावेश गर्छ, ती चलचित्र बनाउनेलाई ३० लाखदेखि १ करोडसम्म राज्य सरकारले सहयोग गर्ने उनले बताए ।

नेपाली भाषा र साहित्यको संरक्षण आवश्यक

नेपाली भाषा, साहित्य, कला, संस्कृति संरक्षण आजको आवश्यकता रहेकोमा सिक्किम साहित्य उत्सवमा सहभागी वक्ताहरूले जोड दिएका छन् । भाषा, साहित्य, कला, संस्कृति नयाँ युवापुस्तामा हराउँदै गएकोले यसको संरक्षणका निम्ति हामी सबै एक जुट हुनुपर्ने उनीहरूको भनाइ छ । सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले भाषा र साहित्यलाई विश्वमा कसरी चिनाएको छौ, त्यसप्रति हामी सबै सजग हुनुपर्ने बेला आएको बताए ।

नेपाली भाषा, साहित्य, कला, संस्कृति बिस्तारै बिस्तारै लोप हुँदै गइरहेको बताउँदै उनले भने– ‘अहिलेको युवापुस्तामा त्यो क्रेज देखिँदैन, समाजको विकासको निम्ति भाषा र साहित्यप्रति सबैले ध्यान दिनुपर्ने समय आएको छ ।’

त्यस्तै सिक्किम विश्वविद्यालयका सह प्राध्यापक डा. देवेन्द्र सुब्बाले नेपाली भाषाको संरक्षण नै अहिलेको मुख्य चुनौति रहेको आंैल्याएका छन् । पहिलाका राजा शासनदेखि नै नेपाली भाषामै पत्र र निवेदन लेख्ने चलन रहेको बताउँदै सहप्राध्यापक डा. सुब्बाले भने– ‘अहिलेका विद्यार्थीले अंग्रेजी भाषामा पत्र र निवेदन लेख्दा नेपाली भाषा सङ्कटमा पर्ने थालेको छ ।’ ‘प्रयोगकर्ताले नै नेपाली भाषाको प्रयोग गर्दैनन् भने यसको संरक्षण कसरी हुन्छ ?’– उनले भने– ‘त्यसैले आफ्नो भाषाको प्रयोग आफैबाट शुरुवात गर्नुपर्ने हुन्छ, अनि मात्र नेपाली भाषाको संरक्षण हुन्छ ।’

साहित्य उत्सव आयोजक समितिका संरक्षक जेकब खालिङले सिक्किममा साहित्यिक रुखोपन छाएको बताए । मुख्यमन्त्रीको सहकार्यमा साहित्य उत्सव आयोजना गरी साहित्यिक बाँझोपन हटाउने काम भएको उनको भनाइ थियो । ‘यस उत्सवले सबैमा उत्साह र जोस् बढेको छ’– उनले भने– ‘आउने पिँढीले पनि भाषा र साहित्यप्रति चासो देखाउनुपर्छ ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here